Logo
|
Friday 19th April 2024
Logo

epaper

आयुर्वेदिक उपचारमा आकर्षण



 सदरमुकाम धनकुटा ७ की सरोजा भुजेल आयुर्वेदिक उपचारमा आकर्षित भएकी छन् । कोसी अञ्चल आयुर्वेदिक औषधालय पुगेकी उनले स्वास्थ्य समस्या हुँदा नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्ने बताइन् ।

कोसी अञ्चल आयुर्वेदिक औषधालयमा उपचार गराउन आउनेको संख्या बर्सेनि दुई गुणाले बढेको कविराज निरीक्षक चन्द्रकुमार लाल कर्णले बताए । उपचार सेवा विस्तार गरिएसँगै सर्वसाधारणको आकर्षण बढ्दै गएको अस्पतालको दाबी छ । औषधालयमा बहिरंग सेवा सहित सुत्केरी आमाका लागि स्तनपायी दुग्धवद्र्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन तथा संरक्षण कार्यक्रम, विकृति विज्ञान प्रयोगशाला (प्याथोलोजी ल्याब) लगायतका उपचार विधि सञ्चालनमा छ । नि:शुल्क उपचार तथा औषधि वितरण गरिने र सेवा विस्तार गरिएसँगै औषधालयप्रति सर्वसाधारणको आकर्षण बढेको औषधालयका कविराज निरीक्षक कर्णको भनाइ छ ।उनीमात्र होइन, पछिल्लो समय कोसी अञ्चल आयुर्वेदिक औषधालयमा उपचारका लागि धेरैको आकर्षण बढेको छ । सहिदभूमि गाउँपालिकाकी पवित्रा राई पनि आयुर्वेदिक औषधि नियमित रूपमा सेवन गर्छिन् । पेटको समस्याले ग्रस्त उनी आयुर्वेदिक औषधिबाट स्वस्थ्य बन्दै आएपछि आकर्षित भएको उनको भनाइ छ । ‘दुई वर्षदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएकी छु,’ उनले भनिन्, ‘नि:शुल्क औषधि पाइने र स्वास्थ्य सुधार भएकाले ठीक लागेको छ ।’

विगत एक वर्षको अवधिमा औषधालयमा ४ हजार बढी बिरामीले उपचार सेवा पाइसकेको कर्णले बताए । रासायनिक पदार्थ मिश्रित नहुने र उपचारको ढिलो प्रभाव भए पनि स्वास्थ्यमा सुधार हुने भएपछि यसतर्फ आकर्षण बढ्दै गएको आयुर्वेद चिकित्सक डा.शैलेन्द्रकुमार यादवको दाबी छ । पेट, रक्तचाप, अम्लपित्त, श्वासप्रश्वास, बाथ, मानसिक बिरामी बढी मात्रामा उपचारका लागि आउने गरेको उनले बताए । १९८६ सालमा स्थापना भएको उक्त औषधालयमा बिरामीका लागि आवश्यक औषधि प्रशोधन र उत्पादन हुँदै आएको छ ।कान्तिपुर

प्रतिक्रिया दिनुहोस्