Logo
|
Thursday 18th April 2024
Logo

epaper

१० लाख तिर्न नसक्दा अस्पतालमै



चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया सरिता राई टोलाइरहेकी थिइन् । आँखामा आँसु थियो । साथमा रहेका घाइते छोरा जयविक निद्रामा थिए ।

चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डमा विस्फोटकी घाइते सरिता राई र उनको छोरो ।

ब्युँझिएपछि उनले प्रश्न गरे, ‘आमा, हामी कतिन्जेल अस्पताल बस्ने ?’ सरितासँग यसको जवाफ थिएन । छोराको उपचारमा लागेको १० लाख रुपैयाँभन्दा बढी खर्च चुक्ता गर्न नसक्दा उनीहरू ‘डिस्चार्ज’ भएर घर फर्कन सकेका छैनन् ।

पूर्वस्वास्थ्यमन्त्री डा वंशीधर मिश्रसँग सहयोग माग्दा, उनले उल्टै गाली गरे । पार्टीमा कोरको हिँड्छ, मलाई के थाहा ? उनले फोनमा भने ।गत मंसिर २ गते दिउँसो चुनावी सभामा भाग लिने क्रममा बम विस्फोटबाट आमाछोरा दुवै गम्भीर घाइते भएका थिए । दुई महिना लामो उपचारपछि स्वास्थ्य अवस्था त ठीक भयो तर उनीहरू दुवै अवलाङ्ग भए ।

प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा चन्द्रपुरको कृष्णमन्दिर छेउमा सभामा भाग लिन सरिता घरबाट छोरा लिएर आएकी थिइन् । सभा सकिएर फर्कने क्रममा नजिकै बाटोमुनि राखिएको बम विस्फोट हुँदा उनीहरूसहित १२ जना घाइते भएका थिए । सरिताको देब्रे खुट्टा गुम्यो, छोराको पहिलेदेखि देब्रे हात थिएन, अहिले दुवै खुट्टामा गहिरो चोट छ । बमको छर्रा लागेकाले सरिता देब्रे आँखासमेत राम्ररी देख्दिनन् ।

मजदुरी गरेर जीविका चलाउँदै आएको राई परिवारको दुई महिनादेखि अस्पतालमा बास छ । ‘छोराले कतिन्जेल अस्पताल बस्ने भनेर सोधिरहन्छ,’ सरिताले भनिन्, ‘डिस्चार्ज गर्न खोज्यो अस्पतालले पैसा हिसाब गर्ने मान्छे खै भन्छ । यत्रो १० लाख कहाँबाट तिर्नु ?  ’ सरिताले रौतहटका पूर्वसांसद रामकुमार भट्टराईसित पैसा तिरेर घर जाने वातावरण मिलाइदिन अनुरोध गरेको बताइन् । ‘उहाँले डिस्चार्ज गराइदिन्छु भनेकाले कुरेर बसेका छौं,’ उनले सुनाइन् ।

उनले सहयोगका लागि एमाले नेता एवं पूर्वस्वास्थ्यमन्त्री डा। वंशीधर मिश्रलाई फोन गरिन् । ‘उल्टै गाली गरे । पार्टीमा कोरको हिँड्छ, मलाई के थाहा भने,’ यति सुनाउँदा उनका आँखा आँसुले भरिए ।अस्पतालको बिल भुक्तान गरेर राई परिवार जतिसक्दो छिटो घर फर्कन चाहन्छ । घरमा रहेको दुई वर्षको छोराको रेखदेखमा कठिनाइ भएको छ ।

बुधबारसम्म अस्पताललाई ५ लाख ४२ हजार ९०, फार्मेसीलाई ४ लाख ७९ हजार २ सय ६५ र क्यान्टिनको ४९ हजार ६ सय ४६ रुपैयाँ राई परिवारले भुक्तानी गर्नुपर्ने देखिएको छ । पूर्वसांसद भट्टराईले गृह मन्त्रालयमा राई परिवारको उपचारका सबै कागजात पठाइसकेकाले चाँडै डिस्चार्ज हुने बताए । ‘अहिले बच्चाको घाउ अलि निको भइसकेको छैन,’ उनले भने, ‘उपचारमा लागेको खर्च तिर्न कतैबाट एक रुपैयाँ सहयोग नआएकाले समस्या भएको हो ।’

उपचार क्रममा केही दिनअघि फार्मेसीले औषधि रोकेपछि बिरामीको उपचार प्रभावित भएको थियो । चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले अस्पताल फार्मेसीलाई औषधि नरोक्न अनुरोध गरेपछि सहज भएको थियो । ‘छोराका लागि ल्याइएको एन्टिबायोटिक आमालाई दिएर काम चलायौं,’ अर्थोपेडिक वार्डकी स्टाफ नर्स प्रदिना लम्सालले भनिन्, ‘औषधि निरन्तर आउन थालेपछि उपचार रोकिएन ।’

सरिताको एक साताअघि नै डिस्चार्ज भए पनि अस्पतालको भुक्तानीले छोराको डिस्चार्ज रोकिएको हो । पैसाको हिसाबकिताब गर्ने मानिस नभएकाले रोकिएको अर्थोपेििडक वार्डका कर्मचारीको भनाइ छ ।

सरिताका श्रीमान् कृष्णबहादुर र जेठा छोरा जीवन २ महिनादेखि अस्पतालमा सँगै छन् । राई परिवारसित सम्पत्तिका नाममा ५ धुर घडेरी मात्र छ । त्यो पनि २ धुर नगरपालिकाको मापदण्डअनुसारको बाटोमा परेको छ । जग्गाजमिन नभएकाले मजदुरीको विकल्प छैन । तीन छोरामध्ये घाइते भएका जय माइला हुन् । जेठो गाउँकै स्कुलमा पढ्छन् । कान्छो २ वर्षका छन् । नाबालक छोरा र घरको रखबारी ६५ वर्षीय ससुरा चैते राईले गरिरहेका छन् ।

‘अस्पतालका चिकित्सकले घर जानुस् भन्छ । डिस्चार्ज गरिदेऊ न भन्यो, पैसाको हिसाब गर भन्छ । हामी त बन्धकमा परेजस्तै भयौं,’ सरिताका श्रीमान् कृष्णले भने, ‘नेताजीले अझै ५ दिन बस्नु भनेका छन् ।’ पार्टीको काममा हिँड्दा यस्तो सास्ती भोग्नुपरेको राई परिवारको पछुतो छ । अस्पतालका मानव संसाधन विभागका अरुण कोइरालाले विस्फोटमा घाइतेको उपचारमा लागेको रकम राज्यले तिर्ने भएकाले आमाछोराको डिस्चार्ज गर्न कुनै समस्या नरहेको दाबी गरे ।

‘सरकारले पैसा तिर्ने हो,’ उनले भने, ‘घर जाने इच्छा देखाए जतिखेर पनि पठाउन सकिन्छ ।’ -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्