Logo
|
Friday 19th April 2024
Logo

epaper

वन्यजन्तुको स्वास्थ्यसम्बन्धी नौबुँदे सौराहा घोषणापत्र जारी



बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा यही माघ २२ गतेदेखि अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला शुरु भएको थियो ।

विभिन्न १३ देशका विज्ञ सहभागी कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन रणनीति र त्यसको कार्यान्वयनका लागि संयन्त्र तयार पार्न सम्बन्धित निकायमा पहल गर्ने निष्कर्षसहित नौबुँदे सौराहा घोषणापत्र जारी गरेको छ ।

कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी जनशक्ति तयार पार्न पहल गर्ने, बिरामी वन्यजन्तुको हेरचाह, रोगको पहिचान र निदानका लागि चितवन निकुञ्जमा सुविधायुक्त वन्यजन्तु अस्पताल बनाउने, युवापुस्तालाई वन्यजन्तुको संरक्षण र स्वास्थ्यको व्यवस्थापनमा आकर्षित गराउन पहल गर्ने निष्कर्ष निकालेको छ ।

यस्तै अन्तर्राष्ट्रिय क्षेत्रसँगको समन्वय र साझेदारीमा वन्यजन्तुको विषयमा सञ्जाल निर्माण गरी काम गर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायअन्तर्गत छुट्टै वन्यजन्तु स्वास्थ्य व्यवस्थापन विभाग गठन गरी रोग निदान संरचना खडा गर्ने, देश विदेशमा वन्यजन्तुको क्षेत्रमा काम गर्ने अधिकारीलाई अध्ययन भ्रमण तथा तालीमको अवसर दिलाउने कार्यशालाको निष्कर्ष छ ।

वन्यजन्तुको क्षेत्रमा कार्य गर्ने निकायबीच र राष्ट्रिय प्रयोगशालाबीचमा समन्वय स्थापना गर्ने, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण विभागअन्तर्गत विभिन्न क्षेत्रमा पशु चिकित्सक र पाराभेटेरिनरीयनको दरबन्दी सिर्जना गर्ने तथा अध्ययन अनुसन्धानका लागि वन्यजन्तुको कुनै पनि भौतिक नमूना संकलन र संरक्षण गर्ने पनि कार्यशालाको निष्कर्ष रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले जानकारी दिनुभयो । उहाँले कार्यशालामा हात्तीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो कर्याशालामा १३ देशका ८७ जना विज्ञको सहभागिता थियो । उक्त गोष्ठीमा नेपालसहित पाकिस्तान, भारत, इण्डोनेशिया, चीन, अष्टे«लिया, म्यानमार, अमेरिका, मंगोलिया, रसिया, थाइल्याण्ड, बेलायत, भियतनामका विज्ञको सहभागिता रहेको थियो ।

माघ २२ र २३ गते कार्यशाला गोष्ठी सम्पन्न भएको र आज भने चितवनमा विज्ञको ल्याब तथा वन्यजन्तुको विषयमा अध्ययन भ्रमणको कार्यक्रम रहेको छ ।

मुख्यगरी कार्यशालामा १३ देशमा वन्यजन्तुको स्वास्थ्य तथा व्यवस्थापनको क्षेत्रमा भए गरेका कार्यप्रगति, नयाँ रोग, प्रविधिका बारेमा समिति भएको र अनुभव आदानप्रदान भएको चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो ।

उहाँले गैँडा स्थानान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशालामा प्रस्तुत भएको ३३ वटा कार्यपत्रमाथि यहाँ छलफल भएको थियो ।

उहाँका अनुसार नेपालमा अन्य देशको भन्दा संरक्षणको पाटो प्रभावकारी रहेको र साधन स्रोत तथा प्रविधिको अभाव रहेको पाइएको छ ।

वन्यजन्तुको क्षेत्रमा सरकारले औषधि, जनशक्ति, रोगको पहिचानका लागि अस्पताल र अनुसन्धानको क्षेत्रमा ध्यन दिनुपर्ने देखिएको चितवनका सिनियर भेटेनरी अधिकृत दयाराम चापागाईले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्