Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपाल मेडिसिटीमा उपचार गराउँदा ९० प्रतिशत खर्च इन्स्योरेन्सले व्यहोर्ने



ललितपुरको भैंसेपाटीस्थित अन्तर्राष्ट्रिय तहको अत्याधुनिक मेडिसिटी हस्पिटलमा मुलुकमा पहिलोपटक क्यासलेस स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । नेपालीहरुलाई सुलभ उपचार सेवा दिने उद्देश्यले अस्पतालले प्रिमियर इन्स्योरेन्स कम्पनीसँग यस कार्यका लागि सहकार्य गरेको छ ।
यसका कार्यका लागि नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र प्रिमियर इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले एक समारोहकाबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरी सेवा शुभारम्भ गर्नुभएको छ ।

स्वास्थ्यको क्षेत्रमा क्यासलेस स्वास्थ्य बीमा कार्यक्रमले नेपालीहरुलाई आफ्नो स्वास्थ्यप्रति ढुक्क हुने वातावरण सिर्जना गरेको छ र ठूलो संख्यामा नेपालीहरु यस कार्यक्रममा आबद्ध हुने विश्वास लिइएको छ ।
यस स्वास्थ्य बीमा अन्र्तगत सेवाग्राही बिरामीले सिधै अस्पतालमा भर्ना हुनसक्छन् । उनीहरुले लिएको सेवाको आधारमा उपचारको क्रममा लाग्ने ९० प्रतिशत रकम सिधै इन्स्योेरेन्स कम्पनिले भुक्तानी गर्ने छ । बिरामीले १० प्रतिशत खर्च मात्र बेहोर्नुपर्ने प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

यस सेवाका लागि वार्षिक १ हजार २ सय ५० रुपियाँ प्रिमियम शुल्क बुझाउँदा ५० हजार रुपैया सम्मको स्वास्थ्य सुविधा लिन सक्ने र १ हजार ८ सय ७५ भुक्तानी गरेमा परिवारका सदस्यले सोही रकम सम्मको स्वास्थ्य सुविधा लिन सक्ने भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत उपाध्यायका अनुसार १० लाख सम्मको स्वास्थ्य सेवाका लागि ब्यक्तिले २५ हजार र परिवार सबैको लागि ३७ हजार सम्म वार्षिक प्रिमियममा सुविधा लिन सकिनेछ । व्यक्ति र परिवारको इच्छा अनुसार विभिन्न प्रिमियमको ब्यवस्था गरी सबैका लागि अवसर प्रदान गरेको उहाँले स्पष्ट पार्नुभयो ।

सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नेपालीहरुको पहुँचभित्र पुर्याउन यस बीमा कार्यक्रमले ठूलो सहयोग गर्ने र यसलाई ग्रामीण तह सम्म पुर्याई सबै नेपालीहरुलाई स्वास्थ्यप्रति ढुक्क हुने वातावरण सिर्जना गर्न आफूहरु लागिपरिरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत जयरामले बताउनुभयो ।
अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. गोपाल रमण शर्मा भन्नुहुन्छ—‘सरकारी तथा गैह« सरकारी दुवै क्षेत्रबाट स्वास्थ्य बीमा कार्यक्रमलाई सघन रुपमा ब्यवस्थापन गरी स्थानीय स्तर सम्म पुर्याउन सकेमा धेरै बिरामीलाई आर्थिक सहयोग पुग्ने देखिन्छ ।’
‘अब सबैले आफ्नो स्वास्थ्यका लागि लगानी गर्नुपर्छ’ भन्ने भावना जाग्नुपर्ने बताउँदै अस्पतालका महाप्रबन्धक विजय रिमाल भन्नुहुन्छ—‘वार्षिक रुपमा न्यून रकम जोहो गरेमा ठूलो सहयोग अस्पताल र बीमाकम्पनिले प्रदान गर्छ । यसबाट नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मार्ने पक्का छ ।’

सम्पूर्ण उपचार नेपालमै सम्भव बनाउने अभियानका अभियन्ता डा. उपेन्द्र महतोले स्थापना गर्नुभएको देशकै एक मात्र उत्कृष्ट पूर्वाधार, प्रविधि र जनशक्ति सहितको अन्तर्राष्ट्रिय अस्पतालले आम नेपालीको अन्तिम विश्वास नेपाल मेडिसिटी भएको महाप्रबन्धक रिमालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्