Logo
|
Thursday 28th March 2024
Logo

epaper

सहरकै अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव



पोखरिया — पर्साको दोस्रो ठूलो बजार पोखरियाको अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छ । विशेषज्ञ चिकित्सकको अभावमा बिरामी उपचारबाट वञ्चित छन् ।अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवसहित सुशील ठाकुर, प्रशान्तकुमार साह, अरविन्दकुमार साह र भोला साह गरी ५ डाक्टर कार्यरत छन् ।

तर, सबै मेडिकल अफिसर मात्र हुन् । निमित्त मेसु यादव पनि मेडिकल अफिसर नै हुन् ।

चिकित्सक नै नबस्ने समस्याले ग्रस्त अस्पतालमा हाल चिकित्सकले भरिए पनि तीमध्ये कोही पनि चिकित्सक विशेषज्ञ नहुँदा स्थानीय मात्र नभई छेउछाउका गाउँपालिकाका बासिन्दालाई पनि समस्या भएको स्थानीय धर्मेन्द्र चौरसिया बताउँछन् ।पोखरियाबासीले अस्पतालमा डाक्टर पाउन लामो संघर्ष र प्रतीक्षा गर्नुपर्‍यो,’ उनले भने, ‘अहिले चिकित्सक टन्न छन् तर कोही विशेषज्ञ भइदिएनन्, यसले ठूलै समस्या भएको छ ।’

निमित्त मेसु यादव हाल पनि अस्पतालमा दरबन्दीभन्दा एक चिकित्सक कम नै रहेको बताउँछन् । अस्पतालमा नवौं/दसौं तहका चिकित्सक मेसुका रूपमा रहने उनले बताए । आफूहरूको टोलीमा एउटै पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भइरहेको यादव बताउँछन् । ‘कतिपय अवस्थामा हामीले बिरामीको उपचार नगरी रिफर गर्नुपरेको छ,’ उनले भने, ‘विशेषज्ञता नहुँदा तथा दायरामा बाँधिएर बिरामीको उपचार गर्नुपर्ने भएकाले अस्पतालमा आउने सबै बिरामीको हामीले उपचार गर्न सकिरहेका छैनौं ।’

हाल अस्पतालमा दैनिक ३ ओपीडी सञ्चालन हुने र चौबीसै घण्टा आकस्मिक कक्षमा चिकित्सक बस्ने गरेको उनले बताए । सामान्यतया दैनिक सयदेखि १ सय ५० बिरामी अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आउने गरेको उनले बताए । तीमध्ये केही भर्ना पनि हुन्छन् । ‘हामीले बिरामीको सक्दो उपचार गर्न कुनै कसर बाँकी राखेका छैनौं,’ उनले भने, ‘कतिपय रोगको उपचार हामी आफैंलाई गर्न समस्या हुन्छ, त्यस कारण अस्पतालमा कम्तीमा जेनरल प्राक्टिस (एमडीजीपी) भएको विशेषज्ञ चिकित्सकको ठूलो अत्यावश्यकता छ ।’ अस्पतालमा धेरै खाले बिरामी भएकाले एकै चिकित्सकले धेरै खाले बिरामीको उपचार गर्ने जेनरल प्राक्टिस भएका एमडी चिकित्सकको आवश्यकता रहेको उनको भनाइ छ । १५ शय्याको यस अस्पतालमा सुविधा वृद्धि गर्दा हालको पूर्वाधारले ५० शय्यासम्म धान्न सक्ने अवस्था छ ।

जिल्ला अस्पताल सरहको भव्य भवन र पूर्वाधार भएको अस्पतालमा कतिपय उपकरण र औषधिको पनि हाल अभाव रहेको छ । विशेषगरी झाडापखालाका बिरामीलाई दिइने इन्जेक्सन, मेट्रोन, जीवनजल आदिको अभाव रहेको छ । औषधिका लागि यसै साता टेन्डर गरिएको यादव बताउँछन् । यसबाहेक हृदयाघात भई आकस्मिक कक्षमा आउने बिरामीका लागि पनि अस्पताल र बाहिरका औषधि पसलमा समेत उपलब्ध नहुने गरेको उनले बताए । सामान्यतया महँगा औषधि व्यवसायीले पनि नराख्ने प्रवृत्तिले बिरामीको उपचार गर्न समस्या भइरहेको उनको कथन छ । यसै सातादेखि अस्पतलाको आफ्नै फार्मेसी सञ्चालन गर्ने उनले बताए । ‘यसका लागि टेन्डर आहान गरिसकेका छौं,’ उनले भने, ‘पोखरिया नगरपालिकाको कार्यालयसँग समन्वय गरेर टेन्डर गरेका हौं ।’ अस्पतालमा सामान्य उपकरणहरू उपलब्ध रहे पनि डिजिटल एक्सरे र अल्ट्रा साउन्ड मेसिनको चरम अभाव महसुस गरिएको उनको भनाइ छ ।

यसबाहेक अस्पतालको पुरानो जेनरेटर बिग्री सकेको र त्यसले हालको अस्पतालको विद्युतको मागलाई धान्न नसक्ने भएकाले बढी क्षमताको अत्याधुनिक जेनरेटर आवश्यक रहेको उनले बताए ।अस्पतालमा दरबन्दीअनुसारका प्राविधिक स्वास्थ्यकर्मी नहुँदा पनि अस्पताल निर्बाध सञ्चालनमा समस्या भइरहेको उनले बताए । सातौं तहको एक नर्सिङ अधिकृतको दरबन्दी खाली छ । अस्पतालमा झन्डै १ महिनायता एन्टी रेबिज भ्याक्सिनको समेत अभाव छ । बहुला कुुकुरलगायतका जनावरले टोकेकाहरू मासिक ५ सय हाराहारीमा यो भ्याक्सिन लिन आउने गरेको मेसु डा. यादव बताउँछन् । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्