Logo
|
Thursday 25th April 2024
Logo

epaper

चितवनको बर्थिङ्ग सेन्टर निर्माण अन्तिम चरणमा, चेपाङ समुदायमा छायो खुशीयाली



चितवन सिद्धीमा चेपाङ्ग समुदायका लागि सुविधासम्पन्न बर्थिङ्ग सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिकाको सिद्धी गाउँमा सुविधायुक्त बर्थिङ्ग सेन्टर नहुदाँ स्थानीयहरु समस्यामा थिए।

स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गर्दा ४ पटकसम्मको ४ सय रुपैयाँ र बर्थिङ सेन्टरमा सुत्केरी हुँदा ५ सय रुपैयाँ भत्ता पाउने कारण पनि सिद्धिका महिलाहरु स्वास्थ्य संस्थातर्फ आकर्षित भइरहेको पाइन्छ। तर सो स्थानमा बर्थिङ्ग सेन्टर एउटा कोठामा मात्र सञ्चालनमा आउँदा उनीहरु समस्यामा परेका थिए।

कालिका नगरपालिकाको निगरानीमा सपना भिलेज सोसल इम्प्याक्टले सिद्धीमा सुरू गरेको सुविधा सम्पन्न २ कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेसगैँ स्थानीयमा खुशीयाली छाएको छ।

सपना भिलेज अन्तर्गत प्रकृतिको संरक्षण गर्दै सिद्धीको विकासमा एक कदम नामक परियोजनाले १५ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिरहेको छ। भवन निर्माण सम्पन्न भइ आगामि २ महिना भित्र बर्थिङ्ग सेन्टर पूर्ण सञ्चालनमा आउने परियोजनाका अध्यक्ष धुव्र गिरीले बताए।

कमजोर र जिर्ण बन्दै गएको स्वास्थ्य संस्थामा सञ्चालन भएको बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न नयाँ भवनमा स्थानान्तरण गरेसँगै स्वास्थ्य संस्था आएर गर्भ परीक्षण गर्ने महिलाको संख्या बढ्नसक्ने स्थानिय अगुवा यमबहादुर चेपाङ्गले दावी गरे। हालको बर्थिङ सेन्टरमा भएका सामान्य स्रोत र साधनबाट आफूहरुले सक्दो रुपमा सुत्केरी गराउँदै आएको चेपाङ्गको भनाइ छ।

नयाँ भवनको लागि माग भएपनि सरकारबाट खासै चासो नदिइएको अवस्थामा भवन बन्नुले आफुहरुलाई समेत उत्साहित बनाएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताए।

गाउँमा शिक्षाको विकाससँगै सरकारले प्रदान गर्ने भत्ताका कारण गर्भवती अवस्थामा समयमा चेकजाँच गराउने महिलाहरुको वृद्धि भएको विमला चेपाङ बताउँछिन्।

सिद्धीमा कुल जनसंख्याको करिब ९० प्रतिशत चेपाङ समुदायको बसोबास छ। स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्