Logo
|
Friday 19th April 2024
Logo

epaper

डा केसी शीतलहरप्रभावित क्षेत्रमा



स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निस्शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।

शिविरको पहिलो दिन बिहीबार ३५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । डा केसी आएको सूचना पाएपछि समनपुरका योगी साह सोनार पक्षाघातले थलिएकी ४५ वर्षीया पत्नी उर्मिलादेवी साहलाई ह्वीलचेयरमा लिएर आएका थिए । केसीले करिब १५ मिनेट समय लगाएर उर्मिलाको स्वास्थ्य परीक्षण गरेका थिए । जाडोले काम्दै गरेकी उर्मिलालाई उनले एक थान कम्बल पनि दिएका थिए ।

यस्तै, समनपुरकै ७० वर्षीया मौलादेवी साहलाई पनि केसीले शिविरमै स्वास्थ्य परीक्षण गरेर कम्बल उपलब्ध गराएका थिए । चिकित्सक अभिषेकराज सिंहका अनुसार शिविरमा आएका अधिकांश बिरामीमा उच्च रक्तचाप देखिएको छ । उनले भने, ‘अशिक्षा र गरिबीका कारण अधिकांश बिरामी उपचार नगराई घरमै बस्ने गरेको पाइएको छ ।’ केसीको टोलीलाई प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका प्रमुख तेजनारायण यादवसहितका स्वास्थ्यकर्मीले सघाएका थिए ।

केसीले घरघरमा पुगेर वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए । उनले गढीमाईको हरैया, टोकार, समनपुर, लक्ष्मीपुर र सुन्दरपुरका १ सय वृद्धवृद्धा एवं बालबालिकालाई न्यानो कपडा ज्याकेट, टोपी, कम्बल वितरण गरेका थिए ।
कम्बल पाएपछि गढीमाई १ टोकारकी ९० वर्षीया पतियादेवी रामले भनिन्, ‘अब तातोमा सुत्न पाइने भयो ।’ उनले जाडोमा पहिलोपटक कम्बल पाएकी थिइन् । पतियादेवीले अहिलेसम्म वृद्धभत्ता नपाएको गुनासो पनि गरेकी थिइन् । शरीरमा कपडा नभएका विपन्नलाई केसीले आफैं कपडा, कम्बल उपलब्ध गराएका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्