Logo
|
Wednesday 24th April 2024
Logo

epaper

के हो हाइपरहाइड्रोसिस रु यसका कारण र लक्षण



 

हाम्रो शरीरमा विभिन्न समस्या देखिन्छन्, समयमै ध्यान नदिएको खण्डमा त्यस्ता समस्याले कतिबेला गम्भीर रूप लिन्छन्, यसै भन्न सकिन्न । पहिले सामान्य देखिने तर पछि जटिल रूप लिने विभिन्न समस्यामध्ये हाइपरहाइड्रोसिस पनि एक हो । हाइपरहाइड्रोसिस यस्तो समस्या हो, जहाँ विनाकारण हात तथा खुट्टाबाट पसिना बग्ने गर्दछ । यस्ता समस्या धेरै भएमा विशेष सावधानी अपनाउन जरुरी छ । अन्यथा यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

के हो हाइपरहाइड्रोसिस ?
हाइपर हाइड्रोसिसबाट पीडित व्यक्तिमा पसिनाको ग्रन्थि अत्यधिक सक्रिय हुन्छ ।सामान्यतया शरीरबाट पसिना आएपछि शरीरको तापक्रम नियन्त्रित रहन्छ । तर कुनै व्यक्ति हाइपर हाइड्रोसिसबाट पीडित छ भने जाडो मौसममा हात तथा पैतालाबाट अत्यधिक मात्रामा पसिना आउने गर्दछ । त्यस्तोे पसिना सम्पूर्ण शरीरबाट पनि निस्कन सक्छ, शरीरका केही अंगबाट मात्र पनि निस्कन सक्छ ।

हाइपर हाइड्रोसिस रोगलाई प्राइमरी र सेकेन्डरी गरी दुई भागमा विभाजन गर्न सकिन्छ । प्राइमरी हाइपरहाइड्रोसिसमा विनाकारण शरीरका विभिन्न भागगबाट पसिना बग्छ ।

सेकेन्डरी हाइपर हाइड्रोसिसमा विभिन्न कारणले गर्दा पसिना आउने गर्दछ । जसमा महिनावारी सुक्नु, मधुमेह, लो व्लड सुगर, हाइपर थाइराइडिज्म इत्यादि प्रमुख छन् ।

हाइपर हाइड्रोसिसका प्रमुख लक्षण

गर्मीको समयमा हत्केलाबाट पसिना आउनु सामान्य हो तर अत्यधिक पसिना आउनु वा जाडोमा पनि पसिना आउनु भने गम्भीर समस्या हुनसक्छ । हाइपर हाइड्रोसिस भएमा पसिनाका साथ दुर्गन्ध आउनसक्छ जुन हाइपरहाइड्रोसिसको सामान्य लक्षण हो ।

हाइपर हाइड्रोसिस हुनुका कारण ?

लगातार पसिना आएमा शारीरिक तथा मानसिक दुवै किसिमको अप्ठेरो महसुस हुने गर्दछ । अत्यधिक पसिनाका कारण हात, खुट्टा तथा काखीमा धेरै पसिना बग्छ भने उक्त स्थितिलाई प्राइमरी वा फोकल हाइपरहाइड्रोसिस भनिन्छ । प्राइमरी हाइपर हाइड्रोसिसबाट करिब २ देखि ३ प्रतिशत जनसंख्या प्रभावित छन् ।  रोगबारे धेरैलाई जानकारी नहुँदा यससम्बन्धी समस्या लिएर चिकित्सककहँा पुग्नेहरूको संख्या भने निकै कम हुने गरेको छ ।

यस्तो समस्या आनुवंशिक पनि हुनसक्छ । कुनै मेडिकल समस्याका कारण यस्तो समस्या भएमा यसलाई सेकेन्डरी हाइपरहाइड्रोसिस भन्ने गरिन्छ ।

यो रोगबाट पीडित व्यक्तिहरूलाई सम्पूर्ण शरीरबाट पसिना निस्कन सक्छ वा शरीरको कुनै विशेष स्थानबाट पनि बग्न सक्छ । जाडो मौसममा वा आराम गर्दासमेत पसिना आइरहन्छ ।

उपचार विधि

प्रभावित व्यक्तिहरूले बोटुलिनम टक्सिन टाइए ए नामक औषधीको प्रयोग गरेर पनि पसिना आउने समस्यालाई कम गर्न सक्छन् । बोटुलिनम टक्सिन टाइए ए ले अति सक्रिय पसिनाका ग्रन्थिलाई शान्त पारिदिन्छ, जसले गर्दा पसिना बग्न स्वतः कम हुने गर्छ । पसिना कम गर्नकै लागि बोटक्सको इन्जेक्सन समेत प्रयोग गर्न सकिन्छ । धेरै पसिना आउने समस्या वा एक्सिलरी हाइपरहाइड्रोेसिसका लागि यो सर्वश्रेष्ठ विकल्प हो, जसको प्रयोगद्वारा पसिना आउने समस्याबाट करिब चार महिनामै राहत पाउन सकिन्छ । यसबाट शरीरको दुर्गन्ध समेत कम गर्न सकिन्छ ।

निधारमा वा अनुहारमा अधिक पसिना आए यसलाई फोकल हाइपर हाइड्रोसिसको स्थिति मानिन्छ । यसको लागि मेसो बोटक्स सबैभन्दा उत्तम उपाय मानिन्छ ।

अन्य उपाय

अत्यधिक पसिना आउने समस्याको रोकथामका लागि एन्टीपर्सपिरेन्ट डियोड्रेन्टको पनि प्रयोग सकिन्छ । एन्टी पर्सपिरेन्ट यस्तो डियोडे्रन्ट हो, जसले पसिनाको ग्रन्थिहरूमा अवरोध खडा गर्छ र पसिना आउने समस्या कम गर्न मद्दत गर्छ । यसलाई प्रयोग गर्नुअघि सावधानी अपनाउन भने जरुरी छ । अन्यथा यसकै कारण छाला चिलाउने तथा लुगा बिग्रने हुनसक्छ ।

धेरै पसिना आउने व्यक्तिले शल्यक्रियाद्वारा पनि यस रोगको उपचार गर्न सक्छन् ।

यो पनि ध्यानमा राखौँ

यस्तो समस्या भएमा सरसफाइमा ध्यान दिन जरुरी छ । दिनहुँ नुहाउने, सुती, ऊन तथा रेशमको कपडा लगाएर पनि यो समस्या कम गर्न सकिन्छ । जुत्तालाई घाममा राखेर, सकेसम्म जुत्ता नलगाएर, नियमित रूपमा मोजा बदलेर पनि यो रोगबाट छुट्कारा पाउन सकिन्छ । त्यसबाहेक, नियमित ध्यान तथा योग गरेर पनि पसिना आउने समस्या कम गर्न सकिन्छ ।अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्