Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यकर्मीको पारिश्रमिक प्रस्ताव: २५० प्रतिशतसम्म वृद्धि



सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ । निजामती कर्मचारीको जस्तो सेवा–सुविधाका आधारमा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने भन्दै सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २ सय ५० प्रतिशतसम्म वृद्धि गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित उपसमितिले सुगममा ५० र दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीको हकमा २ सय ५० प्रतिशतसम्म पारिश्रमिक वृद्धि गर्न सिफारिस गरेको छ । चिकित्सकको हकहितका विषयमा निर्णय लिन भन्दै ८ असोज ०७४ मा सरकारले स्वास्थ्यसचिव पुष्पा चौधरीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

सो समितिले विभिन्न विषयमा निर्णय लिन चार उपसमिति गठन गरेको थियो । चार उपसमितिमध्ये चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक निर्धारणका विषयमा स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठको नेतृत्वमा गठित समितिले चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक भारी मात्रामा वृद्धि गर्न सिफारिस गरेको हो । उपसमिति सदस्य डा. प्रकाश बुढाथोकीले विभिन्न शीर्षकमा गरी स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २५० प्रतिशतसम्म वृद्धि गर्न सिफारिस गरिएको जानकारी दिए ।

दुर्गममा सेवा दिनेलाई बढी प्रोत्साहन
समितिले दुर्गममा गएर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको हकमा शतप्रतिशत पारिश्रमिक थप गर्न प्रस्ताव गरेको छ । ‘स्वास्थ्यकर्मीहरू दुर्गमभन्दा बढी सुगमकेन्द्रित हुने गरेका छन्,’ बुढाथोकीले भने, ‘दुर्गममा बसेर स्वास्थ्य सेवा दिन आकर्षित गर्नका लागि पनि शतप्रतिशत पारिश्रमिक वृद्धिको प्रस्ताव गरिएको हो ।’ चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको प्रस्ताव पास भएको खण्डमा दुर्गममा काम गर्ने चौथो दर्जामा कार्यरत स्वास्थ्यकर्मीको मासिक पारिश्रमिक ७७ हजार पाँच सय ९५ पुग्नेछ । हाल चौथो दर्जाका स्वास्थ्यकर्मीले २२ हजार एक सय ७० रुपैयाँ तलब बुझ्दै आएका छन् ।

नेपाल चिकित्सक संघका सहकोषाध्यक्षसमेत रहेका डा. बुढाथोकीले भने, ‘चौथो तहदेखि १२औँ तहसम्मका स्वास्थ्यकर्मीलाई आधारभूत तलबमा प्राविधिक भत्ता २५ प्रतिशत, विशेष जोखिम भत्ता २५ प्रतिशत, दुर्गम क्षेत्र आकर्षण भत्ता शतप्रतिशत वृद्धि गर्न सिफारिस गरेका छौँ ।’ उनले दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीलाई तलबी अध्ययन बिदा दिनुपर्ने बताए । हाल सरकारले दुर्गमका स्वास्थ्यकर्मीलाई बेतलबी अध्ययन बिदा दिँदै आएको छ । समितिले रात्रिकालीन ड्युटी गर्ने ४ देखि ६ तहसम्मका कर्मचारीलाई सात सय, सातौँ र आठौँ तहका कर्मचारीलाई एक हजार र त्यसमाथिका स्वास्थ्यकर्मीलाई १५ सय प्रतिरात भत्ता दिनुपर्ने प्रस्ताव गरेको छ । वार्षिक १५ दिन अनिवार्य तलबी बिदा र शिक्षण कार्यमा संलग्न भएका स्वास्थ्यकर्मीलाई प्रतिक्लास भत्ताको व्यवस्था गर्न पनि समितिले सिफारिस गरेको छ ।

सरकारी सेवामा ३१ हजार स्वास्थ्यकर्मी
देशमा जम्मा ३१ हजार ६ सय २७ स्वास्थ्यकर्मी सरकारी स्वास्थ्य संस्थामा कार्यरत छन् । डा. बुढाथोकीका अनुसार छैटौँ दर्जासम्मका ८० प्रतिशत स्वास्थ्यकर्मी दुर्गममा छन् । ९ र १०औँ तहका २० प्रतिशत मात्रै दुर्गममा छन् । बाँकी ११ र १२औँ तहका स्वास्थ्यकर्मीलाई दुर्गममा खटाइएको छैन । सुगममा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत पारिश्रमिक वृद्धि र दुर्गममा गए २५० प्रतिशत वृद्धि गर्न समितिले सिफारिस गरेको हो ।

source: नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्