Logo
|
Friday 29th March 2024
Logo

epaper

मस्तिष्क ट्यूमर भएकाको आयु कति ?



मस्तिष्कभित्र रहेका टिस्यूहरु धेरै बल्किएर बढ्न थालेपछि ब्रेन ट्यूमरको समस्या हुने गर्छ । मस्तिष्क ट्यूमर वंशाणुगत कारणले हुने अध्ययनहरुले देखाएका छन् । । ट्यूमरका कारण मस्तिष्कमा प्रेसर बढेको अवस्थामा व्यक्तिको ज्यानसमेत जान सक्छ । शल्यक्रियाबाट धेरैजसो मस्तिष्क ट्यूमरको उपचार गरिन्छ । कतिपयमा औषधिको प्रयोग हुन्छ ।

मस्तिष्क ट्यूमरलाई ४ ग्रेडमा विभाजन गरिएको छ । पहिलो ग्रेडको ट्यूमर शल्यक्रिया गरेपछि पूर्ण निको हुन्छ । दोस्रो ग्रेडको ट्यूमर शल्यक्रिया गरेपनि पुन पलाउने संभावना हुन्छ । यस्ता बिरामीलाई अब्जर्भेसनमा राखिन्छ । यसप्रकारको ट्यूमरमा रेडियोथेरापीको पनि आवश्यकता पर्न सक्छ । तेस्रो र चौथो ग्रेडको ट्यूमर पूर्ण रुपमा क्यान्सर भइसकेको हुन्छ । यस्ता ट्यूमरले बिरामीको ज्यान लिने गर्छ । तेस्रो ग्रेडको मस्तिष्क ट्यूमर भएका व्यक्तिको आयु ४—५ वर्ष भन्दा बढी हुँदैन । चौथो ग्रेडको ट्यूमर भएका व्यक्तिको एक वर्षमा ज्यान जानसक्छ ।
कसलाई कस्तो मस्तिष्क ट्यूमर ?
मस्तिष्क ट्यूमर जुनसुकै उमेरका व्यक्तिलाई हुनसक्छ । मस्तिष्कको झिल्ली मेनिन्जजबाट पलाएको ट्यूमरलाई मेनिन्जोमा भनिन्छ । यो ट्यूमर प्रायः युवावस्थाका व्यक्तिमा हुने गर्छ । मस्ष्तिकको पछाडिको सेरिबेलोमबाट पलाएको ट्यूमरलाई मेडिलोबास्टोमा भनिन्छ । यो प्रायः बच्चाहरुलाई हुने गर्छ । बूढाबूढीहरुमा शरीरका अन्य भागबाट सर्दै आएको ट्यूमर बढी हुन्छ । यसलाई मेटास्टेसिस ट्यूमर भनिन्छ । जस्तो—बूढाबूढी उमेरमा फोक्सो, कोलोन आदिको क्यान्सर सरेर मस्तिष्कसम्म पुगेको हुन्छ ।

फरक लक्षण
मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोब) ले बानी व्यवहारलाई नियन्त्रण गर्ने भएकाले यस ठाउँमा ट्यूमर भएमा बानी व्यवहारमा समस्या आउँछ । बिरामीले उल्टा सिधा कुरा गर्न थाल्छ । पछाडिको भाग (अक्सिपेटल लोब) मा रहेको ट्यूमरले दृष्टिमा समस्या ल्याउनसक्छ । साइडको भाग (टेपोरल लोब) को ट्यूमरले छारे रोग, कमजोर स्मरणशक्ति, चाँडै कुरा बिर्सर्ने जस्ता लक्षण देखिन्छ । असाध्यै टाउको दुःख्ने, औषधिको सेवन गरे पनि टाउको दुख्न नछाड्ने, बान्ता हुने, हातगोडा लुलो र लाटो हुने, मुख बाङ्गिने, बिर्सने जस्ता समस्या मस्तिष्क ट्यूमरका लक्षण हुन् ।

पहिचान/उपचार
मस्तिष्क ट्यूमर पहिचान गर्न एमआरआई र सिटी स्क्यान गर्नुपर्छ । मस्तिष्क ट्यूमरको बायोप्सी गरेपछि मात्र ट्यूमरको प्रकारको निक्र्यौल हुन्छ । मस्तिष्क ट्यूमरमा शल्यक्रिया जरुरी हुन्छ । पहिलो ग्रेडका ट्यूमर वा जोखिम ठाउँमा रहेका ब्रेन ट्यूमरको अब्जर्भेसनमा राखेर उपचार गर्नुपर्छ । प्रोल्याक्टिनोमा ट्यूमरलाई हर्मोन दिएर नियन्त्रण गर्न सकिन्छ । प्रोल्याक्टिन हर्मोनले महिलाहरुमा दूध बनाउने, बच्चा जन्माउन सजिलो गराउने काम गर्छ । यसको भूमिका पुरुषहरुमा पनि हुन्छ । यो हर्मोन बढी भएमा पुरुषहरुमा स्तन ठूलो हुन्छ भने महिलाहरुमा महिनावारी रोकिने, निःसन्तानको समस्या आदि देखिन्छ । समयमा रोग पहिचान भएमा उपचार प्रभावकारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्