Logo
|
Friday 19th April 2024
Logo

epaper

यस्तो पनि अस्पताल, मापदण्डविपरीत सञ्चालन



गौर–शिवनगर खण्डको यमुनामाई गाउँपालिका–१ राजमार्ग छेउस्थित नहरको डिलमा सञ्चालित शिवदर्शन सेन्ट्रल अस्पतालमा मंगलबार अनौठो दृश्य देखियो ।

रौतहटको यमुनामाई गाउँपालिका १ मा रहेको शिवदर्शन सेन्ट्रल अस्पताल परिषर । तस्बिर : शिवअस्पतालमा नाबालक छोरा उपचार गराउन आएकी एक महिलालाई भर्‍याङबाट तल उत्रनलाई धौधौ पर्‍यो । बालकलाई काँधमा राखेर भित्ता समात्दै उनी तल झरेको दृश्य निकै मार्मिक थियो ।

जिल्लामा पछिल्लो समय निजी अस्पताल खोल्ने होडबाजी नै चलेको छ । पूर्वपश्चिम नहरको डिममै रहेको अस्पतालको बेथिति हेर्दा कारबाही गर्ने निकाय किन मौन भन्ने प्रश्न सहजै गर्न सकिन्छ । अस्पताल सञ्चालन गर्न चाहिने मापदण्ड पूरा नगरी जिल्ला जनस्वास्थ्य कार्यालयले हाचुवाका भरमा अनुमति दिएको पाइएको छ । स्थानीय विनोद बैठाको घर भाडामा लिएर २०७२ जेठ २८ गतेदेखि सञ्चालन गरिएको सेन्ट्रल अस्पतालको बिरामीलाई एमरजेन्सीसम्म पुर्‍याउने भर्‍याङसमेत गतिलो छैन । ‘अस्पताल जस्तो संवेदनशील संस्थाको भर्‍याङको हालत यस्तो छ, काँधमा बच्चा राखेर तल उत्रँदै गरेकी रुक्सानाले भनिन्, ‘बल्लबल्ल माथि चढियो, उत्रने बेला उस्तै सास्ती खेप्नुपर्ने ।’

१५ शय्याको अस्पतालको सानो कोठामा खचाखच बेड राखिएको छ । एउटा बिरामी बाहिर निस्कन परे निकै कष्ट हुन्छ । बिरामीको आफन्तलाई बस्ने ठाउँ छैन । अस्पताल भवनको बाहिर रेलिंग छैन । बिरामीको कुरुवा बरन्डामै सुत्छन् । सबै मापदण्ड पूरा गरी दर्ता गरिएको अस्पतालका प्रशासकीय निर्देशक हरिनारायण शर्माले दाबी गरे ।

‘बिस्तारै अर्कोे भवनमा अस्पताल सार्छौं,’ उनले भने, ‘नहरको डिलमा भए पनि बिरामीलाई सेवा दिइरहेका छौं ।’ चिकित्सकका अनुसार अस्पतालमा सामान्य शल्यक्रिया गरिन्छ । शल्यक्रिया गरिएका बिरामीका लागि आईसियू र भेन्टिलेटर जस्ता अत्यावश्यक सुविधा अस्पतालमा छैन । यी उपकरणबिना शल्यक्रिया गर्नु जोखिम हुन्छ । अस्पतालमा दैनिक २०/२५ जना बिरामी आउने गरेको शर्माले बताए । अस्पताल वरपर निकै फोहोर देखिन्थ्यो । अस्पतालमा एमडी गरेका एक जना पनि चिकित्सक छैनन् । वीरगन्जबाट कहिलेकाहीं आउने गरेको शर्मा बताउँछन् ।

जनस्वास्थ्य अधिकृत नागेश्वर जैसवालले दर्ता गर्ने बेलामा अधिकांश अस्पतालले शय्याअनुसार ६ महिनादेखि १ वर्षभित्र मापदण्ड पूरा गर्ने सहमति गरेको बताए । ‘उनीहरूले अस्पताल नवीकरण गर्ने बेलामा सबै मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाएका थिए,’ उनले भने, ‘अहिलेसम्म किन पूरा नगरेको हो, यसबारे बुझ्छौं ।’ अधिकृत जैसवालका अनुसार जिल्लामा नर्सिङ होम, पोली क्लिनिक, क्लिनिक, गरी २४ वटा अस्पताल दर्ता छन ।

उनीहरूलाई मापदण्ड पूरा गर्न तत्कालै तागेता गर्ने जैसवालले बताए । उनले मापदण्डको सवालमा हेलचेक्रयाईं गरेको पाइए अस्पतालमा सिलबन्दी गर्ने तयारी रहेको सुनाए । अस्पताल मापदण्डमा धुलो, धुुवाँ, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको क्षेत्र हुनुपर्ने उल्लेख छ । त्यस्तै अस्पताल रहने क्षेत्र र परिसरमा उपयुक्त सुरक्षाको व्यवस्था हुनुपर्छ । सवारी पार्किङको पर्याप्त व्यवस्था हुनुपर्ने मापदण्डमा बनाइएको छ । तर यहाँका अधिकांश अस्पतालले यी मापदण्ड पूरा गरेका छैनन् । भाडामा लिइएका अधिकांश घर भूकम्प प्रतिरोधी छैनन् ।

जिल्लामा खुलेका अधिकांश निजी अस्पतालको आफ्नो छुट्टै भवन छैन । साँघुरा घरमा जबरजस्ती अस्पताल चलाइएको छ । यस्तोमा अचानक आइपर्ने प्राकृतिक विपतमा बढी जोखिम हुने सरोकारवाला बताउँछन् । शिवनगरको आनन्द पोलिक्लिनिकमा घरको भर्‍याङमुनि चिकित्सक रामप्रगास यादवले बिरामीको जाँच गर्दै गरेको भेटियो । ठाउँको अभावले भर्‍याङ तल बिरामीको जाँच गर्नुपरेको उनले सुनाए । १५ शय्याको यो क्लिनिकले पनि मापदण्ड पूरा गरेको छैन । क्लिनिकमा नशाका बिरामी धेरै आउँछन् । उनीहरूको एकुपन्चर प्रविधिले उपचार हुने चिकित्सक यादवले बताए ।

७ दिनभित्र नशाका सबै बिरामी ठिक पार्ने चिकित्सको दाबी छ । यो विधि प्रयोग गर्न दक्ष चिकित्सक आवश्यक पर्ने भए पनि जिल्लामा खोलिएका अधिकांश अस्पतालमा दक्ष चिकित्सकको अभाव देखिन्छ । एमबिबिएसकै भरमा अस्पताल चलाइएको छ । सरकारी अस्पतालमा समयमै बिरामीले सेवा नपाउँदा निजीमा जानु पर्ने बाध्यता छ । सरकारी अस्पतालले बिरामीअनुसार आफ्नो क्षमता बढाउन नसक्दा घर भाडामा लिएर निजी अस्पताल खुल्ने क्रम बढेको हो ।

बिचौलिया हावी
अस्पतालमा बिरामी ल्याइदिएबापत गाउँका बिचौलिया (दलाल) ले चिकित्सकसित ठाडै रकम माग्ने गर्छन् । उनीहरूको अस्पताल प्रशासनसित पहिले नै सेटिङ हुन्छ । एउटा बिरामीबापत बिचौलियाले २ देखि ५ हजारसम्म रकम लिने गरेको एक चिकित्सकले बताए । गाउँघरका बिरामी स्थानीय अस्पतालमा उपचार हुन नसके बिचौलियामार्फत भारतसम्म पुर्‍याउने गरेको चिकित्सक बताउँछन् । बिरामी ल्याउनासाथ रकम माग्ने गरेकाले आफूले त्यस्ता बिचौलियालाई भगाउने गरेको गरुडास्थित हेल्थकेयर अस्पताल सञ्चालक डा. राकेश चौधरीले बताए । ‘बिचौलियाको चालाले बिरामी मारमा पर्ने गरेका छन्,’ उनले भने, ‘गाउँघरका सोझासिधा इमानदारलाई बिचौलियाले अनावश्यक पैसा खर्च गराइदिने गरेका छन् ।’

अनुगमन छैन
अस्पताल कसरी चलेका छन्, मापदण्डअनुसार छन् छैनन्, बिरामीले सहज उपचार सेवा पाएका छन् छैनन् भनेर प्रभावकारी अनुगमन हुन सकेको छैन । यसबारे प्रशासन, जनस्वाथ्य कार्यालयले चासो दिएका छैनन् । मापदण्डअनुसार सञ्चालनमा रहेको अस्पतालको संख्या न्यून छ । कारबाही गर्ने अधिकार पाएको निकाय मौन छ । यहाँ सरकारी अस्पताल २ वटा छन् ।

जिल्ला जनस्वास्थ्यका अनुसार एक वर्षअघि विभागको एक टोलीले अस्पताल अनुगमन गरेको थियो । त्यसपछि अहिलेसम्म कुनै निकायले अस्पतालको अवस्थाका बारेमा अनुगमन गरेको छैन । जनस्वास्थ्य अधिकृत जैसवालका अनुसार चाँडै नै जिल्लाभरिका अस्पताल अनुगमन गरिनेछ ।

यहाँ केही अस्पतालबिना दर्ता सञ्चालनमा रहेको उनले जनाए । अस्पताल सञ्चालनका लागि प्रक्रिया पुगेको भन्दै सञ्चालकले दिएको निवेदनका आधारमा अनुगमन नै नगरी जनस्वास्थ्यले दर्ता गरेको स्थानीय भरत आचार्यले बताए ।कान्तिपुर

प्रतिक्रिया दिनुहोस्