क्यान्सरः डर र सचेतना

पुरुषोत्तम घिमिरे/जनस्वास्थ्य सरोकार ,काठमाडौं || प्रकाशित मिति :2018-04-15 09:21:06

हाम्रो समाजमा क्यान्सर एउटा डरलाग्दो रोगको रुपमा परिचित छ । विश्वमा हुने मृत्युको प्रमुख कारणमध्ये क्यान्सर एक हो । विश्व स्वास्थ्य संगठनले सन् २०१७ को फेबु्रअरीमा प्रकाशित गरेको तथ्यांकले विश्वमा हरेक वर्ष १ करोड ४० लाख क्यान्सरका नयाँ बिरामी थपिने र सोही अनुपातमा बढ्दै गएमा आगामी दुई दशकमा क्यान्सर बिरामीको संख्या ७० प्रतिशतले बृद्धि हुने देखाएको छ । क्यान्सरले बर्षेनी धेरैको ज्यान लिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ मा क्यान्सरका कारण विश्वमा ८८ लाख व्यक्तिको मृत्यु भएको थियो । विश्वमा ६ जनाको मृत्युमध्ये १ जनाको क्यान्सरकै कारण ज्यान जान्छ । अझ क्यान्सरले कम एवं मध्यम आयस्रोत भएका देशलाई धेरै पिरोलेको छ । यी देशहरुमा क्यान्सरका कारण करिब ७० प्रतिशतको ज्यान जाने गरेको छ । नेपालमा आधिकारिक तथ्यांक नभएपनि क्यान्सरबाट धेरैको ज्यान गइरहेको छ ।
नेपाललगायत विश्वमा मुख्य रुपमा फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा, आहार नली, प्रोस्टेट,स्तन, पाठेघरको मुख, रक्त क्यान्सरले धेरैको ज्यान लिएको पाइन्छ । शुरुको अवस्थामा क्यान्सरको उपचार भएमा यसबाट हुने आधा मृत्यूलाई जित्न सकिने अमेरिकन क्यान्सर सोसाइटीको अनुमान छ । क्यान्सर लागेपछि सर्जरी, केमोथेरापी र रेडिएसन थेरापी नै मुख्य उपचार हो । त्यसैले सुरुको अवस्थामा पहिचान भएर भरपर्दो उपचार पाएमा धेरैजसो क्यान्सर निको पार्न सकिने चिकित्सकहरुको भनाइ छ ।

क्यान्सरको प्रभाव न्यूनिकरणका लागि सन् २०१६ देखि २०१८ सम्म तीन वर्षे अभियान शुरु भएको छ । यो अभियानको विश्वव्यापी एउटै नारा छ—‘ हामी सक्छौं, म सक्छु’ । क्यान्सर न्यूनिकरणका लागि व्यक्तिगत, पारिवारिक र सामाजिक भूमिका महत्वपूर्ण हुन्छ । यो विश्वव्यापी नारालाई आधार मानेर नेपालमा एउटा निश्चित उमेरपछि क्यान्सर स्क्रिनिङ गर्ने प्रणाली अनिवार्य गर्न जरुरी छ । यसका लागि सरकारले राष्ट्रिय क्यान्सर नीति ल्याएर स्वास्थ्य परीक्षणमा सबैलाई क्यान्सर पहिचानको पहुँचभित्र ल्याउनुपर्छ । क्यान्सर स्क्रिनिङका लागि ठाउँ ठाउँमा अवाश्यक स्वास्थ्य संस्थाहरुको व्यवस्था मिलाउनुपर्छ । स्वस्थकर खानपानतिर ध्यान दिनुपर्छ । यसका साथै एउटा निश्चित उमेरपछि व्यक्ति स्वयं सचेत भएर क्यान्सर स्क्रिनिङ गराउनाले पनि हुनसक्ने क्यान्सरको संभावित खतरा न्यूनिकरण गर्न मद्धत पुग्छ ।

    Comment Here!