Logo
|
Thursday 18th April 2024
Logo

epaper

दुर्गममा सामुदायिक स्वास्थ्य एकाइ



स्वास्थ्य सेवाको पहुँच बढाउन तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी अघिल्लो महिना एकाइ सञ्चालनमा ल्याइएको थियो ।

उक्त सामुदायिक स्वास्थ्य एकाइबाट बोङ्खानीका ७०० घरधुरीले प्रत्यक्ष लाभ लिइरहेका छन् । सरकारले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना गर्दै आएकोे छ । यस्ता एकाइहरु साविकमा रहेका स्वास्थ्य संस्थामा आउन टाढा हुने र ठूलो भूगोलमा बसोबास गर्ने सर्वसाधारणलाई लाभदायी बन्ने गरेको छ । बोङ्खानीमा एकाइ स्थापनाका लागि अघिल्लो आवमै स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको थियो ।

स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि बोङ्खानी र आसपासका क्षेत्रका बासिन्दा हर्षित छन् । दुर्गमका बासिन्दालाई एकाइले ठूलो राहत दिएको चर्चा गर्दै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “ठूलो र विकट भूगोल भएका कारण साविकका स्वास्थ्य संस्थामा सबैको पहुँच थिएन यस इकाइको स्थापनाले स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित हुनु पर्दैन ।”

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सामुदायिक स्वास्थ्य एकाइ स्वास्थ्य चौकीको सानो रुप हो । एकाइमा एकजना अहेब र एकजना अनमी गरी दुईजना स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा एकाइबाट प्रदान हुने बोङ्गादोभान स्वास्थ्य चौकीका प्रमुख जीवनकुमार थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्