Logo
|
Friday 29th March 2024
Logo

epaper

अति गरिबको निःशुल्क स्वास्थ्य बीमा



अति गरिबमा सूचीकृत परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् ।

गरिबी परिचयपत्र नहुँदा लक्षित वर्गमै स्वास्थ्य बीमा नपुगेपछि सूचीकृत भएकै आधारमा बीमा गराइएको हो । स्वास्थ्य बीमा कार्यक्रमले परिचयपत्रका आधारमा अति गरिबलाई निःशुल्क बीमा गराउने व्यवस्था गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट परिचयपत्र जारी नहुँदा विपन्न परिवार बीमा सुविधाबाट वञ्चित भएका थिए ।

परिचपयपत्र नआए पनि मन्त्रालयले अति गरिबको सूचीमा राखेका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड प्रदेश नं ४ का संयोजक जीवलाल खरेलले बताउनुभयो । “लक्षित वर्ग नै बीमाको सुविधाबाट छुटेपछि मन्त्रालयले तयार गरेको सूचीका आधारमा सेवा दिइरहेका छौँ” संयोजक खरेलले भन्नुभयो । उहाँका अनुसार पहिलो चरणमा अति गरिब परिवारलाई मात्र निःशुल्क सेवा उपलब्ध गराइएको छ ।

गरिब परिचयपत्र वितरण हुनासाथ सबैखाले गरिब परिवारको स्वास्थ्य बीमामा सहज पहुँच पुग्ने संयोजक खरेलको भनाइ छ । प्रदेश नं ४ का ५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

बागलुङमा दुई वर्षअघि र कास्की, म्याग्दी, गोरखा र तनहुँमा यसै वषदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । सरकारले शुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । बागलुङमा हालसम्म पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जना सदस्यको स्वास्थ्य बीमा भएको छ ।

अतिगरिब ५४४ परिवारका दुई हजार ८४५ सदस्य बीमा कार्यक्रममा जोडिएका छन् । बागलुङका दर्ता अधिकारी जमुनादेवी सापकोटाका अनुसार हालसम्म जिल्लाका १४ हजार ५३० जना विमित सदस्यले उपचार सेवा पाएका छन् । जिल्लामै र बाहिरसमेत गरी तोकिएका स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचार सेवा विमित सदस्यले पाउँदै आएका हुन् । अति गरिब परिवारका सदस्यलाई त झन निःशुल्क बीमाले ठूलो राहत मिलेको छ ।

“सामान्य परिवारले भने वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाउनुपर्ने व्यवस्था छ । सोबापत पाँच जनासम्मको परिवारले रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् । पाँच जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । रासस

प्रतिक्रिया दिनुहोस्