Logo
|
Friday 19th April 2024
Logo

epaper

झापामा ३९२ बालबालिकामा कडा कुपोषण



झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ ।

जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो । झापाका कचनकवल, झापा, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा शिवसताक्षी नगरपालिकाका ३० स्वास्थ्य संस्थामा १०० भन्दा बढी पटक गरिएको कुपोषित बालबालिका पहिचान शिविरबाट ३९२ कुपोषित बालबालिका फेला परेको हो ।

“कडा पोषणको शिकार भएको बालबालिकामा झापा तेस्रो स्थानमा रहेको छ”, अधिकृत पौडेलले भन्नुभयो, “पहिलोमा सप्तरी र दोस्रोमा सिरहा छन् ।” गत साउनमा बाढी आउनुअघि झापामा १२ प्रतिशत बालबालिका कुपोषणको शिकार भए पनि त्यसयता २१ प्रतिशत वृद्धि भई ३३ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रतिशतभन्दा बढी हुनु भनेको खतरा हो । कुपोषित बालबालिकाको पहिचान गरी उपचार गर्न झापामा ओटिसी सेन्टर स्थापना गरिएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा १६ केन्द्र स्थापना गरिएको जिल्ला कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले कुपोषणको शिकार भएका बालबालिकाको अवस्थानुसार ४२–९० दिनसम्म निदान विधिबाट उपचार गरिने बताउनुभयो । हालसम्म १४७ बालबालिकाको उपचार गरिसकिएको छ भने २४५ जनाको उपचार भइरहेको छ । कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना खुवाइने छ ।

केन्द्र सञ्चालनका लागि २५० स्वास्थ्यकर्मीलाई तालीमसमेत प्रदान गरिएको छ । तालीमप्राप्त स्वास्थ्यकर्मीले बालबालिकाको शारीरिक अवस्थाको परीक्षण गरी उपचार गर्नेछन् । केन्द्रमा उपचार सम्भव नभए मेची अञ्चल अस्पताल र दमक अस्पताल दमकमा सिफारिस गरिने बताइएको छ । सो कार्यक्रम जनस्वास्थ्य झापाको समन्वय र युनिसेफको सहयोगमा सञ्चालित छ ।रासस

प्रतिक्रिया दिनुहोस्