Logo
|
Saturday 20th April 2024
Logo

epaper

वरदान जस्तै भयो विपन्नलाई स्वास्थ्य बिमा



 भिरबाट लडेर खुट्टा भाँचिएका भेरी नगरपालिका–३, जाजरकोटका ३५ वर्षीय वीरबहादुर नेपाली पैसाको जोहो गर्नतिर नलागी हतारहतार अस्पताल पुगे । दुई सातादेखि रुकुम (पश्चिम)स्थित चौरजहारी अस्पतालमा खुट्टासँगै बाथ रोगको उपचार गरिरहेका उनले भने, ‘डाक्टरसाबले पैसाको चिन्ता नगर्नु, राम्रोसँग उपचार गरेर मात्रै घर फर्किनु भनेका छन् ।’
पैसा नहुँदा केही वर्षदेखि अस्पताल नगएका नेपालीले यसपटक भने बाथरोगको उपचारमा २५ हजार लागेको बताए । ‘मैले एक रुपैयाँ पनि तिरेको छैन,’ उनले भने । स्वास्थ्य बिमा गराएका नेपालीले अझै २५ हजार बराबरको निःशुल्क उपचार गराउन पाउनेछन् ।

मानसिक समस्याको उपचार गर्न चौरजहारी अस्पताल पुगेकी कुशे गाउँपालिका, जाजरकोटकी ३८ वर्षीया नन्दी चनारा चिन्तामा थिइन् । कुरुवा बसेका आफन्तसँग पनि उपचार खर्चकै कुरा गरिरहेको सुनेपछि स्वास्थ्यकर्मीले ‘पैसाको चिन्ता नगर्नुस्, लाग्दैन’ भनेर सम्झाउनुपर्‍यो । उपचारमा तीन हजार लागे पनि एक रुपैयाँ नतिरी फर्किएकी उनले भनिन्, ‘सात दिन अस्पतालमा बसाले, औषधिमूलो गरिदिए, एक पैसा पनि लिएनन् ।’

स्वास्थ्य बिमा गराएका उनीहरूले निःशुल्क उपचार पाएका हुन् । जसमा दुई हजार पाँचसय रुपैयाँ मात्रै तिरेका थिए । त्यतिवेला विश्वास नलागेको भए पनि अहिले उपचार गराउँदा राम्रो रहेछ भन्ने थाहा भएको नेपालीले बताए । ‘यो त गरिबका लागि वरदानै रहेछ । ज्यान पनि बच्यो, ऋण पनि लागेन,’ उनले भने ।

ऋणको डर छैन
‘स्वास्थ्य बिमा भर्नुस् । वर्षमा ५० हजारसम्मको उपचार सेवा पाइन्छ भन्थे, खासै विश्वास लागेको थिएन,’ चनाराको पनि उस्तै अड्कल थियो । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि फाइदाजनक भएको उनको अनुभव छ । ‘बिमाले सजिलो भयो, नत्र ऋणमा डुब्ने थियौँ,’ उनले भनिन् ।
स्वास्थ्य बिमाले आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई उपचार गर्न सजिलो भएको चौरजहारी अस्पतालका डा. कालेब बुढाको भनाइ छ । उपचार गर्न आउने अधिकांश बिरामी सित्तैमा उपचार गरेर फर्किंदा खुसी हुने गरेको उनले बताए । ‘विपन्न वर्गका बिरामी आउँछन्, पैसा हुँदैन । उपचार गर्न समस्या हुन्थ्यो,’ डा. बुढाले भने, ‘अहिले उपचार गर्न बिरामीका परिवारले ऋण बोक्नु परेको छैन ।’

सात महिनामा एक हजार दुई सयको उपचार
स्वास्थ्य बिमा प्रभावकारी पनि भएको छ । चौरजहारी अस्पतालमा मात्रै स्वास्थ्य बिमा गराएको सात महिनामा एक हजार दुई सय एकजनाले उपचार गरेका छन् । १५ बिरामीको शल्यक्रिया नै गरिएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । उपचार गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ ।
जाजरकोटका बिमितले पनि चौरजहारी अस्पताललाई नै पहिलो रोजाइमा राखेका छन् । १ भदौदेखि बिमितहरूले स्वास्थ्य सेवा लिन थालेका हुन् ।

यो अवधिमा एक हजार दुई सय एक बिमितको उपचारमा १५ लाख खर्च भएको अस्पतालले जनाएको छ । प्रशासक गिरीका अनुसार, एउटा बिमितमा बढीमा ३० हजारसम्म उपचार खर्च भएको छ । एउटा बिमितको वर्षमा ५० हजारसम्म निःशुल्क उपचार हुन्छ ।

बोर्डको ढिलाइले समस्या
चौरजहारी अस्पतालले बिमितको उपचारका लागि खर्च गरेको सबै रकम पाएको छैन । सात महिनाको अवधिमा १५ लाखमध्ये दुई लाख मात्रै भुक्तानी पाएको छ । स्वास्थ्य बिमा बोर्डले समयमा भुक्तानी नगर्दा समस्या हुने गरेको प्रशासक गिरीले बताए । ‘हामीले खुरुखुरु उपचार गरिरहेका छौँ, तर बोर्डले समयमा भुक्तानी गर्दैन,’ उनले भने ।

बोर्डको ढिलाइले औषधि खरिद गर्न र अरू व्यवस्थापकीय काम गर्न समस्या हुने गरेको उनको भनाइ छ । अस्पतालले पठाएको रिपोर्टका आधारमा दुई/दुई महिनामा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्