Logo
|
Saturday 20th April 2024
Logo

epaper

सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा



रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

स्वास्थ्य संस्थामा आएर सुरक्षितरुपमा सुत्केरी गराउने उद्देश्यले घरबाट आउन र फर्कनका लागि गर्भवती महिला निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो ।

त्यसका लागि नगरपालिका आफैँले दुई वटा एम्बुलेन्स खरिदको प्रक्रिया अगाडि बढाएको छ, उहाँले भन्नुभयो– “यातायात सेवाको अभावमा धेरै महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन सकेको छैन् ।” सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन नसक्दा महिलामा विभिन्नखालका स्वास्थ्य समस्या देखिएकाले सुरक्षित मातृत्व सेवाका लागि निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख केसीले बताउनुभयो ।

उहाँले यसअघि नगरपालिकाले विशेषज्ञ चिकित्सकको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा अधिकांश महिलामा तल्लोपेट दुख्ने र पाठेघर खसेको समस्या देखिएकाले उनीहरुको स्वास्थ्यमा सुधार ल्याउनका लागि पनि एम्बुलेन्सको आवश्यकता रहेको बताउनुभयो ।

यसका साथै नगरपालिकाले सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थामा खोप लगाउन आउँदा तरकारीको बीउ उपहार दिने कार्यक्रम शुरु गरेको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन र नगरपालिकालाई पूर्ण खोपयुक्त नगर बनाउनका लागि यस्तो अवधारणा ल्याइएको नगर प्रमुख केसीको भनाई छ ।

चौध ठाउँमा नयाँ नगर स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन शुरु गरेको नगरपालिकाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने आमालाई रु दुई हजार बराबरको पोषिलो चामल, तेल, जिरा, मसला र तरकारीको बीउ उपहार दिने कार्यक्रम शुरु गरेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्