Logo
|
Friday 29th March 2024
Logo

epaper

के तपाईका बालबालिकाको मिर्गौला ठिक छ ?



सुरक्षा सुवेदी

नेपालमा धेरै बालबालिकाहरुलाई मिर्गौला रोगले प्रभावित बनाएको छ । नेपालको कूल जनसंख्याको करिव ४५ प्रतिशत जनसंख्या बालबालिका रहेका छन् । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपु¥याउँदा धेरै बालबालिकाहरुको अल्पायुमै ज्यान गुमेको छ भने कति जना कालान्तरसम्म यस रोगको समस्या लिएर बसिरहेका छन् ।

नेपालमा कति बालबालिकाहरु मिर्गौला रोगबाट समस्याग्रस्त छन् भन्ने यकिन तथ्यांक त छैन तर नेपालको शिक्षण अस्पतालमा भर्ना भएका बालबालिकाहरुमाथि एक बर्षसम्म गरिएको एक अध्ययनले करिब ६.९८ प्रतिशत बालबच्चाहरुमा कुनै न कुनै प्रकारको मिर्गौला रोग लागेको भेटिएको थियो ।
बालबालिकामा मिर्गौला रोग लाग्ने विभिन्न कारणहरु हुन्छन् । कोही जन्मजात मिर्गौलामा समस्या लिएर आएका हुन्छन् । बच्चाहरुको मिर्गौला कति स्वस्थ हुन्छ भन्ने निर्णय आमाको गर्भमा हुँदादेखि नै शुरु हुन्छ । आमाले कतिको पोषिलो खानेकुरा खाएको र गर्भावस्थामा गरिएको क्रियाकलापबाट नै गर्भमा रहेको शिशुको मिर्गौलाको भविष्य निर्माण हुन्छ ।
गर्भावस्थामा आमाले धुम्रपान गर्नुहुँदैन । आमालाई उच्च रक्तचाप तथा मधुमेह छ भने त्यसलाई सन्तुलनमा राख्नुपर्छ । आइरन र फोलीक एसिड बाहेक जथाभावी औषधिको सेवन गर्नुपरेमा चिकित्सकको परामर्शले मात्र गर्नुपर्छ ।
बच्चाको मिर्गाैला बिगार्ने मुख्य कारण पिसाब बन्द भइराख्नु तथा पिसाब फेर्दा समस्या हुनु हो । यदि बालबालिकाहरुलाई पिसाबको समस्या आइरहेमा मिर्गौलाको समस्याको संकेत हो । पिसाबमा संक्रमणका कारण समस्या आइरहेमा तुरन्त चिकित्सकको परामर्श लिई उपचार गराइहाल्नुपर्छ ।
कति बाबु आमाले बालबच्चाको पिसाव संक्रमण हुँदा त्यति ध्यान नदिएका कारण पछि गएर मिर्गौला फेल भएका उदाहरणहरु छन् । चिकित्सकले पिसाब संक्रमण ठिक गर्न दिएका औषधिहरु नियमित नखुवाउने गरेको तर पिसाब पोल्यो भन्थ्यो पछि ठिक भयो, त्यसैले मैले त छोरालाई पूरा डोज खुवाइन भन्ने सुन्निछ । यस्तै बालबालिकालाई पछि गएर एक्कासी मिर्गौलाले काम गर्दैन । त्यत्तिखेर पछुताउनु भन्दा अरु कुनै उपाय बाँकी हुँदैन ।
आगोले जलेमा, जलवियोजन हुँदा, निरन्तर रगत बगेमा तथा चोटपटकले बालबालिकाको रक्तचाप कम भई मिर्गौलामा रगत प्रवाह कम हुँदा पनि अल्पकालीन रुपमा मिर्गौला विग्रन सक्छ ।
मिर्गौला रोगलाई सुसुप्त हत्यारा भनिन्छ । यो रोगको कुनै लक्षण हुँदैन । मिर्गौलाको करिब ८० प्रतिशत काम नगर्दा पनि लक्षण थाहा हुँदैन । जव लक्षण थाहा भएर चिकित्सक कहाँ पुगिन्छ त्यतिखेर धेरै ढिला भइसकेको हुन्छ र बाँच्ने उपाए भनेको मिर्गौला प्रत्यारोपण गर्नु वा आजीवन डायलाइसिसमा बस्नु मात्र हो । जुन एकदमै खर्चिलो र झन्झटिलो हुन्छ ।

बालबालिकामा पटक पटक पिसाबमा संक्रमण भइरह्यो भने यसमा बाबुआमा गम्भीर हुन जरुरी छ । सामान्य औषधिले उपचार गरेर केही समयका लागि निको भए पनि यो समस्या किन आइरहेको छ भन्न थप उपचारको जरुरी हुन्छ । यस्ता समस्यालाई चुप लागेर बस्यौँ भने पछि गएर मिर्गौलामा गम्भीर असर परी मिर्गौला नै खराब हुनसक्छ ।

बालबालिकाले कहिलेकाँही पिसाब फेर्दा रगत गयो भने सो किन भयो वा सामान्य संक्रमणबाट भएको हो वा अन्य के कारणले त्यसबारे थाहा पाउन चिकित्सकको परामर्श लिइ हाल्नुपर्छ । पिसाब वा रगत जाँचेर, भिडीयो एक्सरे वा परेमा मिर्गौलाबाट सानु मासुको टुक्रा निकालेर बायोप्सी जाँच गरेर पनि मिर्गौला रोगको अवस्थाबारे थाहा हुन्छ ।

बालबच्चामा देखिने अर्को समस्या भनेको नेफ्रोटिक सिन्ड्रोम हो । यो भनेको बालबालिकाको पिसाबबाट प्रोटिन जाने समस्या हो । यो समस्या वंशाणुगत हुने सम्भावन धेरै हुन्छ । यसरी प्रोटिन गइरह्यो भने भित्र भित्रै मिर्गौलालाई बिगार्ने हुँदा यसमा सचेत हुन जरुरी छ ।

कतिपय बालबालिकाको जन्मदै एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन् । यसो भएमा अत्तिनु हुँदैन । दुइवटै मिर्गौला भएको बच्चा जस्तै उसले जीवनयापन गर्न सक्छ । त्यस्ता बच्चालाई उचित परामर्श दिनुपर्छ । नभए त्यस्ता बच्चालाई मानसिक समस्या पनि हुनसक्छ ।
कसैको जन्मजात नै मिर्गौला ठीक स्थानमा नभई अन्य स्थानमा हुने, नली सुन्निने, मिर्गौलामा पानीका फोकाहरु (सिस्ट) हुने, पिसाब थैलीमा समस्या हुने तथा जन्मेको केहि समयपछि पत्थरी हुन सक्छ । तर आमाबाबुहरु यसो हुँदैमा अत्तिनु पर्दैन । समयमै उपचार गरे यी समस्याबाट मुक्ति पाइन्छ ।

बालबालिकाको मिर्गौला जोगाउन स्वस्थ खाना खुवाउने बानी बसाल्नुपर्छ । फोहोरका कारण पनि पिसाबमा संक्रमण हुन सक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।
नियमित पानी पिउने बानी सिकाउनुपर्छ । लामो समयसम्म पिसाब रोकेर राख्नुहुँदैन । साथै बच्चाले ९–१० बर्ष सम्म पनि ओछ्यानमा पिसाब फेरिरहन्छ भने पनि चिकित्सकको परामर्श लिनुपर्छ । नियमित रुपमा बर्षको एक पटक मिर्गौलाको सामान्य जाँच गराउनुपर्छ । नियमित शारीरिक व्यायाम तथा पोषिलो खानेकुरा खुवाउनुपर्छ जसले गर्दा उनीहरुमा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ ।

आमाबाबुको सामान्य गल्ती तथा हेलचेक्र्याइले भविष्यका कर्णधार बालबालिकाको मिर्गौलाले काम नै गर्न नसक्ने अवस्थासम्म पुग्नसक्छ । मिर्गौला प्रत्यारोपण वा डायलाइसिस जस्तो जटिल अवस्थासम्म पुगी करोडौं धनरासी खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने हुँदा हामी सबै पहिलेदेखि नै सचेत हुन जरुरी छ ।
(लेखकले बाल स्वास्थ्य नर्सिङ्गमा स्नातकोत्तर गरी मिर्गौला सम्बन्धी एड्भान्स डायलाइसिस नर्सिङ्ग कोर्ष गर्नुभएको छ )

प्रतिक्रिया दिनुहोस्