जलवायु परिवर्तनबाट जनस्वास्थ्यमा बढ्दो प्रभाव

कल्पना पौडेल || प्रकाशित मिति :2018-03-30 04:14:16

पानी पर्ने समयमा पानी पर्दैन तर जाडो सुरु हुनै लाग्दा अतिवृष्टीले जनधनको ठूलो क्षति पु¥याउँछ किन होला ?
पानीका मुहान सुकिरहेका छन्, कृषि उत्पादन घटिरहेको छ, नयाँ रोग पत्ता लागिरहेका छन्, चिया गफ देखि ठूला बैठकहरुमा पनि बहसका यी विषय उठ्न थालेका छन् ।

जलवायु परिवर्तनबाट जनस्वास्थ्यमा बढ्दो प्रभाव र यसको सामना गर्न भावी रणनीति बनाउन अब ढिलो गर्न हुदैँन भनेरै नेपालमा पनि यसको बहस सुरु भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री पद्यमाकुमारी अर्याल विकसित देशहरुका कारण बढीरहेको जलवायु परिवर्तनका कारण विकासोन्मुख देशले गम्भीर खालका जनस्वास्थ्य समस्या भोग्नु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘‘ पछिल्लो समय हैजा, ज्वरो, झाडापखालाजस्ता महामारी बढीरहेका छन्, कतै न कतै यो जलवायु परिवर्तनका कारण हुने गरेका छन्, यस्ता समस्या र चुनौति सामना गर्न विश्वस्तरमै प्रभावकारी कदम चालिनुपर्छ ।’’

केही वर्ष यता तराईमा देखिदैँ आएका मलेरिया, डेँगुजस्ता रोग पहाडी भेगमा पनि देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण पहाडको तापमान बढ्न थालेको विज्ञको भनाई छ ।

स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठले सन् २०१० को जलवायु परिवर्तन र यसको जोखिम सम्वन्धी अध्ययनले नेपाललाई विश्वमा चौथो जोखिम राष्ट्रको सूचिमा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जलवायु परिवर्तनले असर पार्ने प्रमुख क्षेत्रमध्ये स्वास्थ्य पनि हो, यसको नकारात्मक असर न्यूनिकरणका लागी स्वास्थ्य क्षेत्रमा प्रभावकारी रणनीतिको खाँचो छ, यसका लागि जलवायु समानुकुलन स्वास्थ्य प्रणालीको विकास गर्नु अपरिहार्य छ ।’’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा मेघनाथ धिमालले जलवायु परिवर्तनले संक्रणात्मक रोगहरुमा वृद्धि भइरहेको बताउनुभयो ।

नेपाल अनुसन्धान परिषद्का अनुसार नेपालमा जलवायु परिवर्तनबाट विशेषगरी संवेदनशील रोगहरु जस्तै किटजन्य र झाडापखला महामारीको रुपमा देखिन थालिएको छ । जलवायु परिवर्तनका कारण मानसिक तनावलाई पनि बढाएको छ, डा धिमालले भन्नुभयो,‘‘ उच्च भेगको तापमान बढ्दै गएकाले रोगको प्रकोप पनि बढेको पाइएको छ ।’’ उहाँले १ डिग्री सेल्सियस तापमान बढे ३ प्रतिशतले झाडापखालाका रोगी बढ्ने एउटा अध्ययनले देखाएको बताउनुभयो ।

जलवायु परिवर्तनका कारण नेपालमा कीटजन्य रोग कालाज्वर, जापानी इन्सेफ्लाइटिस, डेङ्गु, चिकनगुनिया, वेस्ट नाइल भाइरस, हात्तीपाइले तथा स्क्रब टाइफस, जिका भाइरस, प्लेग, टाइफाइड, हैजा र आउँ रोगको जोखिम बढेको देखिएको छ ।

यी रोगमध्ये धेरै रोग एडिस नामक लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ । त्यस्तै भुसुना, लामखुट्टे र मुसाबाट सर्ने घातक रोगको नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम भने आउन सकेको छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको सहयोगमा आजदेखि ‘जलवायु परिवर्तन र स्वास्थ्य’ विषयक दुईदिने राष्ट्रिय भेला आयोजना गरी जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावबारे छलफल सुरु गरेको छ ।

परिषद्का अध्यक्ष प्रा डा अन्जनीकुमार झाले जलवायु परिवर्तन र स्वास्थ्यमा भएका अनुसन्धानका खोजबारे चर्चा, नेपालमा जलवायु परिवर्तन र स्वास्थ्य अनूकुलन भएका राम्रा प्रयासहरुको जानकारी तथा जलवायु समानुकुलन स्वास्थ्य प्रणाली विकसीत गर्न भविष्यमा अनुसन्धान र कार्यक्रमहरु सिफारिस गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभयो ।

नेपालमा जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असरका बारेमा पहिलो पटक सन् २००७ मा परिषद्ले राष्ट्रिय भेला आयोजना गरेको थियो ।

अध्यक्ष झाले भेलामा नेपालमा जलवायु परिवर्तनको पृष्ठभूमि, जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव, जलवायु समानुकुलन स्वास्थ्य प्रणाली पृष्ठभूमि, जलवायू परिवर्तनको असरले गर्दा हुने झाडा पखलाको देशव्यापी र क्षेत्रीय तहमा भएको अध्ययन, वातावरण तथा जलवायु परिवर्तनले हुने स्वास्थ्य असरबारे लैङ्गिक दृष्टिकोण, नेपालमा जलवायु परिवर्तनका लागि स्वास्थ्य क्षेत्रको प्रतिक्रिया र नेपालमा जलवायू परिवर्तन तथा आर्थिक नीतिलगायत शीर्षकमा छलफल हुने जानकारी दिनुभयो ।

नेपालले तत्कालीन र अत्यन्त जरुरी अनुकुलन आवश्यकता सम्बोधन गर्न राष्ट्रिय अनुकुलनयोजना कार्यक्रम २०६७, नेपालको मध्यम र दीर्घ अवधिको अनुकुलन आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय अनुकुलन योजना, जलवायु परिवर्तनबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न नेपाल राष्ट्रिय स्वास्थ्य अनुकुलन योजना, जलवायु परिवर्तनस्वास्थ्य अनुकुलन रणनीति तथा कार्य योजना (२०७२–२०७७) बनाई यस विषयमा काम गरिरहेको छ । रासस

    Comment Here!