Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण



जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सोमबारदेखि जिल्लामा रहेका स्वास्थ्य संस्था औपचारिक रुपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेन्द्रप्रसाद चौरासियाले जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीमार्फत स्थानीय तहको प्रमुख तथा उपप्रमुखसहितको उपस्थितिमा सम्पूर्ण स्वास्थ्य संस्था हस्तान्तरण गर्नुभएको हो । झण्डै चार दर्जन सरकारी कार्यालयमध्ये जनस्वास्थ्य कार्यालयले पहिलो पटक स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । नगरपालिका र गाउँपालिकास्तरमा रहेका स्वास्थ्य संस्था अब स्थानीय सरकारको मातहतमा सञ्चालन हुने भएको छ ।

जिल्लामा नमोबुद्ध नगरपालिका, मेथिनकोटमा १५ श्ययाको अस्पतालसहित पनौती नगरपालिकाका खोपासी र सुन्थान, पाँचखाल नगरपालिकाको पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र गरी चार प्राथमिक स्वास्थ्य केन्द्र छन् । त्यस्तै ८६ स्थानमा स्वास्थ्य चौकी छन् । त्यससँगै तीन वटा स्तरोन्नति गर्न बाँकी उपस्वास्थ्य चौकी, नौ शहरी स्वास्थ्य केन्द्र, १२ सामुदायिक स्वास्थ्य एकाइ, ३३१ खोप केन्द्र, ३०२ गाउँघर क्लिनिक र ९७८ महिला स्वास्थ्य स्वयंसेविका छन् ।

“अब भएको स्वास्थ्य संस्थाको भौतिक पूर्वाधारदेखि सामग्रीको सबै जिम्मेवारी स्थानीय तहको हुनेछ”, डा चौरासियाले भन्नुभयो, “कर्मचारी भने अहिले जुन जुन स्थानीय तहमा काम गरिरहेका छन्, सबै काजमा नै छन्, उनीहरुको समायोजन भने नीतिगत रुपमा कर्मचारी समायोजन विधेयकअनुसार मात्रै हुनेछ ।”

जिल्लामा धुलिखेल सामुदायिक अस्पताल र निजी अस्पतालमा शिर मेमोरियल अस्पताल र अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, स्पाइनल इन्जुरी उपचार पुनःस्थापना केन्द्र, रेयुकाइ मासुनागा आँखा अस्पताल र अन्य विभिन्न स्थानमा निजी अस्पताल छन् । अब ती सबै अस्पतालको रेखदेख गर्ने जिम्मा स्थानीय तहको नै रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस्