जीन परीक्षणबाट पत्ता लगाउन सकिने क्यान्सर

सिमित सापकोटा, क्यान्सर विशेषज्ञ/ काठमाडौं क्यान्सर सेन्टर/सिभिल सर्भिस हस्पिटल || प्रकाशित मिति :2018-04-24 07:51:14

अहिलेको बढ्दो क्यान्सर समस्यामा रोकथाम तथा उपचारको भरपर्दो व्यवस्था हुन जरुरी छ । स्तन, पाठेघर र ठूलो आन्द्राको क्यान्सर जिनको आधारमा पहिला नै पत्ता लगाउन सकिन्छ ।
हामीले जिनको परीक्षण गरेर क्यान्सर हुने सम्भावना पत्ता लगाउन सक्छौं ।
स्तन, पाठेघर र ठूलो आन्द्राको क्यान्सर स्क्रिनिङ गरेर सजिलै पत्ता लगाउन सकिने क्यान्सरमा पर्छन् । धेरै चुरोट सेवन गर्ने व्यक्तिको फोक्सोको स्क्रिनिङ गरेर क्यान्सर भएनभएको पत्ता लगाउन सकिने कुरा पत्ता लागेको धेरै भएको छैन । चुरोट, सूर्ति र गुड्खा खाने हाम्रो जस्तो देशमा मुखको क्यान्सर पनि शुरुको अवस्थामा पत्ता लगाउन सकिन्छ ।

शरीरका कोषिकाहरु अनियन्त्रित भएर बढ्ने समस्या क्यान्सर भएकाले कोषिका बढ्ने क्रम कुनै न कुनै एक ठाँउबाट शुरु हुन्छ । यसरी क्यान्सरको समस्या भएपछि हामीले उपचार गर्दा रेडियोथेरापी र सर्जरीजस्ता लोकल उपचार अपनाउँदछौं । रेडियोथेरापी र सर्जरी गर्दा जुन ठाउँमा क्यान्सर भएको छ त्यस भागमा मात्र उपचार केन्द्रित हुन्छ । त्यसैले यो अगिल्लो स्टेजको क्यान्सरमा धेरै गयरिन्छ । तर किमो थेरापीबाट शरीरका हरेक भागमा भएको क्यान्सरको उपचार गरिन्छ ।

शरीरको एक अंगमा लागेको क्यान्सर शरीरका विभिन्न ठाउँमा फैलन्छ । त्यसैले लोकल अवस्थामा उपचार गर्न सकेको अवस्थामा यसको उपयोगिता धेरै हुन्छ । त्यसैले सर्जरी र रेडियोथेरापीको तुलनामा क्युरेटिभ उपचार किमोथेरापीले दिन सक्दैन ।
कतिपय क्यान्सरको उपचारका किमोथेरापीको जरुरत पर्छ । प्रायः यो थोरै क्यान्सरमा मात्र प्रयोग हुन्छ । जस्तोः रगतको क्यान्सरमा किमो लाभदायक हुन्छ ।
क्यान्सर के कारणले हुन्छ भन्ने अनुमान गर्न सकिदैन । यसमा जीवनशैलीको पनि महत्वपूर्ण भूमिका हुन्छ । क्यान्सर हुने सबैभन्दा ठूलो कारण चुरोट सेवन नै हो ।
रक्सीले पनि धेरै क्यान्सर गराउने जानकारी सन् २०१७ मा आएको छ ।
कम शारीरिक अभ्यास गर्नेलाई स्तन र ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुन्छ । वंशाणुगत क्यान्सर १० देखि १५ प्रतिशत मात्र हुन्छ ।

ओभरीको क्यान्सर वंशाणुगतबाट आउने धेरै सम्भावना हुन्छ । आफ्ना बुबाको दिदी बहिनी, आमाको दिदी बहिनीको छोराछोरी अर्थात एउटै परिवार भित्र स्तन र ओभरीको क्यान्सर भएमा वंशाणुगत आउने धेरै सम्भावना हुन्छ । फोक्सोको क्यान्सर वंशाणुगतमा जाने संभावना एकदमै कम हुन्छ । वंशाणुगत हुनेमा ओभरी, स्तन र ठूलो आन्द्राको क्यान्सर हो ।

स्तन क्यान्सरको स्क्रिनिङ गर्ने म्यामोग्राफी देशका धेरै ठाउँमा छैन । मेमोग्राफी रिपोर्ट गर्ने दक्ष एक्सपोर्टको पनि कमी छ । पाठेघरको मुखको क्यान्सर हेर्न प्यापस्मेयर गर्ने र माइक्रोस्कोपमा हेरेर पत्ता लगाउने ब्यक्ति ग्रामिण क्षेत्रमा छैनन् । त्यसैले जराबाट विकास हुनुपर्छ । ठूलो आन्द्राको लागि कोलोनोस्कोपी गर्नुपर्ने भएकाले यो गर्ने जनशक्ति र ठाउँको पर्याप्तता हुन जरुरी पर्छ ।
क्यान्सर पहिचान र उपचारमा देशको अर्थतन्त्र जोडिएकाले मुलुकमा क्यान्सर सचेतनाको जरुरत छ । समस्या आउन भन्दा अघि नै स्क्रिनिङमा जानुपर्ने चेतना बढाउनुपर्छ ।

    Comment Here!