Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्यको केन्द्रीय र जिल्लास्तरीय पुनर्निर्माण इकाई अब प्राधिकरण मातहत रहने



 भूकम्पपछिको पुनर्निर्माणको कार्यलाई प्रभावकारी रुपमा थप तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाईहरु आगामी चैत्र २९ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने भएका छन्।

संघीय संरचना अनुसार सरकारका विभिन्न तहको संगठनात्मक संरचनामा समायोजन गर्नु पर्ने भएकाले र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चैत्र २८ देखि अधिकांस जिल्लास्तरीय कार्यालय नरहने सन्दर्भमा केन्द्रीय तथा जिल्लास्तरीय इकाईहरुलाई प्राधिकरण मातहत राख्ने निर्णय भएको हो।

सरकारको यो निर्णयसँगै स्वास्थ्य मन्त्रालयसहित सबै मन्त्रालयका आयोजना कार्यान्वयन इकाई अब प्राधिकरण माताहत नै रहने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चैत्र २० गते बसेको निर्देशक समितिको १२ औँ बैठकले प्राधिकरणको संगठन संरचनाको प्रस्तावलाई स्वीकृत गर्दै आगामी चैत्र २९ गतदेखि कार्यान्वयनमा लैजाने गरी यस्तो निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले जानकारी दिए।

उक्त बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा सम्बन्धित सेवा सञ्चालन गर्ने मन्त्रालयहरुलाई उक्त संगठन संरचना बमोजिम आवश्यक पर्ने कर्मचारी तुरुन्त खटाइदिन समेत निर्देशन दिएको छ।

प्राधिकरण प्रवक्ता यमलाल भूसालका अनुसार नयाँ संगठनात्मक संरचना अनुसार अब पुनर्निर्माण कार्यका लागि तीनवटा छुट्टाछुट्टै जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय रहने छन्। अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले भूकम्प पीडितलाई अनुदान वितरणको कार्य र स्थानीय पुर्वाधार निर्माणको कार्य गर्नेछ भने शिक्षाले शैक्षिक संस्थाहरु र भवनले निजी आवास तथा सरकारी भवनको पुनर्निर्माणको काम गर्ने छन्।

संगठनात्मक पुनर्संरचनापश्चात कूल कर्मचारीको संख्या घटेको छ। पुनर्संरचनापछि प्राधिकरण र अन्तर्गतका केन्द्रीय एवम् जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइहरु पुनर्संरचना पश्चात् जम्मा ४ हजार ६ सय ५५ कर्मचारी मात्र कार्यरत रहने छन्। हाल यो संख्या ४ हजार ८ सय ७० रहेको छ । स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस्