कार्डिएक अरेस्टबारे चर्चित मुटु सर्जन प्रा.डा भगवान कोइराला के भन्छन् ?

जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2018-02-25 14:31:27

भगवान कोइराला

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको कार्डिएक अरेस्टका कारण दुबईमा निधन भएको बताइएको छ। नेपालमा पनि हालैका वर्षमा कार्डिएक अरेस्टको समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन्। यसै सन्दर्भमा  वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला – कार्डिएक अरेस्ट भनेको के हो?

उत्तरः कार्डिएक अरेस्ट भनेको मुटु बन्द हुनु हो। सामान्यतया मुटुको कारणले अचानक हुने मृत्युलाई बुझिन्छ।

यसका कारण चाहिँ के के हुन्?

उत्तरः मुटु बन्द हुने अनेक कारण हुन्छन्। अन्य विभिन्न रोगको कारणले पर्ने असर एउटा सामान्य कुरा भइहाल्यो। मुटुको चालको गडबडी, मुटुको विद्युतीय प्रणालीमा गडबडी हुने कारणले पनि हुन सक्छ। मुटुको रक्तसञ्चार अचानक बन्द भएर, हृदयाघात भएर पनि हुन सक्छ। कहिलेकाहीँ हामीले भन्नै नसक्ने कारणले मुटु बन्द हुने पनि हुन सक्छ। यो धेरै हुँदैन तर सम्भव छ।

कर्डिएक अरेस्टबाट जोगिने कसरी?

यसबाट प्रभावित हुने निश्चित उमेर समूहका हुन्छन् अथवा जो कोही पनि हुन सक्छन्?

उत्तरः अंग्रेजीमा रिक्स फ्याक्टर्स भनिन्छ। हृदयाघात हुने जोखिम भएकाहरूलाई पनि यसको जोखिम हुन्छ। किनभने जसलाई हृदयाघात हुन्छ उनीहरूको अचानक मृत्यु हुने सम्भावना बढी हुन्छ। त्यसैले त्यो जोखिमबारे हामीले जान्न, बुझ्न जरूरी छ। तर कहिलेकाहीँ दुर्भाग्यवश संसारभरको नियति के हो भने कारण विना पनि मुटु अचानक बन्द हुन सक्छ। यसबारे धेरै पीर गरेर साध्य हुने कुरा होइन। जोखिमका कुरालाई न्यूनीकण गर्नु चाहिँ हाम्रो हातमा छ।

उसो भए कसरी जोखिम न्यूनीकण गर्न सकिन्छ?

श्री देवीबलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको ‘कार्डिएक अरेस्ट’का कारण गएराति दुबाईमा निधन भएको छ।

वयस्क उमेरका मान्छेले आफूलाई केही जोखिम छ कि छैन भनेर आफूले आफैँलाई मूल्याङ्कन गर्नुपर्‍यो र शंका लागेको खण्डमा चिकित्सकसँग सल्लाह लिनुपर्‍यो। न्यूनतम परीक्षणहरू पनि गराउनुपर्‍यो। खतरा केही देखिएन, स्वस्थ हो, कुनै खराब लत छैन। धुमपान गर्दैन, नियमित व्यायाम गर्छ, मोटोपन छैन भने धेरै पीर गर्नुपर्दैन। तर पनि ४० वर्ष काटेका व्यक्तिले एकचोटि परीक्षण गराउनु उपयुक्त हुन्छ। तर ती परीक्षणले अप्रत्याशित मृत्युलाई नियन्त्रण गर्छ भनेर बुझ्नु चाहिँ गलत हुन्छ। तैपनि जोखिमहरू घटाउन सकियो भने अप्रत्याशित हुने घटनालाई केही न केही न्यूनीकरण गर्न सकिन्छ।

बलिवूड अभिनेत्री श्रीदेवीको कार्डिएक एरेस्टकै कारण निधन भयो भनिएको छ, नेपालमा यस्ता अप्रत्याशित मृत्युका घटना कतिको हुने गरेका छन्?

बेला-बेलामा हुने गरेका छन्। धेरैजनाको नाम हामीले सुनेको, चिनेजानेकै छौँ। हामीले कतिपयको उपचार पनि गर्‍यौँ। कतिपयलाई बचाउन पनि सकियो। हृदयाघात भएर मुटु बन्द भएकालाई कृत्रिम श्वासप्रश्वासबाट बचाएको उदाहरणहरू पनि छन्। अरू घटनाको तुलनामा यस्को संख्या चाहिँ कम छ। समाज यति आतंकित हुनुपर्ने कुरा चाहिँ होइन्। किनभने प्रतिशतको हिसाबले एकदमै कम छ। मुटुबाट हृदयाघात धेरैको हुन्छ, हामीले धेरैको उपचार गर्छौ। मुटुको चालको गडबडीको पनि धेरै उपचार गर्छौँ। ती सबै यस्तो अप्रत्याशित मृत्युमा परिणत हुँदैनन्। तर पनि मैले अघि भने जस्तै आफ्नो बारेमा सचेत हुने, जोखिमहरू न्यूनीकरण गर्ने र हृदयाघातको जोखिम निम्त्याउने धुम्रपान, अत्यधिक मदिरापान, कम कसरत गर्ने बानी, मधुमेह र रक्तचापको उपचार नगराउने प्रवृत्ति हामीले हटाउनैपर्छ।

त्यसबाहेक उमेर सँग-सँगै केही जोखिमहरू आउन सक्छन् र अनुवांशिक कारणले आउने जोखिमलाई हामीले झेल्ने हो। केही परिहालेमा त्यसलाई तदारूकताका साथ उपचारको विधिमा लैजान सकिन्छ। तपाईँ हामीले चिनेका व्यक्तिहरूको मृत्युको पछाडिका कुलत जस्ता के-के जोखिम थिए भनेर हामीले अध्ययन गरेका हुँदैनौँ। खाली अचानक मृत्यु भयो भन्ने मात्र सुन्छौँ। त्यसैले जीवनशैली पो खराब थियो कि भनेर पनि जान्नुपर्छ। आफ्ना जोखिमहरू न्यूनीकरण गर्न आजैदेखि सचेत हुन म सबैलाई अनुरोध गर्न चाहन्छु। त्यसो गरे मात्रै हामी अप्रत्याशित मृत्युहरूलाई कम गर्न सक्छौँ। —बीबीसी

    Comment Here!