Logo
|
Friday 29th March 2024
Logo

epaper

वर्ष दिनमा डायलाइसिस



 धौलागिरिमा पहिलोपटक बागलुङमा डायलाइसिस सेवा सुरु भएको छ । मिर्गाैलाका बिरामीलाई निःशुल्क उपचार दिन स्वास्थ्य मन्त्रालयले अघिल्लो वर्षको वैशाखमा धौलागिरि अञ्चल अस्पतालमा २ उपकरण पठाएको थियो । उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा १ वर्ष सेवा सञ्चालन हुन सकेको थिएन ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सबै अञ्चल अस्पतालमा डायलाइसिस सेवा सुचारु गर्ने उद्देश्यले उपकरण पठाइए पनि दक्ष जनशक्तिको अभाव देखाउँदै अस्पतालले सेवा सुचारु गर्न सकेको थिएन । सेवा सुचारु भएपछि धौलागिरिका सयौं मिर्गौलाका बिरामी लाभान्वित हुनेछन् । अस्पतालले सोमबार सफल परीक्षणपश्चात औपचारिक रूपमा सेवा सञ्चालन गरेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सागर राजभण्डारीले बताए ।

राजभण्डारीका अनुसार अस्पतालमा रहेको दुई वटै मेसिनबाट सेवा सुचारु गरिएको छ । सेवा सञ्चालन गर्न दुई जना डाक्टर दुई स्टाफ नर्स एक प्राविधिक र एक कार्यालय सहयोगी गरी ६ जनाको टोली खटिनेछ । जिल्लामा करिब ३० जना मिर्गौलाका बिरामी छन् । ‘बागलुङमा ३० जना मिर्गौलाका बिरामी भएको भन्ने छ’, उनले भने, ‘उनीहरूलाई अस्पतालबाट सहज रूपमा नियमित सेवा दिनेछौं । दुई वटा मेसिनबाट दैनिक ४ जनाको उपचार गर्न सकिन्छ ।’

बागलुङ नगरपालिका—४ कुँडुलेका खोपप्रसाद सापकोटाले सोमबार पहिलो बिरामीका रूपमा सेवा लिए । ५६ वर्षीय सापकोटा आफ्नै घर नजिकको अस्पतालबाट सेवा लिन पाउँदा निकै खुसी छन् । हजारौं खर्च गरेर पोखरा काठमाडौंका अस्पतालमा धाउनुपर्ने बाध्यता हटेको उनले बताए । ‘बाबाको यही उपचार हुने भएपछि अब सजिलो हुने भो,’ सापकोटाका छोरा शिवले भने, ‘यसले हाम्रो परिवारलाई मात्र नभई धौलागिरि आसपास क्षेत्रका मिर्गौलापीडितका लागि ठूलो टेवा पुग्ने पक्का छ ।’

सापकोटा सात वर्षदेखि मिर्गौला समस्याबाट पीडित छन् । दुई वर्षदेखि उनले नियमित डायलाइसिस गराउँदै आएको छोरा शिवले बताए । सेवा सञ्चालन गर्न उपकरण आए पनि सञ्चालन नभएपछि सेवाग्राहीले गुनासो गर्दै आएका थिए । सेवाग्राहीको चाहनाअनुसार डाक्टर र अन्य कर्मचारीलाई तालिम दिएर सेवा सञ्चालन गरेको धौलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रामजी सुवेदीले बताए । ‘उपकरण भए पनि प्राविधिक जनशक्ति अभावले सेवा दिन सकेका थिएनौं, अब हामी नियमित सेवा सञ्चालन गर्ने छौं’, अस्पताल विकास समितिका अध्यक्ष सवेदीले भने, ‘२ जना डाक्टरसहित अरू कर्मचारीले पनि प्राविधिक तालिम लिनुभएको छ ।’

सेवा सञ्चालन गर्न कम्तीमा तीन महिना तालिम गरेको दक्ष स्वास्थ्यकर्मी आवश्यक पर्ने हुँदा केही व्यवस्थापनमा ढिला भएको सुवेदीले बताए । ‘मैले अध्यक्षको जिम्मेवारी सम्हालेदेखि सेवा सुचारु गर्ने विषयमा तयारी थालिएको हो’, उनले भने, ‘तालिमप्राप्त व्यक्ति आवश्यक पर्ने भएकाले तत्काल सञ्चालन गर्न नसकिएको हो ।’ अस्पतालले सेवा सुरु गर्न मानवअंग प्रत्यारोपण केन्द्रबाट डाक्टर सुष्मा आचार्यसहित अन्य स्वास्थकर्मीलाई तालिमका लागि पठाएको थियो ।

धौलागिरि अस्पतालमा सेवा सुरु हुँदा बुबालाई काठमाडौं, पोखरा लगेर उपचार गराउने समस्याबाट मुक्त हुने जैनिमी–१ का देव शर्मा आचार्य बताउँछन् । ‘अस्पतालमा सामान हुँदा पनि सेवाका लागि बाहिर जानुपरेको थियो, अब हामीले यही सेवा पाउने भयौं आचार्यले भने, ‘अब धेरै आर्थिक भार कम हुनेछ ।’ ७३ वर्षीय उनका बुबा लक्ष्मीप्रसाद मिर्गाैलाको समस्याले पीडित छन् । अस्पतालमा १६ जना विशेषज्ञ र ६ जना मेडिकल अधिकृत गरी २२ जना चिकित्सकको दरबन्दी छ ।

दरबन्दी भए पनि चिकित्सक नआउँदा अस्पतालका अन्य सेवासमेत प्रभावित भएका छन् । अहिले ६ जना मेडिकल अधिकृतको पदपूर्ति भएको अस्पतालका शाखा अधिकृत यज्ञप्रसाद रिजालले बताए । १६ जनाको दरबन्दीमा ३ विशेषज्ञ मात्र कार्यरत हुनुहुन्छ’, रिजालले भने, ‘पाँच जना मेडिकल अधिकृत करारमा छन् ।’ अञ्चल अस्पताल भए पनि विशेषज्ञ सेवा दिन डाक्टरको सधैं अभाव छ । अस्पतालमा दैनिक साढे ३ सय बिरामी आउने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा उपकरण, चिकित्सकको मात्र नभई भौतिक पूर्वाधारको पनि समस्या छ । भवन निर्माणका लागि जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न नगर्दा अस्पतालमा उपचार सेवा दिने भवन अभाव भएको हो ।

०००

डायलाइसिस सेवा सुरु गर्दै प्रमुख डा.सागर राजभण्डारीलगायत । अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्