Logo
|
Friday 19th April 2024
Logo

epaper

२३ स्वास्थ्य संस्था र कर्मचारी भरतपुर महानगरपालिका मातहतमा



भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्र्मी र २०७ जना स्वास्थ्य स्वयंसेविका आएका छन् । भरतपुर महानगरपालिका कार्यालयको सभाहलमा आइतबार स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रम आयोजना गरी ती संस्था र स्वास्थ्यकर्र्मीलाई महानगर मातहत ल्याइएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट हस्तान्तरण भई महानगरमा आएकामा वडा नं १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट १० कर्मचारी र करारमा कार्यरत चार जना चिकित्सक रहेका छन् । यसैगरी १३ स्वास्थ्यचौकीबाट ८६, आठ नगर स्वास्थ्य केन्द्रबाट २४ र सामुदायिक स्वास्थ्य इकाई कविलासका तीनजना कर्मचारी महानगर मातहत आएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले प्रत्येक स्वास्थ्य संस्थाको सम्पत्ति र कर्मचारी विवरण सहितको अलगअलग फाइल एकमुष्ट रुपमा महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तहमा स्वास्थ्य संस्था आएपछि दायित्व र जिम्मेवारी थपिएको बताउनुभयो ।

भरतपुर महानगरका २९ मध्ये नौ वटा वडामा स्वास्थ्यचौकी नभएको जानकारी गराउँदै महानगर प्रमुखले भदौ महिनाभित्र हस्तान्तरण हुनुपर्नेमा केही ढिला भए पनि राम्रो कामको शुरुआत भएको बताउनु भयो । उहाँले महानगरभित्र रहेका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन महानगर र वडा जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
स्थानीय तहअन्तर्गत वडामा रहेका स्वास्थ्य संस्था व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष रहने र उपाध्यक्ष वडाध्यक्षले तोकेको व्यक्ति रहने व्यवस्था छ । अन्य पाँच सदस्यमध्ये एक महिला सदस्य महानगर प्रमुखले तोकेको व्यक्ति रहने प्रावधान छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले अब महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाको जिम्मेवारी र नेतृत्व महानगरपालिकाले लिनुपर्ने बताउनुभयो । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले अब वडा–वडामा समन्वय र अनुगमन गरिने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्