Logo
|
Friday 29th March 2024
Logo

epaper

औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी



 बाजुराका नौ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकाका स्थानीयवासीहरु बिरामी हुँदा निजी मेडिकलहरुबाट औषधि किन्नु पर्ने बाध्यता टर्न सकेको छैन ।

जिल्लाका नौ स्थानीय तह रहेको बाजुरामा अधिकाँश स्थानीय निकायमा औषधि अभाव हुन थालेको छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जिल्लाका लागि क्षेत्रीय कार्यालय र केन्द्रबाट औषधि खरिद गरेर नपठाउँदा औषधिको अभाव चुलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकार औषधि निःशुल्क पाइने भएपनि कुनै कुनै औषधि स्वास्थ्य संस्थाहरुमा उपलब्ध नभएको बिरामीहरुले गुनासो गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरा र नौ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको पाइएको छ । औषधि चर्को अभाव दुर्गम क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा रहेको छ ।

स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएपछि बिरामीहरुले निजी क्लिनिकहरुबाट औषधि चर्काे मूल्यमा किन्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालयमा बिरामी भएर भर्ना भएकी बडीमालिका नगरपालिका ३ की तुलादेवी खड्काले दुई हजार पाँच सय भन्दा बढी रुपियाँ तिरेर निजी मेडिकलबाट औषधि किनेको गुनासो दुखेसो गर्नुभएको छ । उहाँले भन्नुभयो – “आफू बिरामी हुँदा सबै औषधि मेडिकलबाट किनें तर, अस्पतालमा स्वास्थ्य जाँच मात्र भयो ।” स्वास्थ्य कार्यालयमा आएका अन्य बिरामीहरुको पनि औषधि मेडिकलबाट किन्नु परेको खड्काको भनाइ छ ।

“जिल्ला अस्पतालमा समेत औषधि छैन । जिल्ला अस्पतालबाट पहिले भन्दा अहिले सबै सेवा पाएको भएपनि केही औषधि अभावले समस्या पारेको बिरामीहरुले बताउने गरेका छन् । जिल्लामा केन्द्रबाट आवश्यक औषधि प्राप्त नहुँदा औषधि अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयमै औषधि अभाव हुँदा जिल्लाका अन्य स्वास्थ्य चौकीमा पनि औषधिको अभाव भएको छ । अस्पतालमा रहेका सबै औषधि सकिएको भएपनि औषधि उपलब्ध नगराइएको जिल्लाका स्वास्थ्य चौकीहरुको भनाइ रहेको छ । जिल्लामा एकवटा जिल्ला अस्पताल, २६ स्वास्थ्यचौकी, एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, आठ वटा सामुदायिक स्वास्थ्य एकाई र दुई वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् । समय समयमा क्षेत्र र केन्द्रमा जानकारी गराए पनि औषधि आपूर्ति हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

सबै अधिकार स्थानीय तहमा गएको र आफूहरुसँग केही बजेट नभएकाले औषधि खरिद प्रक्रिया समेत अन्योल हुनपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए ।

स्थानीय तहमा सबै अधिकार गएपछि अहिले बजेट नभएकोले ‘औषधि खरिद गर्ने रकम स्थानिय तहमा गएको छ । अधिकार जति सबै स्थानिय तहमा गएकोले ्जिल्ला स्वास्थ्य कार्यालयले केही गर्ने नसकिने बताइएको छ ।

अहिले जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा दैनिक करीब एकसय भन्दा बढी बिरामी आउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्