Logo
|
Thursday 25th April 2024
Logo

epaper

मिडवाइफ्री शैक्षिक कार्यक्रम पाठ्यक्रममै



ब्याचलर लेभलमा पढाइ हुँदै आएकोमा अब प्रवीणता प्रमाणपत्र तहदेखि नै-

मिडवाइफ्रीसम्बन्धी शैक्षिक कार्यक्रमलाई सरकारले पाठ्यक्रममा समावेश गर्ने भएको छ । ब्याचलर लेभलमा मिडवाइफ्री पढाइ सुरु गरेको दोस्रो वर्षमा सरकारले प्रवीणता प्रमाणपत्र तहदेखि मिडवाइफ्री शैक्षिक कार्यक्रमसम्बन्धी राष्ट्रिय एकीकृत पाठ्यक्रम तयार गर्न लागेको हो ।

मिडवाइफ्रीसम्बन्धी राष्ट्रिय एकीकृत पाठ्यक्रम तयार पार्न स्वास्थ्य मन्त्रालयले नर्सिङ शाखा प्रमुखको संयोजकत्वमा ११ सदस्य कार्यदल गठन भएको छ । २५ माघको स्वास्थ्य मन्त्रालय सचिवस्तरीय निर्णयअनुसार प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् सानोठिमी त्यसको सदस्य–सचिव रहने व्यवस्था छ । स्वास्थ्य मन्त्रालय नर्सिङ शाखाका अनुसार ब्याचलर लेभलको पढाइ सुरु भए पनि अनमीलाई लक्षित गरी मिडवाइफ्री शैक्षिक कार्यक्रमलाई पाठ्यक्रममा समावेश गराउन सुरु भएको हो । पाठ्यक्रममा समावेश भए स्टाफ नर्ससँगै मिडवाइफ्री अध्ययन गर्न सकिनेछ ।

स्वास्थ्य मन्त्रालय कम्युनिटी नर्सिङ अधिकृत अमृता पहाडीका अनुसार अनमीको क्षमता वृद्धि गर्ने उद्देश्यले प्रवीणता प्रमाणपत्र तहदेखि मिडवाइफ्री शैक्षिक कार्यक्रम तय गर्न लागिएको हो । गर्भावस्था र त्यसपछिको स्वास्थ्य अवस्थालाई राम्रोसँग नियाल्न मिडवाइफ्रीको आवश्यकता पर्छ । ‘राम्रो प्रशिक्षण पाएका योग्य व्यावसायिक मिडवाइफ्रीले गर्भावस्था र प्रशवास्थाभरि दयापूर्वक समग्र हेरचाह गर्छन्,’ उनले भनिन् । मन्त्रालयका अनुसार हाल स्वास्थ्य संस्थामा काम गरिरहेका अनमीलाई ७० प्रतिशत र नयाँ स्टाफ नर्सका लागि ३० प्रतिशत कोटा छुट्याइनेछ ।

मातृशिशु मृत्युदर घटाउन मिडवाइफ्री कार्यक्रम
स्वास्थ्य मन्त्रालयका अनुसार करिब नौ हजार मिडवाइफ्री आवश्यक छ । ‘नेपालमा मिडवाइफ्रीको आवश्यकता महसुस गरी काठमाडौं विश्वविद्यालयले सन् ०१६ देखि चारवर्षे र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल नर्सिङ क्याम्पसले गत वर्षबाट तीनवर्षे स्नातक तहको मिडवाइफ्री शैक्षिक कार्यक्रम सुरु गरेको नर्सिङ अधिकृत अमृता पहाडीले बताइन् । उनले भनिन्, ‘सबैलाई एकीकृत रूपमा ल्याउन पाठ्यक्रम परिवर्तन गर्न लागिएको हो ।’ उनका अनुसार पाठ्यक्रम परिवर्तनसँगै मिडवाइफ्री कार्यक्रम तीनवर्षे बनाइनेछ । गर्भवती आमा र नवजात शिशु मृत्युदर घटाउन सरकारले मिडवाइफ्री कार्यक्रम लागू गरेको छ ।

नेपालमा प्रतिवर्ष झन्डै साढे ६ लाख नवजात शिशुको जन्म हुन्छ । जसमध्ये १३ हजार नवजात शिशुको जन्मेको २८ दिनभित्र मृत्यु हुने गरेको छ । चिकित्सकका अनुसार नेपालमा अहिले ५ वर्षमुनिका बालबालिकाको मृत्युको करिब ५५ प्रतिशत हिस्सा नवजात शिशुले ओगटेको छ ।

राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले सन् २००६ मा शिशुमृत्युदर प्रतिहजार जीवित जन्ममा ३३ रहेकोमा सन् ०१७ मा आइपुग्दा २१ मा झरेको देखाएको छ । मातृमृत्युदर भने प्रतिलाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको देखाएको छ । यसअघि नेपालमा मातृमृत्युदर प्रतिलाख जीवित जन्ममा २ सय ५८ जना थियो । यस दरलाई घटाउन पनि मिडवाइफ्रीको आवश्यकता महसुस गरिएको हो ।नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्