Logo
|
Thursday 28th March 2024
Logo

epaper

आज विश्व क्यान्सर दिवस २०१८: ‘हामी सक्छौ, म सक्छु’



हामी सक्छौ, म सक्छु भन्ने नारा सहित विश्व क्यान्सर दिवस आज विभिन्न सचेतना मूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक बर्ष फेब्रुअरी ४ मा यो दिवस क्यान्सरको रोकथाम र नियन्त्रणसम्वन्धी सचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०१६ देखि २०१८ सम्मका लागि हामी सक्छौ, म सक्छु भन्ने नारा तय गरेको छ ।
विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क छ ।
प्रत्येक ६ मध्ये १ जनाको मृत्यु क्यान्सरबाट हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिवर्ष विश्वमा ८२ लाख बढीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ३० देखि ६९ बर्ष उमेर समूहका बढी रहेका छन् ।
विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो र विकासशिल देशमा तेश्रो स्थानमा आउँछ ।
विकासशिल देशमा करीब ७० प्रतिशतको मत्यु क्यान्सरका कारण हुने गरेको तथ्याङ्क छ ।
नेपालमा क्यान्सर रोगका कारण वार्षिक १५ हजारको मृत्यु भइरहेको र ४० हजार नयाँ बिरामी थपिने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । नेपालमा हाल करिव १ लाख बढी क्यान्सर रोगी रहेको अनुमान गरिन्छ ।
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका अनुसार नेपालमा हुने क्यान्सरमध्ये फोक्सोको १३ प्रतिशत, पाठेघरको मुखको १० प्रतिशत, स्तन क्यान्सर ७ प्रतिशत, आमाशयको ६ प्रतिशत रहेको छ ।
महिलामा हुने क्यान्सरमध्ये १८ प्रतिशतमा पाठेघर, १५ प्रतिशतमा स्तन र १० प्रतिशतमा फोक्सोको क्यान्सर हुने गरेको छ ।
नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्सकहरु बताउँछन् ।
अन्तिम अवस्थामा क्यान्सर पहिचान भएपनि उपचार सम्भव नहुने कारण ६ महिनादेखि १ बर्षमै मृत्यु हुने गरेको पाइएको छ । समयमै रोग पहिचान भए महत्वपूर्ण अनुपातमा क्यान्सर निदान गर्न सकिने चिकित्सकहरुको भनाइ छ ।
तर जनचेतनाको अभाव त कहिलेकाँही उचित चिकित्सकीय परामर्श अभावका कारण क्यान्सरबाट हुने मृत्युदर बढ्दो छ ।
लामो समयसम्म घाउ निको नहुनु, अस्भाविक रुपमा तौल घट्नु, शरीरमा गिर्खाहरु देखा पर्नु्, दिसापिसावमा रगत देखा पर्नु, स्तनमा गाँठागुँठी देखिनु, कोठीहरु अस्भाविक रुपमा बढ्नु, लामो समयसम्म खोकी लाग्नु, छालाको रंग परिवर्तन हुँदै जानु, ज्वरो आइरहनु लगायतका लक्षणहरु क्यान्सर हुने वा भएका संकेत हुन् ।
क्यान्सर रोगको कारण क्यान्सर रोगको कारण यहि हो भन्न नसकेपनि अस्वस्थकर खानपिन, रहनसहन तथा वातारणीय प्रभाव प्रमुख मानिन्छ ।
करिब १० प्रतिशत क्यान्सर उमेर, लिङ्ग, बंशानुगत कारण लगायत छन् । सुर्ति वा सुर्तिबाट बनेका पदार्थहरू जस्तै चुरोट, बिँडी, तमाखु, खैनी, सुर्तिको सेवनले मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौलालगायत शरीरका अन्य अङ्गको क्यान्सर हुन्छ ।
मादकपदार्थको सेवनले मुख, अन्ननली, पेट, आन्द्रा, स्तन, कलेजोका साथै अन्य अङ्गको क्यान्सर हुनसक्छ । अस्वस्थकर खानपिनले करिब ३५ प्रतिशत क्यान्सर हुने सम्भावना रहन्छ । यस्तै विकिरण अत्यधिक सौर्य विकिरणका साथै एक्स–रे, सिटिस्क्यानजस्ता उपकरणबाट निस्कने विकिरणको प्रभावले रगतका साथै अन्य अङ्गको क्यान्सर हुनसक्ने चिकित्सकहरु बताउँछन् ।
जीवनशैली र खानपानमा सुधार गरेमा ६० प्रतिशत र धुमपान–मध्यपान त्यागे मात्र पनि ३० प्रतिशतसम्म क्यान्सरबाट बच्न सकिने चिकित्सकहरुको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार करिव एक तिहाइ क्यान्सर लाग्नबाटै बचाउन सकिन्छ । प्रदुषणरहित वातावरण, विषाधी तथा रासायनमुक्त खानेकुराको प्रयोग, नियमित व्यायाम, नियन्त्रित शारीरिक तौल, कम चिल्लो र स्वस्थ्यकर खानपिनको सेवन गर्नु क्यान्सरबाट बच्ने पहिलो कदम हो । यसका साथै नियमित स्वास्थ्य परीक्षण गर्नु अर्को महत्वपूर्ण पाटो हो ।

प्रतिक्रिया दिनुहोस्