Logo
|
Saturday 20th April 2024
Logo

epaper

जान्नुहोस् मिर्गाैला रोगका लक्षणहरु



अनुहार सुन्निनु


अनुहार, पेट र खुट्टा सुन्निनु मिर्गाैला रोगमा प्राय देखिने लक्षण हुन् । मिर्गाैला रोगले गर्दा सुन्निएको कुरा सबैभन्दा पहिले प्राय आँखामुनि देखिन्छ र यो बिहान सबैभन्दा प्रस्ट देखिन्छ । मिर्गाैलाले काम गर्न छोड्नु सुन्निनुको एउटा महत्वपूर्ण कारण हो । तर के कुरा ध्यानमा राख्नुपर्छ भने सुन्निदैमा मिर्गाैलाले काम गर्न छोड्ने चाँहि होइन । केही खास मिर्गाैला रोगमा, मिर्गाैलाले सामान्य रुपमा काम गर्दा पनि सुन्निने समस्या हुन्छ । उत्तिकै महत्वपूर्ण कुरा, केही बिरामीहरूमा मिर्गाैलाले काम गर्न छोड्यो भने पनि सुन्निने समस्या नदेखिन सक्छ ।

अरुचि हुनु, वाकवाकी लाग्नु, उल्टी हुनु


अरुचि हुनु, मुखमा असामान्य स्वाद आउनु मिर्गाैलाले काम गर्न छोडेको व्यक्तिले भोग्ने आम समस्या हो । मिर्गाैलाले काम कम गर्न थाल्यो भने शरीरमा विषालु पदार्थको वृद्धि हुन्छ, जसले गर्दा वाकवाकी लाग्ने र उल्टी आउने समस्या हुन्छ ।

उच्च रक्तचाप

मिर्गाैलाको समस्या भएका बिरामीहरूमा धेरै जसो उच्च रक्तचापको समस्या हुन्छ । कम उमेर (३० वर्षभन्दा कम) मा उच्च रक्तचाप भयो र निदान भएको समयमा रक्तचाप अत्यधिक बढी छ भने, त्यो मिर्गाैला रोगका कारण हुन सक्छ । सबै उच्च रक्तचाप भएको मानिसको पिसाब तथा रगतको परीक्षण गरी मिर्गौलामा केही असर छ छैन भनेर हेर्न अत्यन्त जरुरी हुन्छ ।

रक्तअल्पता र कमजोरी

कमजोरी हुनु, चाँडै थाक्नु र मन लगाएर कुनै काम गर्न नसक्नु रक्तअल्पता हुने व्यक्तिको आम गुनासा हुन् । कतिपय अवस्थामा मिर्गाैलाका दीर्घरोगीहरूका लागि यो एकमात्र लक्षण हुन सक्छ । सामान्य उपचारबाट रक्तअल्पतामा सुधार भएन भने मिर्गाैला रोगबारे जाँच गर्नुुपर्छ ।

अन्य लक्षण
ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने र खुट्टा बाउँडिनु मिर्गाैला रोगको लक्षण हुन सक्छन् । शरीरको विकासमा कमी र खुट्टा बाङ्गीने समस्या, मिर्गाैलाले काम नगर्ने समस्या भएका बालबालिकाका लागि आम समस्या हुन्
पिसाब सम्बन्धी समस्या
पिसाब सम्बन्धी आम समस्या निम्न किसिमका हुन्छन्
धेरै खाले मिर्गाैला रोगहरूमा पिसाबको मात्रामा कमी हुन सक्दछ ।
पिसाब पोल्ने, पिसाब लागिरहने र पिसाबबाट रगत र पिप निस्किने समस्या मुत्रनलीमा भएको संक्रमणका लक्षण हुन् ।
पिसाब फेर्न कठिनाई हुनु या त पिसाबको धारा सानो हुनु मुत्रप्रणालीको खराबीले हुन्छ ।
कुनै मानिसमा माथि उल्लेख गरिएका केही लक्षण र संकेत देखिए भने चिकित्सकसँग परामर्श लिई रगत, पिसाब वा अन्य परीक्षण गराएर मिर्गाैला रोग वा अन्य कुनै रोग लागेको छ छैन भन्ने कुरा स्पष्ट हुनु आवश्यक हुन्छ । गम्भीर मिर्गाैलाको रोग, लामो समयसम्म पनि कुनै लक्षण वा संकेत बिनानै पनि हुन सक्छ भन्ने कुरा बुझ्नु पनि आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्