Logo
|
Thursday 28th March 2024
Logo

epaper

योजनाविनै पत्रकारिता, योजनासहित स्वास्थ्य पत्रकार



गीता सापकोटा, स्वास्थ्य पत्रकार

‘देशको अबको राजनीतिक के हुन्छ ?’, ‘यो प्रधानन्त्री वा मन्त्रीले राम्रो गर्ला त ?’ पत्रकार भनेपछि अधिकांश समाजसँग सामना गर्नुपर्ने प्रश्न हुन् यी । यस्ता प्रश्नको जवाफ तयार गर्न पनि राजनीतिक समाचारमा रुची राख्नुपथ्र्यो । चिया पसल, सार्वजनिक यातायात जहाँतही राजनीतिकै बहस बढी हुन्छ । एक दशकअघि पत्रकारिता सुरु गर्दा स्वास्थ्य पत्रकार गीता सापकोटालाई पनि लाग्थ्यो हामीलाई राजनीतिबाहेक किन केहीको चासो छैन ? उनले उत्तर भेटिरहेकी थिइनन् । तर उनमा नजानिदो पाराले आम मान्छेलाई खास समस्याहरुमा जानकारी गराउनुपर्छ भन्ने सोच कतै न कतै थियो ।

हजारौ महिलाहरु सुत्केरी हुन नसकेर मरिरहेका छन्, लाखौ नवजातहरु आफ्नो पहिलो एक महिना पूरा नहुँदै ज्यान गुमाउँछन् । युवाहरु हृदयघातले र वयष्कहरु क्यान्सरले ज्यान गुमाइरहेका छन् । संसारमा जनस्वास्थ्य समस्या नै नरहेको झाडापखालाले वर्षेनी हजारौको ज्यान जान्छ । पत्रकारितामा केही वर्ष बिताएपछि उनलाई लाग्यो, हामी पत्रकारले यी विषयमा बहस चलाउन नथालेकै कारण समाजमा यस्ता विषयमा बहस नै हुँदैन । यो कुराले उनलाई स्वास्थ्य पत्रकारितातर्फ डोर्यायो । उनी भन्छिन्—‘म योजनाविनै पत्रकारितामा आइपुगेकी थिएँ, तर योजनवद्ध रुपमै स्वास्थ्य पत्रकारितामा छु’।

त्यसो त उनको पत्रकारिता यात्रा पर्वतबाट काठमाडौ आएर बस्नेहरुले निकाल्ने पत्रिका पैँयु आवाजको सम्पादकको भूमीकाबाट भयो । पैयँु आवाजदेखि नेपालकै सबैभन्दा पुरानो अग्रेजी दैनिक दि राइजिङ नेपालसम्मको यात्रामा उनले समाजलाई आफ्नो पत्रकारिताको क्षमताले भ्याएसम्म धेरै कुरा सिकाइन् ।

अहिले नेपालमा स्वास्थ्य पत्रकारिता एउटा महत्वपूर्ण बिटको रुपमा स्थापित मात्रै भएको छैन् स्वास्थ्य चेतना र जीवनशैलीमा थुपै परिवर्तन आएको छ ।

पत्रकारिता प्रारम्भ

विद्यालय जीवनदेखि नै सापकोटाको लेख्ने कुरामा विशेष रुची थियो । डायरीहरुमा मात्रै सीमित भएपनि थुपै कविता, कथा र निवन्धहरु लेख्थिन् उनी । विद्यालय तहका ती साहित्यीक लेखनले प्रतिस्पर्धामा पुरस्कारसमेत दिलायो । बुटवलबाट प्लस टुसम्मको पढाई पूरा गरेपछि स्नातकसम्म पढ्दै गर्दा काठमाडौ आएर पत्रकारिताको औपचारिक यात्रा प्ररम्भ भएको उनको भनाइ छ ।
परिपक्व नभइसकेको लेख्ने बानीलाई काठमाडौं आएपछि केही आफन्त र साथीहरुको संगतले व्यवसायीक पत्रकारिताको बाटोमा डोर्यायो । काठमाडौ आएपछि नै केही समय ऐक्यवद्धता नामक मासिकमा आवद्ध भएपछि अझै पत्रकारितालाई नजिकबाट बुझ्ने मौका मिल्यो । उनी भन्छिन्—त्यसपछि पत्रकारितालाई फैलाउन दि राइजिड नेपाल नामक अंग्रेजी दैनिकमा काम थालेँ । त्यससँगै उनले गोरखापत्र संस्थाका विभिन्न प्रकाशनहरुमार्फत् धेरै विषयवस्तु उठाउन थालिन् । बिस्तारै उनको कलम स्वास्थ्यतर्फ सोझियो । ‘जब स्वास्थ्यका विषयवस्तु उठाउन थालेँ अनि बल्ल मैले पत्रकारितामा खास जनचासोको विषय पहिल्याएँ भन्ने लाग्न थाल्यो’—उनले भनिन् ।

पुरस्कार र अवसर

स्वास्थ्य पत्रकारको रुपमा आफूले पाएका अवसरबाट उनी धेरै हदसम्म सन्तुष्ट छिन् । जसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा धेरै पुरस्कार र अवसर दिएको छ । अमेरिकाको प्रतिष्ठित संस्था पपुलेसन रिफ्रेन्स ब्युरो (पिआरबी) को दुई वर्षसम्म सदस्यको रुपमा अमेरिका, मलेसियालगायत देशमा पुगेर अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गर्ने अवसर प्राप्त भयो । बच्चा सानोे भएका कारण यस अवधिमा उनले जमाइका र इथियोपियाका लागि आएका अवसर छाडिदिइन् ।

पिआरबीले संसारभरबाट छानिने महिला पत्रकारलाई फरक फरक देशको भ्रमण गराएर त्यहाँका अवस्था, राष्ट्रिय नीतिको स्थलगत अवलोकन र विश्व गोष्ठीमा सहभागी गराउँछ । तीबाहेक उनले २०११ मा भारतमा भएको नियमित खोपसम्बन्धी दक्षीणपूर्वी एसिया सम्मेलन, श्रीलंकामा भएका पोषण प्रवद्र्धन बैठक सम्मेलनमा विश्व स्वास्थ्य संगठनबाट छानिएर नेपालका तर्फबाट सहभागीता कार्यपत्रसमेत प्रस्तुत गर्ने अवसरसमेत पाइन् ।

उनले सन् २०११ मै उत्कृष्ठ स्वास्थ्य पत्रकारिता पुरस्कार पाइन् । खानेपानी र सरफाईसँग सम्बन्धित विषयमा मध्यपश्चिम क्षेत्र डुलेर लेखेको समाचारले उनलाई सम्मान र पुरस्कार दिलायो । सन् २०१४ मा साउथ अफ्रिकामा सम्पन्न बाल र नवजात एवं मातृशिशु क्षेत्रमा लगानीसम्बन्धी सम्मेलनमा समेत भाग लिने अवसर पाइन् । पछिल्ला दिनमा उनले स्वास्थ्यसँगै शिक्षामा पनि कलम चलाउन थालेकी छिन् । शिक्षा क्षेत्रबाट पनि केही सम्मान र पुरस्कार पाइसकेकी छिन् ।

देशको प्रगतिले दिने सन्तुष्टि

नेपालको सन्दर्भमा अग्रेजी पत्रिकाका पाठक कमै हुन्छन् । अग्रेजी भाषाको पत्रिकामा काम गर्ने भएकाले यसको प्रत्यक्ष प्रभाव जनतासम्म कम देखिएला तर नेपालका प्राइम समस्या, पोलिसीका विषयहरु निर्धारणका लागि पत्रकारिताले दातृ निकाय, नीति निर्माताहरु माझ महत्वपूर्ण प्रभाव पारेको महसुस गरेको उनी बताउँछिन् ।
महत्वपूर्ण नीति निर्माणमा दातृ निकायको प्रभाव बढी हुने र त्यस्ता निकायमा काम गर्नेले नेपालको स्वास्थ्यमा आफूले गरेका कामको प्रभाव बुझ्ने र फिडब्याक लिने सन्दर्भमा उनीमाझ दि राइजिङ नेपालले गरायो ।

त्यसैले उनले आफूले गरेको कामलाई अन्तराष्ट्रिय रुपमा बुझाउने र अन्तराष्ट्रिय रुपमा सिकेका कुरालाई नेपालमा बुझाउने अवसर पाइन् । पेशामा एउटै क्षेत्र र विषयमा केन्द्रीत भइन्छ भने पत्रकारितामा विश्व, देश र समाजका विभिन्न आयामहरुलाई केलाउने अवसर पाइन्छ । उनले एउटा स्वास्थ्य पत्रकारको रुपमा संसारका केही देश घुम्ने र त्यहाँ पुगेर सिक्ने अवसर पाइन् । अमेरिका, साउथ अफ्रिका, श्रीलंका, मलेसिया, भारतजस्ता देशमा भएका ठूला सम्मेलनहरुमा नेपालको स्वस्थ्य अवस्थाबारे बताउने र विभिन्न देशका स्वास्थ्य प्रणालीसमेत बुझ्ने अवसर पाइन् ।

अन्तराष्ट्रिय फोरमहरुमा नेपालले सामाजिक क्षेत्रमा गरेको प्रगतिको निकै प्रशंसा हुन्छ । लामो शसस्त्र द्धन्द्धबाट गुज्रिएर पनि नेपालले मातृ र बाल स्वास्थ्यको क्षेत्रमा प्राप्त गरेको नतिजालाई अन्तर्राष्ट्रिय क्षेत्रले उच्च मूल्यांकन गरेको छ । स्वास्थ्य बीमा, मुटु, मिर्गौलाजस्ता रोगमा सरकारले दिएको सहुलियत, निःशुल्क औषधि र आमा सुरक्षा कार्यक्रमलाई संसारले उल्लेखनीय कदमका रुपमा लिने गरेका छन् । उनी थप्छिन्—सीमित साधन र स्रोतमा पनि देशले गरेको प्रगति महत्वपूर्ण रुपमा गनिँदा निकै खुसी लाग्छ, र आफूले पनि महत्व पाइने रहेछ ।’
अन्तर्राष्ट्रिय रुपमा स्वास्थ्यमा हामी भन्दा कमजोर देश पनि छन् । तर नेपालले बाल र मातृ मृत्यु घटाउन गरेको प्रयास भने संसारकै लागि अनुकरणीय छ । दक्षिण अफ्रिकामा भएको बाल र नवजात शिशु सुरक्षासम्बन्धी विश्व स्वास्थ्य संगठनको अन्तराष्ट्रिय सम्मेलनमा यस विषयले निकै प्रशंसा पाएको थियो । स्वास्थ्य क्षेत्रमा तथ्य र तथ्यांकका आधारमा नेपाल पुरस्कृत भए पनि विकासोन्मुख र विकासशील देशको तुलनामा ब्यवहारिक अभ्यासमा अझै पछाडि रहेको उनको बुझाइ छ ।

स्वास्थ्य र पत्रकारिता
मानिस शिक्षित नभए पनि बाँच्न सक्छ, कमाउँन सक्छ र समाजलाई योगदान गर्न सक्छ । तर बिरामी मान्छेले केही गर्न सक्दैन । देश बनाउन स्वस्थ्य पुस्ता निर्माण पहिलो शर्त भएको उनको बुझाइ छ । यद्यपी स्वास्थ्यमा लगानी बढाउनुपर्ने उनी बताउँछिन् । स्वास्थ्य चेतना बढाउन र स्वस्थ समाज निर्माणमा पत्रकारिताले ठूलो टेवा दिने उनको विश्वास छ ।

पछिल्ला दिनमा अनलाइनलाइनको बाढीले पत्रकारिताको विश्वासनीयतालाई धरासायी बनाउनसक्ने उनको बुझाइ छ । फेसबुक र ट्वीटरमा तत्काल सेयर हुने खालका हेडलाइन राख्ने, जे मन लाग्यो त्यहि लेख्ने प्रवृतिले अनलाइनहरुको विश्वासनीयता घटेको छ । स्वास्थ्य पत्रकारका लागि यसबाट जोगिनु सबैभन्दा ठूलो चुनौति भएको उनको भनाइ छ । यसबाट जोगिएर ‘टिक्ने र बिक्ने’ पत्रकारिता गर्नुपर्ने उनी बताउछिन् ।
(सापकोटा दि राइजिङ नेपाल दैनिकमा कार्यरत छन्)

प्रतिक्रिया दिनुहोस्