Logo
|
Friday 29th March 2024
Logo

epaper

उपचारका लागि रेशमलाललाई काठमाडौं लगियो



स्वास्थ्यमा समस्या देखिएपछि टीकापुर घटना गराएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त रेशमलाल चौधरीलाई आज काठमाडौँ पठाइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीलाई आज अपराह्न हवाईजहाजबाट केन्द्रीय कारागार काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।

चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीले गरेको सिफारिसबमोजिम काठमाडौँ पठाइएको हो ।

गएको छ दिनदेखि कैलाली कारागारमा रेशमसहित टीकापुर घटनाका २४ जना अभियुक्त अनशनमा बसेका छन् ।

चौधरी कैलाली निर्वाचन क्षेत्र नं १मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रेशमलालको स्वास्थ्यमा खनिज तत्वको कमी देखिएको पाइएपछि उहाँलाई काठमाडौँको वीर अस्पताल वा शिक्षण अस्पताल लैजान सिफारिस गरिएको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा सजन केशीले बताउनुभयो ।

आवश्यक ल्याब परीक्षण गर्ने सुविधा अञ्चल अस्पतालमा नभएकाले चौधरीलाई ‘रिफर’ गरिएको डा केसीले बताउनुभयो ।

आज अचानक बिरामी भएर बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको थियो ।

चौधरीसहित टीकापुर घटनाका अभियुक्त २४ जनाले निर्वाचित सांसद चौधरीलाई विजयीको प्रमाणपत्र उपलब्ध गराई शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, थरुहटको मागलाई सम्बोधन गर्नु पर्नेलगायतका माग राखेर कैलाली कारागारमा अनशन थालेका थिए ।

अनशन तोडाउने प्रयास असफल

आज बिहान अनशन तोड्ने भनिए पनि अन्तिम समयमा आएर अनशनकारीबीचको आपसी मतैक्यता हुन नसकेका कारण अनशन नतोडिएको बताइएको छ ।

अनशन बसेकाहरुको स्वास्थ्यमा समस्या देखिएपछि अनशनकारी सबैले आज अनशन तोड्ने जानकारी पाएपछि बिहानै कैलाली कारागारमा राजपा, थरुहटका नेता र सञ्चारकर्मीहरु पुगेका थिए ।

रेशमलाल चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र र शपथ दिइनुपर्ने माग पूरा भएपछि अनशन तोड्नुपर्ने एकथरिको भनाइ रहेकामा अर्कोथरिले सरकारले मुद्दा नै फिर्ता लिने लिखित सहमतिको माग गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्