Logo
|
Friday 29th March 2024
Logo

epaper

क्यान्सर परीक्षण निःशुल्क



 महिलालाई सबैभन्दा बढी हुने पाठेघरको मुख र स्तन क्यान्सर जँचाउन अब टाढा जानु नपर्ने भएको छ । सरकारले वैशाखदेखि तीन महिनासम्म नजिकैको अस्पतालमा निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ । मातृमृत्युदरमा अपेक्षाकृत सफलता हासिल नभएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले ‘सुरक्षित मातृत्व विशेष अभियान’ घोषणा गर्दै एकवर्षे कार्यक्रम सार्वजनिक गरेकी हुन् । हाल नेपालमा प्रतिलाख जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

राष्ट्रिय सुरक्षित मातृत्व दिवस, २०७५ का अवसरमा आयोजित कार्यक्रममा सोमबार राज्यमन्त्री अर्यालले सबै अस्पतालबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण गरिनेसमेत बताइन् ।

वैशाख, जेठ र असारको कार्यक्रम सार्वजनिक गर्दै उनले भनिन्, ‘फिस्टुलाकोसमेत निःशुल्क परीक्षण गरिनेछ ।’ त्यस्तै साउन, भदौ र असोजमा सबै पालिकामा सुरक्षित मातृत्व कोष स्थापना गरिने बताइएको छ ।

अर्यालका अनुसार मुलुकभर सात सय ५३ वटा पालिकामा ‘एक पालिका, एक सुरक्षित मातृत्व कोष’ अभियान चलाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कोषमा स्थानीय र दातृ निकायबाट प्राप्त सहयोग जम्मा गरिनेछ ।

आकस्मिक प्रसूति सेवामा कोषको रकम उपयोग गरिनेछ । त्यसैगरी, कात्तिक, मंसिर र पुसमा किशोरकिशोरीलाई सुरक्षित मातृत्वसम्बन्धी जनचेतना फैलाउन देशव्यापी निबन्ध र वक्तृत्वकला कार्यक्रम गरिने राज्यमन्त्री अर्यालले जानकारी दिइन् । महिनावारीसम्बन्धी चेतना अभिवृद्धिका लागि पुस, माघ र फागुनमा सार्वजनिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई राष्ट्रव्यापी रूपमा स्यानिटरी प्याड वितरण गरिनेछ । राज्यमन्त्री अर्यालका अनुसार यो अभियान शिक्षा र क्षमता अभिवृद्धिसँग जोडिनेछ । अभियानमुखी कार्यक्रम लागू गर्न कार्ययोजना बनाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन गरिने राज्यमन्त्री अर्यालले बताइन् ।

अन्नपुर्णपोष्ट

 

प्रतिक्रिया दिनुहोस्