Logo
|
Thursday 28th March 2024
Logo

epaper

अंग प्रत्यारोपणको सफल कथा



नेपालमा केही वर्ष यता सरुवा रोगबाट भन्दा पनि नसर्ने रोगबाट धेरैको मृत्यु हुने गरेको पाइएको छ ।

मुटुरोग , क्यान्सर, मिर्गौलाको रोग तथा चोटपटकहरुबाट ६२% मृत्यु हुने विश्व स्वास्थ्य संगठनको रिपोर्टले पनि देखाउँछ । नसर्ने रोग भन्दा पनि मिर्गौला फेल हुने, हृदयघात, मस्तिष्कघात र अन्धोपन जस्ता रोगहरुको हामै्र प्रयासबाट नियन्त्रण गर्न सकिन्छ । मधुमेह, उच्च रक्तचापले विभिन्न समस्या निम्त्याइरहेका छन् । नेपाल जस्ता विकासोन्मुख देशहरुमा मिर्गौला फेल भएका ९० प्रतिशत भन्दा बढी व्यक्तिहरु केही महिनामै मृत्युको शिकार हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमान छ ।
मिर्गौला र कलेजो ‘फेल’ भएकाहरुको उपचार अति महँगो हुने भएकाले यो अधिकांश नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको पहुँच भन्दा बाहिर हुने गर्छ ।
सन् २००० को शुरुतिर जब म जनरल सर्जनको रुपमा लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत थिएँ, मेरो आँखा अगाडी २०÷३० वर्षका युवा युवतीहरु मिर्गौला वा कलेजो फेल भएर अकाल मृत्यूको शिकार भएको देख्दा यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने दृढ इच्छा शक्ति जागेर आयो । त्यसताका स्कटल्याण्डबाट नेपाली युवा सर्जनको लागि आएको ६ हप्ते छात्रवृत्तिमा छानिएँ र इडिनवर्गमा कलेजो प्रत्यारोपणमा अभ्जरभेसनका लागि जाने मौका पाएँ । त्यसको केही समयपछि नै मैले बर्मिङ्गमको कुइन इलिजावेथ अस्पतालमा कलेजो प्रत्यारोपणमा फेलोशिप गर्ने मौका पाएँ ।

रात दिन मस्तिष्क मृत्यू भएको व्यक्तिको अंग निकाल्न वा कलेजो प्रत्यारोपण गर्दा गर्दै करीब २ वर्ष बित्यो । त्यतिखेर नेपालमा मिर्गौला प्रत्यारोपण पनि शुरु नभएको अवस्थामा कलेजो प्रत्यारोपण (जुन चिकित्सा विज्ञानमा सबै भन्दा जटिल शल्यक्रिया मानिन्छ) असम्भव प्राय थियो । तसर्थ प्राविधिक दृष्टिकोणले तुलनात्मक रुपमा सहज मिर्गौला प्रत्यारोपणबाट ‘देशमा प्रत्यारोपण सेवाको शुभारम्भ गर्नुपर्छ’ भन्ने निचोड निकालँे र मिर्गौला, कलेजो र प्याँङ्क्रिियाज तीन अंग प्रत्यारोपण हुने ठाउँ न्यू क्यासलको फ्रिम्यान अस्पताल रोजँे । करिब ६ वर्षको प्रत्यारोपण तालिम पछि मलाई दिइएको जिम्मेवारी पुरा गरी म नेपालमै फर्कने कुरा मेरो गुरु प्रा.डा डेभिड टाल्बोट सित राखेँ । उनको जिज्ञासा थियो कुनै पनि अंग प्रत्यारोपणको शुरुवात् नभएको देशमा कतै मेरो तालिम खेर जानेत होइन भनेर । तर उनका साथ रहेमा नेपालमा प्रत्यारोपण कार्य शुरु गर्ने मेरो अठोट उनलाई बुझाएँ र नभन्दै उनी यस कार्यमा सहयोग गर्न २ पटक नेपाल आएँ । बेलायतबाट फर्केर म सरकारी जागिरे भएकाले बीर अस्पतलामै आवद्द भएँ । धेरै बर्षदेखि बन्द गरिएको मिर्गौला प्रत्यारोपण युनिट खोल्ने काम भयो । सफा सुग्घर गरियो ।
नेपालमा करिब ३००० जनाको मिर्गौला र करिब १००० जनाको कलेजो फेल हुने गर्दछ । देशमा विद्यमान ३० लाख मधुमेहीहरु मध्ये कयौंलाई प्याङ्क्रियाज प्रत्यारोपण गरेर मधुमेहबाट मुक्त गराउन सकिन्छ भन्ने लाग्यो । मुटु र फोक्सो फेल हुनेहरुको संख्या यकीन समेत हुन सकेको छैन ।
नेपालको प्रत्यारोपण इतिहास सन् १९९८ तिरबाट शुरु हुन्छ जुन बेला काठमाण्डौ उपत्यकाको २ वटा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसको कुनै आधिकारिक विवरण उपलब्ध छैन । जब म वीर अस्पतालमा फर्किएँ, न कुनै अप्रेसन थिएटर छ्ट्याइएको थियो न प्रत्यारोपण गर्नका लागि टोली नै । नेफ्रोलोजी विभागको साथै युरोलोजी, जनरल सर्जरी, न्यूरो सर्जरी विभागको सहयोगमा मिर्गौला प्रत्यारोपण कार्य बिस्तार अघि बढाइयो । यसका लागि अल इन्डिया इन्टिच्युटका प्राध्यापक डा. सन्दिप गुलेरियाले एक दिन, बेलायतबाट प्रा.डा. डेभिड तल्बटले दुई दिन हामीलाई मिर्गौला प्रत्यारोपण गराउन सघाउनु भयो भने वीर अस्पतालका बरिष्ठ नेफ्रोलोजीष्टद्वय डा रजनी हाडा, डा. राजेन्द्र अग्रवाल र डा. अनिल बराल र बरिष्ठ शल्य चिकित्सकहरु प्रा.डा विजय कुमार शर्मा, डा. वि.आर जोशी र प्रा.डा राकेश बर्माको विशेष भुमिका रह्यो ।

यसरी सुस्त गतिमै भए पनि ४ वर्षमा भएको ९९ वटा मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता प्राप्त भयो । जसमा तत्कालिन अस्पताल निर्देशक प्रा.डा प्रविण मिश्रको विशेष साथ रह्यो भने नेपालको प्रत्यारोपण सेवालाई डा. मिश्र स्वास्थ्य मन्त्रालयका सचिव हुनुभएपछि थप गति मिल्न थाल्यो । तत्कालीन स्वास्थ्य मन्त्री उमाकान्त चौधरी र राजेन्द्र महतोले भक्तपुर अस्पतालका लागि बनाइएको ४ तले खाली भवनमा प्रत्यारोपण केन्द्र विकास गर्न भरपुर सहयोग गर्नुभयो । सन् २०१३ मा गठन आदेश अनुसार स्थापना भए पश्चात् शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कहिले पछि फर्किन परेन । यसले आफ्नो सेवा प्रत्येक वर्ष गुणात्मक रुपमा अभिवृद्धि गर्दै लगेको छ ।
केन्द्रले आफ्नो स्थापनाको ३ महिनामा हेमोडाइलाइसिस सेवा शुरु ग¥यो भने ६ महिनामा मिर्गौला प्रत्यारोपण नै शुरु भयो । स्थापनाको ५ वर्षमा यस केन्द्रले दिनहुँ १०० जना भन्दा बढीको डाइलाइसिस र वर्षको १५० जनाको हाराहारीमा मिर्गौला प्रत्यारोपण गर्ने गर्दछ । हाल सम्म यस केन्द्रमा ९७ प्रतिशत प्रतिशत सफलताका साथ ४ सय ७ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ भने वार्षिक ३०,००० सेसन हेमोडाइलाइसिस हुने गर्दछ ।

यस वर्ष करीब २०० जनाको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष लिएकोमा आन्तरिक विवाद र वाह्य हस्तक्षेपले यो लक्ष्य हाँसील गर्न कठीन हुने देखिएको छ । सरकारी संस्था भए पनि नमूना केन्द्रको रुपमा ख्याती कमाउन सफल यस केन्द्रमा आज छिमेकी देशका नागरिकहरु पनि नियमित रुपमा मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि आउने गर्दछन् ।

नेपाल जस्तो देशमा प्रत्यारोपण कार्य स्थापना गर्न कुनै पनि किसिमले कम चुनौतीपूर्ण छैन । अंगदान र अंग प्रत्यारोपण सम्बन्धि जनचेतनाको अभाव, भौतिक पूर्वाधार, जनशक्तिको कमी, सेवाग्राहीहरुको आर्थिक अवस्थाले गर्दा प्रत्यारोपण कार्य शुरु गराउन र सूचारु राख्न अझै पनि थुप्रै चुनौतिहरु विद्यमान छन् । जनचेतना अभिवृद्दी र अत्यावश्यक भौतिक पूर्वाधार स्थापनाका लागि आनि छोइङ डोल्मा र मह जोडी लगायत राष्ट्रिय व्यक्तित्वहरुको सहयोगमा सन् २०१० मा आरोग्य प्रतिष्ठान स्थापना गरियो । यसले देशमै एक मात्र अत्याधुनिक एच.एल.ए ल्याब स्थापना ग¥यो जहाँबाट प्रत्यारोपणका लागि आवश्यक प्रायः सबै जाँचहरु गर्न सकिन्छ । छिमेकी देशको तुलनमा आधा मूल्यमानै परीक्षण गर्न सकिने उक्त ल्याबबाट १२ घण्टामै ‘रिजल्ट’ उपलब्ध हुने गर्दछ जबकी यो ल्याब नहुँदा छिमेकी देशबाट ‘रिपोर्ट’ आउन २ हप्ता सम्म कुर्नपर्दथ्यो । हिजो आज आरोग्य प्रतिष्ठान र मानव अंग प्रत्यारोपण केन्द्रको संयुक्त अयोजनामा निरन्तर विभिन्न जनचेतनामूलक कार्यक्रमहरु, निःशुल्क स्वास्थ्य शिविरहरु, प्रत्यारोपण खेलकुद, पदयात्रा, सांगितिक कार्यक्रम, अन्तरक्रिया कार्यक्रम, कार्यशाला गोष्ठीमार्फत देशव्यापीरुपमा अंगदान र प्रत्यारोपण तथा अंग फेल हुनबाट बचाउन विभिन्न कार्यक्रम अयोजना हुने गर्दछ । यसबीच विश्वकै उदाहरणीय उदार अंगदान र प्रत्यारोपण कानूनको व्यवस्था हुन सकेको छ भने डाइलाइसिस र मिर्गौला प्रत्यारोपण पूर्ण रुपमा निःशुल्क भएको छ ।
नेपालमा अत्यधिक सडक दुर्घटना हुने भएका कारण दिनहुँ ६ जना सम्मको मृत्यू हुने गर्दछ भने गत वर्ष मात्र २ हजार १ सय १५ जनाको मत्यू भएको थियो । काठमाण्डौ उपत्यकामा मात्र वर्षेनी करिब १००० जनाको मस्तिष्क मृत्यू हुने गर्दछ । एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट २ मिर्गाैला, २ फोक्सो, १ मुटु, १ कलेजो, १ प्याङ्क्रियाज, १ सानो आन्द्र, प्रत्यारोपण गरी आठ जना व्यक्तिको ज्यान बचाउन सकिन्छ । गाडेर खेर जाने वा जलाएर खरानी भएर जाने अंगहरु दान दिने संस्कार बनायाँै भने ८ जना व्यक्तिले पुनर्जिवन पाउन सक्दछ, यो भन्दा पुण्य काम अरु हुन सक्दैन । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोक लालिपुरमा ‘मेरो मृत्यू पछि मेरा यी अंगहरु दान गर्न चाहन्छु’ भनेर मञ्जुरीनामा फारम भर्ने व्यवस्था छ । स्वस्थ्य व्यक्तिले अंगदान गर्ने विषयमा नेपालको कानून अनुसार नजिकको नाता पर्ने प्राय सबैले अंग दान गर्न सक्दछन् । अंगदानसम्बन्धि फाराम वेभ साइटमा पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्