Logo
|
Thursday 25th April 2024
Logo

epaper

सेती अञ्चल अस्पतालमा पानी हाहाकार



धनगढी : गर्मी मौसम सुरु भएसँगै कैलालीको सेती अञ्चल अस्पतालमा पानी अभाव हुन थालेको छ। यसले बिरामी र कुरुवा मारमा परेका छन्। ६ वर्षअघि झन्डै ६५ लाख रुपैयाँ लगानीमा बनाइएको खानेपानी आयोजना सुक्न थालेपछि पानी अभाव हुन थालेको हो। गत वर्ष पनि पानी सुकेकाले अस्पतालको सेवा प्रवाह प्रभावित भएको थियो।

‘शौचालयमा पानी नभएपछि बिहान घरमा शौच गरेर फेरि अस्पताल आएँ’, सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा भर्ना भएकी बिरामी धनगढीकै सजन पुरीले भनिन्, ‘शौचालय पानी नभएरै दिसाले भरिएका छन्।’ शौच लागेको व्यक्तिले पानी खोल्नुअघि नै शौच गरिहाल्ने भएपछि अस्पतालको शौचालय दुर्गन्धित भएको उनको भनाइ छ।

कञ्चनपुरको झलारीबाट अस्पताल भर्ना भएका दीपक जोशीले पनि पानी नभएकाले हैरान भएको बताए। ‘हातमुख धुने स्थानमा पानी छैन, अस्पतालका कर्मचारीहरूलाई भन्यो भने हामी पनि हात नधोएरै बसेका छौं भन्छन्’, उनले भने। पानी नभएका कारण आफूले बाहिरबाट पानी मगाएर शौच गरेको उनको भनाइ छ। ‘अस्पतालको शौचालयमा पानी छैन अनि बाहिर जान सकिँदैन, अस्पतालको शौचालयमै बाहिरबाट पानी मगाएँ’, बिरामी जोशीले भने।

अस्पतालमा पानी अभाव भएपछि मिर्गौलाका बिरामी पनि प्रभावित भएका छन्। डायलासिस सेवाका लागि धेरै पानी आवश्यक हुने भएकाले समस्या परेको छ। ‘अस्पताल परिसरमा नयाँ भवन बनिरहेको छ, त्यहाँ डोजरले पानीको पाइप काटेकाले केही दिन समस्या भएको हो’, नर्सिड इन्चार्ज यशोदा ढकालले भनिन्।

गत वर्ष पनि पानी सुकेकाले अस्पतालको सेवा प्रवाह प्रभावित भएको थियो।

सेती अञ्चल अस्पतालले २०६८ सालमा अस्पताल परिसरभित्रै ट्युबवेल गाडेर समरसेल पम्प जडान गरी एक लाख लिटरको ओभरहेड ट्यांकी पनि बनाएको छ। उक्त ट्यांकीको पानी अस्पतालका लागि बढीमा दुई दिन चल्छ। उच्च कोटी ड्रिलिङ सेवाले २२ लाख रुपैयाँ लागतमा उक्त ट्युबवेल खनेको हो भने मोहन्याल निर्माण सेवाले ३८ लाखको लागतमा ओभरहेड ट्यांकी बनाएको छ। ‘ट्युबवेलको पानी जमिनमुनिको ट्यांकीमा भर्ने र त्यसपछि ओेभरहेडमा पठाउने गरिएकोमा गत वर्षदेखि पानीको सतह सुक्न थालेपछि समस्या आएको छ’, सेती अञ्चल अस्पतालका निमित्त मेसु डा.शेरबहादुर कमरले भने।

सेती अञ्चल अस्पतालको सरकारी स्वीकृति ५० शड्ढयाको मात्र हो। तर बिरामीका चापका कारण अस्पताल व्यवस्थापन समितिले अहिले अस्पताललाई २ सय ५० शड्ढयामा चलाएको छ। त्यसमा पनि बिरामीको अझ धेरै चाप छ। ‘अढाइ सय बिरामी, त्यसको दोब्बर उनका कुरुवा, भेटघाट गर्न आउने आफन्त, दुई सय जना कर्मचारी र क्वार्टर अनि डायलासिस, शौचालय, जहाँ पनि पानी नै आवश्यक पर्छ, गतवर्षदेखि समस्या भइरहेको छ’, निमित्त मेसु डा.कमरले भने, ‘अस्पतालको बजटले नयाँ योजना बनाउन सम्भव छैन, मन्त्रालयले पानी आपूर्तिका लागि ठूलो योजना दिनुपर्छ।’

गत वर्ष गर्मीयाममा बोरिङ सुकेपछि अस्पतालले तीन चारवटा हाते पम्प गाडेर पानीको गर्जो टारेको थियो। तर ती पम्पहरूमबाट पनि पानी आउन छाडेपछि समस्या भइरहेको छ।

सेती अञ्चल अस्पताल प्रदेश ७ कै ठूलो अस्पताल भएकाले महाकाली अञ्चल अस्पताल अस्पतालसहितका ७ पहाडी जिल्लाका बिरामी पनि यहाँ आउने गरेका छन्।अन्नपूर्ण पोष्ट दैनिक

प्रतिक्रिया दिनुहोस्