Logo
|
Friday 19th April 2024
Logo

epaper

एन्युरिजम फूटेका बिरामीको आयु कति ?



वरिष्ठ न्यूरो सर्जन प्रध्यापक डाक्टर मोहनराज शर्मा

वरिष्ठ न्यूरो सर्जन प्रध्यापक डाक्टर मोहनराज शर्मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विगत दुई दशकदेखि न्यूरो सर्जरीको क्षेत्रमा प्राध्यापन र न्यूरो चिकित्सा सेवा प्रदान गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । अहिले उहाँ नेप्लिज सोसाइटी अफ न्यूरो सर्जन्स (नेसोन) का नवनिर्वाचित वर्तमान अध्यक्ष पनि हुनुहुन्छ । बाग्लुङ रातामाटामा जन्म भई हाल काठमाडौं बसोबास गर्नुभएका डा. शर्मा त्रि.बि. चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरी अमेरिकाको युनिभर्सिटी अफ वासिङटनबाट न्यूरो सर्जरीको दक्षता लिनुभएको हो । सोही तालिमको क्रममा सेरेब्रोभास्कुलर सर्जरीको पनि एक्स्ट्रा तालिम लिनुभएका उहाँ नेपालमा भास्कुलर न्यूरो सर्जरीको क्षेत्रमा निकै चासो र सक्रियताका साथ लाग्नुभएको छ । डा. शर्माले हालसम्म ४ सय भन्दा धेरै एन्युरिजमको शल्यक्रिया गरिसक्नुभएको छ । उहाँले आफूले गरेका प्रत्येक एन्युरिजम शल्यक्रियाको रेकर्ड राख्नुभएको छ ।
भास्कुलर न्यूरो सर्जरीको अलावा रिसर्चमा गहिरो दख्खल भएका उहाँका ५० भन्दा बढी शोधपत्र विभिन्न जर्नलमा प्रकाशित र विश्वका न्युरो सर्जरीका चर्चित पाठ्य पुस्तकमा लेख (बुक च्याप्टर) छन् । जनस्वास्थ्य सरोकारको यस अंकमा हामीले डा. शर्माको न्युरो सर्जरीबारे विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।

यहाँको अलिकति पृष्ठभूमि बताइदिनुस् न ?
मैले गाउँको विद्यालयमा एसएलसी सम्मको अध्ययन गरेको थिएँ । आइएस्सीपछि चिकित्सा विज्ञानमा अध्ययन शुरु गरेको हो । त्यो बेला काठमाडौंको महाराजगञ्जमा त्रिभुवन विश्वविद्यालयको एउटा मेडिकल कलेज थियो । आईएस्सी अध्ययन गरेर आएका मध्येबाट १५ जना र इन्टरमिडियत इन हेल्थ अध्ययन गरेर आएकामध्ये १५ जना गरी ३० जना मात्र भर्ना लिने प्रावधान थियो । भाग्यले १५ जनामा म पनि परेँ । महाराजगञ्जमा एमबीबीएस गर्ने म आठौं ब्याचको हो । एमबीबीएस सकेपछि एक बर्ष हाउस अफिसर भएर काम गरेँ ।
सन् १९९५ मा महाराजगञ्जमा पोष्ट ग्राजुएसनका लागि भर्ना भएँ । महाराजगञ्जमा एमएस (मास्टर्स अफ सर्जरी) गर्ने म पहिलो ब्याचको बिद्यार्थी हुँ ।
सन् १९९७ मा एमएस पास गरेँ । त्यो बेला अमेरिकाका न्यूरो सर्जन डाक्टर बेगनले भर्खर त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जमा न्यूरो सर्जरी सेवा शुरु गरेका थिए । उहाँसँग मैले पनि काम शुरु गरेँ ।
त्यसपछि मस्तिष्कसँग खेल्ने चासो बढ्दै गयो । त्यो बेला न्यूरो सर्जरी गर्ने जनशक्तिको कमी थियो ।
करिब ३ वर्षजति त्रि.बि.शिक्षण अस्पतालमा डाक्टर बेगनसँग न्यूरो सर्जरी सेवा दिँदै लेक्चररका रुपमा अध्यापन पनि गर्दै गएँ । सन् २००० मा संयुक्त राज्य अमेरिकामा न्युरो सर्जरीमा फेलोसिप ट्रेनिङ गर्ने अवसर मिल्यो ।
अमेरिकामा डेड बर्षजति जनरल न्यूरो सर्जरी, एक वर्ष सेरेब्रोभास्कुलर र ६ महिना स्पाइन सर्जरीमा फेलोसिप ट्रेनिङ लिएँ । उता जानुअघि अनुभव धेरै कम भएकाले धेरै दुःख गरेर एन्युरिजम सर्जरी सिकेको थिएँ ।
त्यो बेला युनिभर्सिटी अफ वासिंगटनमा एक वर्षमा करिब ३ सय भन्दा बढी भास्कुलर शल्यक्रिया हुने गर्दथ्यो । शुरुको पहिलो वर्ष जुनियर लेबलमा काम गर्दै अन्तिममा सिनियर लेबलमा काम गर्ने अवसर प्राप्त भयो । सिनियर लेवलमा हुँदा एन्युरिजम सर्जरीको प्रशिक्षण लिने ठूलो अवसर मिल्यो ।

सन् २००३ मा अमेरिकाबाट नेपाल फर्केर आएँ । त्यो बेला एन्युरिजम सर्जरीलाई बिस्तार गर्ने ठूलो इच्छा थियो । सम्बन्धित साथीभाइसँग सल्लाह गरेँ । एनेस्थेसियोलोजिष्ट डाक्टर मोदनाथ मरहठ्ठा र उहाँको टिम एवं वरिष्ठ रेडियोलोजिष्ट प्राध्यापक डाक्टर रामकुमार घिमिरे र उहाँको टिमको साथ र सहयोगले काम अघि बढाएँ ।
शुरुको पहिलो बर्ष सन् २००४ मा ३३ वटा एन्युरिजमको शल्यक्रिया गर्न सफल भएँ । यसले हौसला बढ्यो । सन् २०१० देखि हामीले एमसिएच प्रोग्राम पनि शुरु गर्यौंं । यसबाट एन्युरिजममा जटिल समस्याको शल्यक्रिया गर्न धेरै हौसला मिल्यो ।
एन्युरिजको समस्या भएकामध्ये ३३ प्रतिशत अस्पताल नपुग्ने, ३३ प्रतिशतको सफल उपचारपछि पनि राम्रो परिणाम नआउने र राम्रो उपचार प्राप्त भएमा ३३ प्रतिशतको ठीक हुने गर्छ ।
अमेरिकाबाट निस्कने योमन्स न्युरोलोसिजकल सर्जरी र प्रिन्सिपल अफ न्युरो सर्जरी नामक किताबमा लेख छापिनुलाई मैले मेरो खुशीको अनुभूति मानेको छु ।

प्राध्यापन र प्राक्टिकलमा के फरक हुन्छ ?
एमसिएचका बिद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षाको जरुरत पर्छ । हाइजेष्ट डिग्री अफ ट्रेनिङ्गका आधारमा हामीले अध्ययन र अध्यापन गराएका हुन्छौं । एमसिएच भनेको हाइजेष्ट फर्म अफ ट्रेनिङ्ग नै हो । हामी त्यसका प्राध्यापक हौंँ । कन्सल्टेन्ट लेबल भन्दा एक तह मुनिका बिद्यार्थीले हामीसँग अध्ययन प्राप्त गर्छन् । यसमा न्यूरो शल्यक्रियामा प्राप्त गर्ने सफलता, कम्प्लिेकसन न्यूनिकरण, पोष्ट अपरेटिभ वार्डमा बिरामीको व्यवस्थापनबारे व्यवहारिक विधिबाट अध्यापन गराइन्छ ।

नेपालमा न्यूरो सर्जरीको अध्यन कहाँ कहाँ हुन्छ ?
मलाई थाहा भएसम्म बीर हस्पिटल त्रि.बि.शिक्षण अस्पताल, बाँसबारीस्थित न्युरो हस्पिटलमा एमसिएच कार्यक्रमको अध्ययन अध्यापन हुने गरेको छ । विगतमा चितवन कलेज अफ मेडिकल साइन्सेसमा अध्यापन हुने एमसिएच कार्यक्रम अहिले बन्द छ ।

एन्युरिम के हो ? यसको उत्कृष्ठ सर्जरी सेवा कसरी दिन सकिन्छ ?
मस्तिष्कको रगतको नलीमा कुनै कारणवश झिल्ली कमजोर भएर फोका पर्छ । यस प्रकारको फोकालाई एन्युरिजम भनिन्छ ।
अरु ठाउँको तुलनामा फोका परेको ठाउँ कमजोर हुन्छ र खोक्दा वा त्यत्तिकै बसेको बेला पनि फुट्नसक्छ । के कारणले फोका फुट्छ भन्ने कुरा चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

एन्युरिजम धेरैजसोमा नफुटेसम्म कुनै समस्या हुँदैन । यो बढ्दै गएमा फुट्ने सम्भावना बढ्छ । सानो अवस्थामा फुट्ने सम्भावना कम हुन्छ ।

एन्युरिजमकै समस्या हो भन्ने पहिचान कसरी गर्न सकिन्छ ?
एन्युरिजम नफुटेसम्म पहिचान गर्न गारो हुन्छ । तर कसैकसैलाइ टाउको दुखेर एमआरआई गर्दा टाउकोमा एन्युरिजमको समस्या देखिनसक्छ । कहिलेकाँही आँखा टालिने भएर पनि शंका गरिन्छ ।

एन्युरिजमको समस्या मस्तिष्कको कुन भागमा धेरै हुन्छ ?
एन्युरिजमको समस्या मस्तिष्कको अगाडि र साइडको भागमा ९५ प्रतिशत हुने गर्छ । पछाडिको भागमा ५ प्रतिशत मात्र हुनसक्छ ।

यसबाट हुने मृत्युदरको अवस्था कस्तो छ ?
एन्यूरिजमका बिरामीमध्ये ३३ प्रतिशतको घरमा मृत्यु हुन्छ । अस्पताल पुगेपछि उपचारका क्रममा कम्प्लिकेसनबाट ३३ प्रतिशतको मृत्यु हुन्छ भने ३३ मात्र प्रतिशतलाई बचाउन सकिन्छ । प्रायजसो एउटामात्र एन्यूरिजम फुट्ने गर्छ । एक भन्दा बढी अर्थात मल्टिपल एन्यूरिजम ८ देखि १० प्रतिशतमा हुनसक्छ । एउटा एन्यूरिजम फूटेपछि बाँकी रहेका एन्यूरिजम फूट्ने सम्भावना धेरै हुन्छ । एन्जिओग्रामले फूटेको एन्यूरिजम पत्ता लगाउन मद्धत गर्छ । तर राम्रो कण्डिसनमा आएका बिरामीलाई भने समयमा उपचार भएमा ९५ प्रतिशत भन्दा राम्रो प्रतिफल प्राप्त हुन्छ ।

एन्युरिजम फूटेका बिरामीको बाँच्ने आयु कति हुन्छ ?

प्रविधिको राम्रो सुविधा भएका सेन्टरमा दक्ष जनशक्तिबाट एन्यूरिजमको शल्यक्रिया गर्न जरुरी हुन्छ । मस्तिष्कमा थोरै मात्र ब्लिडिङ भएर टाउको मात्र दुखेको र बिरामी बेहोस नभएको अवस्थामा इन्डोभास्कुलर कवाइलिङ वा क्लिपिङ गरेर ९५ प्रतिशत बिरामी जोगाउन सकिन्छ । विदेशी चिकित्सकहरु आएर कहिलेकाँही इन्डोभास्कुलर क्वाइलिङ गरेको भएपनि देशमा यसले व्यापकता पाउन सकेको छैन ।
सन् १९९१ मा विश्वमा पहिलोपटक इन्डोभास्कुलर क्वाइलिङ सेवा शुरु भएको हो । सन् २००३ मा बेलायतको ल्यानसेट पत्रिकामा क्लिपिङको तुलनामा इन्डोभास्कुलर क्वाइलिङ सेवा राम्रो भएको लेख प्रकाशित भएपछि क्वाइलिङप्रति धेरैको आकर्षण बढेको थियो । पछि २०१०– २०११ मा आइपुग्दा क्लिपिङ र क्वाइलिङ दुवैबाट प्रतिफल लगभग उस्तै आउने प्रमाणित भयो । तर यो धेरै खर्चालु देखियो । एन्युरिजमको क्लिपिङ गर्न ३ लाख जति खर्च हुन्छ भने क्वाइलिङ गर्दा ८ देखि ९ लाख रुपैयाँसम्म खर्च हुन्छ ।

संसारमा अहिले ५० प्रतिशत क्लिपिङ र ५० प्रतिशत क्वाइलिङ हुने गर्छ । कुनै कुनै एन्युरिजम क्वाइलिङ गर्दा राम्रो मानिन्छ भने कुनैमा क्लिपिङ । मस्तिष्कको पछाडि पटीको एन्युरिजममा क्वाइलिङ गर्दा राम्रो मानिन्छ भने अगाडिपट्टीको एन्युरिजममा क्लिपिङ राम्रो मानिन्छ ।

अनुभवी भास्कुलर न्यूरो सर्जन भनेको के हो ?
अनुभवी भास्कुलर न्युरो सर्जनको पनि परिभाषा आइसकेको छ । यसका लागि १० वर्ष भन्दा बढी अनुभव, ३ सय भन्दा बढी एन्युरिजम क्लिप गरेको, एक वर्षमा करिब २० वटा भन्दा बढी एन्युरिजम क्लिप गरिरहेको व्यक्ति मात्र अनुभवी भास्कुलर न्युरो सर्जन हुन्छ । अनुभवी भास्कुलर सर्जनले गरेको शल्यक्रियामा कम्लिकेसन दर धेरै कम हुन्छ ।

चुनौति के के छन् ?
एन्युरिजमको शल्यक्रिया खर्चालु भएकाले यसलाई स्ट्रोक अन्तर्गत राखेर राहत उपलब्ध गराउन सरकारलाई गरेको आग्रह स्वास्थ्य मन्त्रालयमा पेन्डिङमा छ ।

कतिपय बिरामी बाँचेर पनि केही गर्न नसक्ने अवस्थामा हुन्छन् । त्यसैले सरकारले एन्युरिजम उपचारमा राहत दिनुपर्छ ।

एन्युरिजजमका बिरामी ढिला अस्पताल पुगेमा उपचार लाग्ने सम्भावना निकै कम हुन्छ । बिरामी कोमामा पुगिसकेपछि उपचारको अर्थ हुँदैन । त्यसैले यस प्रकारका बिरामीलाई जति सक्दो चाँडो अस्पताल पु¥याउन हेली रेस्क्यु लगायतका एम्बुलेन्स सेवा पर्याप्त उपलब्ध गराउनुपर्छ । सरकारले न्युरो सर्जिकल सेवालाई विकेन्द्रिकरण गर्नुपर्छ । उपकरण, अपरेसन थिएटर, आइसियू, एन्जियोग्राम आदिको सुविधा पर्याप्त उपलब्ध गराइनुपर्छ । क्षेत्रगत रुपमा यस किसिमको सेवा पु¥याउन सकेमा दुर्गम क्षेत्रका सम्बन्धित धेरै बिरामीले राहत प्राप्त गर्न सक्छन् ।

रोकथामका लागि जनचेतना कार्यक्रमलाई ब्यापक गर्नुपर्छ । हरेक व्यक्ति जीवनशैलीप्रति सचेत रहनुपर्छ । ब्यायाम गर्ने, चुरोट नखाने, धेरै रक्सी सेवन नगर्ने, उच्च कोलेस्टेरोल नियन्त्रण गर्ने, उच्च रक्तचाप नियन्त्रणमा राख्न सकेमा सम्भावित खतरा न्यूनिकरण गर्न सकिन्छ ।

हाल मुलुकमा ६५ न्यूरोसर्जन छन् । यसमध्ये एन्युरिजमको शल्यक्रिया गर्ने संख्या थोरै छ ।

प्रतिक्रिया दिनुहोस्