Logo
|
Thursday 25th April 2024
Logo

epaper

बीर र शिक्षणमा पनि हुनुपर्छ , मस्तिष्क मृत्युदानको अंग प्रत्यारोपणको व्यवस्था



हाम्रो देश नेपालमा पछिल्ला वर्षहरुमा अस्पतालमा मिर्गौला रोगीहरु बढेको पाइन्छ । यसमा अस्वस्थ्यकर जीवनशैली, तनाव, मधुमेह र उच्च रक्तचाप, मोटोपना आदि कारण मानिएको छ । यस किसिमको समस्या नेपाल, भारत, पाकिस्तान, चीनलगायतका देशमा धेरै देखिएको छ । यी देशहरुमा आगामी सन् २०२५ सम्म मधुमेह इपिडेमिक समस्याको रुपमा देखिनसक्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । विकसित मुलुकहरुमा ५०—६० वर्षपछि देखिने मधुमेहको समस्या विकासशील र विकासोन्मुख देशहरुमा कम उमेरमा नै देखिने गरेको छ ।
कुनै रोग महिलामा धेरै हुन्छ भने कुनै पुरुषमा । मिर्गौला रोग महिला र पुरुष दुवैमा देखिनसक्छ । उच्च रक्तचाप र मधुमेहले पुरुषहरुमा चाँडै मिर्गौला खराब हुनसक्छ भने एसएलई, गर्भावस्था, प्रिक्ल्याम्सिया आदिले महिलाहरुको मिर्गौला खराब गराउन भूमिका खेलिरहेको हुन्छ । विभिन्न कारणबाट खराब भएको मिर्गौलाका बिरामीले डायलाईसिस गराउनुपर्छ । डाइलाईसिससँगै मिर्गौला प्रत्यारोपण गराउन जरुरी हुन्छ । अहिले नेपालमा मिर्गौला र कलेजोको प्रत्यारोपण भइरहेको छ । यस किसिमको प्रत्यारोपणमा सर्जन र मिर्गौला रोग विशेषज्ञको महत्वपूर्ण भूमिका रहन्छ । यसरी सर्जनले जडान गरेको मिर्गौला प्रत्यारोपण विशेषज्ञले शरीरमा लिनसक्ने उपयुक्त वातावरण बनाउँछ ताकि जडान गरिएको मिर्गौला शरीरले तुरुन्त नफालोस् ।
सन् २००८ अगष्ट ८ तारेकमा त्रि.वि. शिक्षण अस्पतालमा शुरु भएको मिर्गौला प्रत्यारोपण सेवाबाट अहिलेसम्म ४८० जना लाभान्वित भएका छन् । अब नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट पनि अंगदान गर्न सकिने कानुनी प्रावधान भएकाले उनीहरुबाट अंगदान लिन सकेको अवस्थामा धेरै व्यक्ति लाभान्वित हुने देखिन्छ । यस किसिमको सेवा भक्तपुरको सल्लाघारीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दिइरहेको छ । यसरी मस्तिष्क मृत्युबाट प्राप्त भएको दुईवटा मिर्गौला २ जनामा सफल प्रत्यारोपण भइसकेको छ । अबका दिनमा त्रि.बि. शिक्षण अस्पताल, बीर अस्पतालमा पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्नसक्ने व्यवस्था सृजना गर्न जरुरी ठान्छु ।

प्रतिक्रिया दिनुहोस्