Logo
|
Tuesday 19th March 2024
Logo

epaper

फोक्सोको क्यान्सरः घरमा बसेर ट्याब्लेटको प्रयोग



पुरुषहरुमा हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सर पहिलो नम्बरमा पर्छ । महिलाहरुमा यो क्यान्सर तेस्रो स्थानमा आउने भएपनि फोक्सोको क्यान्सर अलि जटिल छ ।
धुम्रपान तथा सूर्तिजन्य वस्तुको सेवनका कारण ७५ प्रतिशत फोक्सोको क्यान्सर हुने गरेको पाइन्छ । धुम्रपान मात्र नभई कहिलेकाँही धूलो धूवाँले पनि फोक्सोको क्यान्सर गराउन सक्छ ।
करिब २०–२५ प्रतिशतमा धुम्रपान नगरेपनि फोक्सोको क्यान्सर देखिनसक्छ ।
फोक्सोको क्यान्सर वंशाणुगत रुपमा परिवारबाट आउँछ । अतः एक तिहाई क्यान्सर जीवनशैली परिवर्तन गरेर नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ । २ तिहाई क्यान्सर जीवनको नियति नै हुन्छ । कुन वेला लाग्छ भन्न सकिँदैन ।
सुर्ति तथा सुर्तिजन्य पदार्थमा हुने ४–५ हजार रसायनमध्ये ५५ वटा कार्सिनोजेनिक रसायन अर्थात क्यान्सर गराउने किसिमका हुन्छन् । निकोटिन क्यान्सर गराउने चिज नभई खाली अम्मल गर्ने चिज मात्र हो । यद्यपी त्यसभित्र रहेका ५५ वटा क्यान्सर गराउने खालका रसायन शरीरभित्र प्रवेश गरेपछि यसले सेल (कोष) लाई आक्रमण गर्छ । एन्टी अक्सिडेन्टलाई छेडेर सेलको मेकानिजमलाई बारम्बार हमला गरेर डिएनएलाई नै म्युटेसन गराउँछ । त्यसपछि क्यान्सर शुरु हुन्छ ।
उपचार
फोक्सोको क्यान्सरमा पहिलो र दोस्रो चरणमा शल्यक्रिया गर्न सकिने भएपनि नेपालको सन्दर्भमा १ प्रतिशत पनि शल्यक्रिया गर्ने स्थितिमा आउँदैनन् । प्रायः तेस्रो र चौथो स्टेजमा आइपुग्ने कारण नेपालमा १–२ प्रतिशत पनि फोक्सोको शल्यक्रिया हुँदैन । । यो अवस्थामा क्यान्सर शरीरका विभिन्न ठाउँमा फैलिसकेको हुन्छ ।
शल्यक्रिया गर्न नसकिने अवस्थामा रेडियो थेरापी र किमोथेरापीको विकल्प छैन । स्टेज फोरमा पुगिसकेपछि किमोथेरापी, टार्गेटेड थेरापी, इम्यूनोथेरापी दिनुपर्छ । अधिकांश मानिस थर्ड वा फोर्थ स्टेजमा आउने भएकाले धेरैजसोलाई किमोथेरापी दिनुपर्छ ।
एडिनो कार्सिनोमा, स्क्वामसिल कार्सिनोमा, लार्ज सेल कार्सिनोमा, स्मलसेल कार्सिनोमा लगायत ४–५ वटा मुख्य क्यान्सरमध्ये अहिले धेरै देखिएको एडिनोकार्सिनोमा हो । करिब ५५ देखि ६० प्रतिशत एडिनोकार्सिनोमा हुने गरेको पाइन्छ । यसमध्ये २० देखि ३० प्रतिशत मानिसलाई ईजीएफआर पोजेटिभ हुन्छ ।
यसरी एडिनोकार्सिनोमाअन्तर्गत इजिएफआर पोजेटिभ भएका ब्यक्तिहरुले घरमा बसेर ट्याब्लेट औषधि खाएर क्यान्सरको उपचार गर्न सक्छन् ।
शुरुका दिनहरुमा एक महिनाका लागि एक लाख पर्ने यस प्रकारका क्यान्सरका ट्याब्लेट औषधि अहिले ८ देखि १० हजारमा उपलब्ध हुन्छ । यो ट्याब्लेटले फोक्सोको क्यान्सर रोग घटाउन मद्धत गर्छ । यो औषधिले क्यान्सर निको त हुँदैन तर ३ देखि ६ बर्षसम्म बचाउन पक्कै सकिन्छ ।
कस्तो खालको क्यान्सर हो भन्ने पत्ता लगाउन परीक्षणका लागि नमुना टेष्ट भारत लगायतका तेस्रो मुलुकमा पठाउनुपर्छ । यसको रिपोर्ट आृउन एक हप्ता जति लाग्छ ।

प्रतिक्रिया दिनुहोस्