Logo
|
Thursday 18th April 2024
Logo

epaper

जान्नुहोस् क्यान्सरका लक्षणहरु



शुरुवातमै क्यान्सरको लक्षण पहिचान गर्न सकेमा धेरै हदसम्म व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सरका धेरै प्रकार हुन्छन् । त्यसैले क्यान्सरका लक्षण पनि अलग अलग प्रकारका हुन्छन् । यहाँ संक्षेपमा केही प्रकारका क्यान्सरको लक्षण बारे जानकारी दिइएको छ ।

 

असामान्य रुपले तौल कम हुने
क्यान्सर भएका व्यक्तिको शारीरिक तौल असामान्य रुपमा कम हुनथाल्छ । क्यान्सर भएका बिरामीको तौल बिना व्यायाम वा बिना डायटिङ घट्न शुरु हुन्छ । बिना कुनै प्रयास यदि १० पाउण्डजति तौल एक्कासी कम भएमा क्यान्सरको प्राथमिक लक्षणको रुपमा देख्न सकिन्छ । प्याँक्रियाज वा फोक्सोको क्यान्सर हुँदा अक्सर यस्तो किसिमको लक्षण देखिन्छ ।

 

ज्वरो


क्यान्सरको एक सामान्य लक्षण ज्वरो पनि हो । आफ्नो मूल ठाउँ छोडेर शरीरका अन्य भागमा क्यान्सर फैलन लागेपछि वा फैलिसकेमा यस्तो लक्षण देखिन्छ । क्यान्सरले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई प्रभावित पार्छ र अक्सर ज्वरो आइरहने गर्छ । ब्लड क्यान्सर, ल्यूकेमिया आदिमा यस किसिमको लक्षण देखिन्छ ।

 

थकान एवं कमजोरी


क्यान्सरमा बिना कारण व्यक्तिले थाकेको महसुस गर्छ । केही काम नगर्दा पनि थकान एवं कमजोरी महसुस हुन्छ । ओछ्यानमा आराम गरे पनि व्यक्तिले आफूमा हल्का महसुस गर्दैन । कहिलेकाँही त उसको हातगोडा फतक्क गल्छ र केही घण्टापछि पुनः सामान्य महसुस गर्छ । धेरै थकान भएमा क्यान्सर बढेको संकेत हुनसक्छ । ल्युकेमिया क्यान्सरमा बिरामीलाई थकान महसुस हुन्छ । कोलनको क्यान्सरमा पनि थकान धेरै हुन्छ । ब्रेन ट्युमरको बिरामीको पनि यही अवस्था हुन्छ । कहिलेकाँही यति थकान महसुस हुन्छ कि हात खुटट हल्लाउन पनि पहाड उठाएको जत्तिकै लाग्दछ ।

पीडा (दुःखाई)

हड्डीको क्यान्सर वा टेस्टिक्युलर क्यान्सरमा दुखाईको महसुस हुन्छ । ब्रेन ट्यूमरको बिरामीको टाउको दुःख्ने समस्या हुन्छ । यस्तो दुःखाई प्राथमिक उपचार वा औषधि सेवन गर्दा पनि ठीक नभएमा त्यसलाई ब्रेन ट्यूमरको लक्षण मान्न सकिन्छ । जुन बिरामीलाई कोलनको क्यान्सर हुन्छ वा मलद्धार या डिम्ब ग्रन्थीको क्यान्सर हुन्छ । यस्ता बिरामीको ढाडमा वा कम्मरमा असहनीय दुःखाई हुन्छ ।

छालामा परिवर्तन

छालामा असामान्य परिवर्तन हुनसक्छ । यदि कुनै व्यक्तिको छाला बिनाकारण कालो वा गोरो हुन लागेमा क्यान्सर भएको हुनसक्छ । छाला पहेँलो हुने पनि क्यान्सरको संकेत हुनसक्छ । छालाको रंग रातो वा चिलाउँदा पनि क्यान्सरको संकेत हुनसक्छ । महिलाको छालामा अत्यधिक रौं आएमा क्यान्सर हुनसक्छ ।

 

पेटको गडबडी

लामो समयसम्म कब्जियतको समस्या रहेमा वा लामो समयसम्म पखालाले सताएमा यो कोलोन वा पेटको क्यान्सरको संकेत हुनसक्छ । पिसाब फेर्दा यदि पीडा भएमा अथवा पिसाबमा रगत देखिएमा यो प्रोस्टेट क्यान्सर वा डिम्बग्रन्थी क्यान्सरको लक्षण हुनसक्छ ।

 

गाँठा
यदि कोही महिला आफ्नो स्तनमा कुनै किसिमको गाँठा महसुस गर्छन् भने यो स्तन क्यान्सरको लक्षण हुनसक्छ । स्तनमा देखिएको गाँठा नदुख्ने भएमा पनि क्यान्सरको संकेत हुनसक्छ । यदि कोही महिलालाई आफ्नो स्तन वा काखीमा असामान्य रुपले गाँठो वा मोटोपन महसुस हुन्छ भने चिकित्सकलाई देखाउनुपर्छ । मुन्टा (निप्पल) मा असामान्य परिवर्तन वा मुन्टोबाट तरल पदार्थ निस्किएमा पनि क्यान्सर हुने संकेत हुन्छ ।
केही प्रकारका क्यान्सरले उग्ररुप नलिएसम्म कुनै लक्षण देखिदैन । जस्तो—प्याँक्रियाजको क्यान्सर । यसमा जण्डिसजस्तो आँखाको रंग पहँेलो हुन्छ । यो बेलासम्म धेरै ढीला भइसकेको हुन्छ र उपचारमा निकै कठिनाइ पर्छ । त्यसैले सात्विक खाद्य पदार्थ खाएर यस प्रकारको क्यान्सरबाट केहीहदसम्म जोगिन सकिन्छ । क्यान्सरको लक्षणलाई देखेर नडराउने र सम्बन्धित चिकित्सकलाई देखाएर उचित उपचार लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्