Logo
|
Friday 19th April 2024
Logo

epaper

पम्फा भुसाल र ल.पु.उपमेयर गीता सत्यालले गर्नुभयो अंगदान



  नेकपा माओवादीकी प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य पम्फा भूलालले आफ्नो मृत्युपश्चात् अंगदान गर्ने सहमति दिनुभएको हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले ललितपुरको आर्मी स्पोस्र्ट क्वलमा आयोजना गरेको कार्यक्रममा भूसालले आफ्नो मृत्यु पश्चात् अंगदान लिन केन्द्रको सहमति पत्रमा दायाँ बायाँ औंठाछापसहित हस्ताक्षर गर्नुभयो ।


मृत्यु पछि गाडेर कुहिने वा जलाएर खरानी हुने अंग अर्को व्यक्तिमा प्रत्यारोपण गरेर धेरै जनाको ज्यान जोगाउन सकिन्छ अर्थात अंग फेल भएर मृत्युको दिन कुरिरहेको अर्को व्यक्तिलाई पुनर्जीवन दिन सकिन्छ भने किन नगर्ने भनेर आफूले अंगदान गरेको सभासद भूसालले बताउनुभयो । यसैबीच ललितपुर उपमहानगरपालिकाकी उममेयर गीता सत्यालले पनि आफ्नो मृत्यु पश्चात् अंगदान गर्ने सहमति जनाउनुभएको छ । नेपालमा मस्तिष्क मृत्युबाट अंगदान गर्नसक्ने कानुनी बाटो खुलेयता यो सम्भव भएको हो ।
एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा महत्वपूर्ण अंग निकालेर ८ जनालाई बचाउन सकिन्छ । यस्ता अंगहरुमा २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा मुटु, १ वटा कलेजो, १ वटा प्याँक्रियाज, १ वटा सानो आन्द्रा रहेका छन् ।
यसरी ८ जना व्यक्तिले नयाँ जीवन प्राप्त गर्न सक्छन् । मस्तिष्क मृत्युबाट आएको अंग राज्यले सही उपयोग गराउन कानुन पारित गरेर काम शुरु गरिसकेको छ । यसमा नेपाल सरकारले स्थापना गरेको भक्तपुरको सल्लाघारीस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सक्रियताका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्