मिर्गाैला जीवनका लागि किन आवश्यक छ ?

जनस्वास्थ्य सरोकार ,काठमाडौं || प्रकाशित मिति :2018-05-04 06:39:01

मिर्गौला मानव शरीरको सर्वाधिक महत्वपूर्ण अङ्ग मध्ये एक हो । मिर्गौलाले सही ढंगबाट काम गर्न नसक्दा गम्भीर बिरामी वा मृत्यु समेत हुनसक्छ । प्रत्येक मिर्गाैलाको अत्यन्त जटिल संरचना र कार्य हुन्छ । तिनका दुईवटा महत्वपूर्ण काम हुन्छन्—शरीरमा उत्पन्न भएका हानिकारक र विषालु तत्वलाई छानेर पिसाबको माध्यमबाट फाल्ने र पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राख्ने । यसका अतिरिक्त मिर्गाैलाले शरीरमा रगत बन्न, हड्डीलाई मजबुत राख्न, रक्तचाप नियन्त्रण गर्न, शरीरमा अम्लोपनको (एसिड) मात्रा सन्तुलित राख्न जस्ता अत्यन्त जरुरी कामहरू पनि गर्छन् ।
मिर्गाैलाको बनावट

  • मिर्गाैलाले शरीरबाट विषालु फोहर पदार्थ तथा बढी हुने पानीलाई फालेर मुत्र उत्पादन गर्छ । मुत्रद्वारबाट बाहिर जानु अघि प्रत्येक मिर्गाैलामा बनेको पिसाब मुत्रवाहिनी नली हुँदै मुत्रथैलीमा जम्मा हुन्छ ।
  •  अधिकांश मानिसहरू (पुरुष तथा महिला) मा दुईवटा मिर्गौला हुन्छन् ।
  • मिर्गाैलाहरू पेटको दुवै तर्फको माथिल्लो र पछिल्लो भागमा हुन्छन् । तिनलाई तल्लो भागका करङ्गले बाहिरको चोट पटकबाट सुरक्षित राख्छ । मिर्गाैलाहरू पेटको धेरै भित्री भागमा हुन्छन् जसले गर्दा मानिसहरूले तिनलाई बाहिरबाट छुन र देख्न सक्दैनन् । मिर्गाैला भनेका बोडी जस्तो आकारका एक जोडी अङ्ग हुन् । वयस्कहरूको मिर्गाैला करिब १० सेन्टिमिटर लामो, ६ सेन्टिमिटर चौडा र ४ सेन्टिमिटर मोटो हुन्छ । प्रत्येक मिर्गाैलाको तौल करिब १५०–१७० ग्राम हुन्छ ।
  •  मिर्गाैलामा बनेको पिसाब लामो नलीबाट (जसलाई मुत्रवाहिनी नली (युरेटर) भनिन्छ) पिसाब थैली÷मुत्रथैलीमा जान्छ ।
  •  मुत्रथैली भनेको मासुले बनेको खोक्रो अङ्ग हो जुन पेटको भित्र तल्लो भागमा हुन्छ । यसमा मिर्गाैलाबाट आएको पिसाब जम्मा भएर बस्छ ।
  •  वयस्क मान्छेको मुत्रथैलीमा ४००–५०० मिलिलिटर पिसाब रहन सक्छ । मुत्रथैलीमा पिसाब भरिएपछि मानिसलाई पिसाब लाग्छ ।

मुत्रथैलीमा भएको पिसाब मुत्रनली (युरेथ्रा) हुँदै मुत्रद्वारबाट बाहिर जान्छ । महिलाहरूको मुत्रनली अपेक्षाकृत छोटो हुन्छ भने पुरुषहरूको लामो हुन्छ ।

मिर्गाैला जीवनका लागि किन आवश्यक छ ?

हामी प्रत्येक दिन फरक फरक मात्रामा भिन्नाभिन्नै खानेकुरा खान्छौँ । पानी, नुन र अम्लको मात्रा पनि प्रत्येक दिन फरक हुन्छ । खाद्यान्नलाई ऊर्जामा परिणत गर्ने निरन्तरको प्रक्रियामा शरीरमा विषालु पदार्थहरू उत्पादन हुन्छन् । यी पदार्थहरूले शरीरमा तरल, इलेक्ट्रोलाइट र अम्लको मात्रामा परिवर्तन ल्याउँछन् । अवाञ्छित विषालु पदार्थको शरीरमा जम्मा भयो भने त्यो शरीरका लागि हानिकारक र जीवनका लागि जोखिमपूर्ण हुनसक्छ । प्रत्येक मिर्गाैलाले हानिकारक र विषालु पदार्थलाई शरीरबाट फाल्ने अत्यावश्यक कार्य गर्दछ । साथै, तिनले पानी, अम्ल र इलेक्ट्रोलाइट बीचको सही सन्तुलन पनि कायम राख्छन् ।

मिर्गाैलाका काम
मिर्गाैलाको मुख्य काम पिसाब बनाउनु र रगतलाई सफा राख्नु हो । प्रत्येक मिर्गाैलाले शरीरलाई हानि गर्ने पदार्थ तथा शरीरलाई आवश्यक नपर्ने अन्य रसायनलाई छानेर फाल्छ । मिर्गाैलाका महत्वपूर्ण कार्य यस प्रकारका छन् ।

शरीरबाट हानिकारक रासायनिक पदार्थहरूलाई फाल्ने
शरीरलाई हानी गर्ने पदार्थलाई फाली रगतलाई सफा राख्नु मिर्गाैलाको सबैभन्दा महत्वपूर्ण कार्य हो । हामीले खाने खाद्य सामग्रीमा प्रोटिन हुन्छ । शरीरको वृद्धि र मर्मतका लागि प्रोटिन आवश्यक हुन्छ । तर प्रोटिनलाई शरीरले उपयोग गर्दा यसले शरीरको लागि हानिकारक पदार्थ उत्पादन गर्छ । यी पदार्थको शरीरमा जम्मा गरी राख्नु भनेको शरीरभित्र विष राख्नु जस्तै हो । प्रत्येक मिर्गाैलाले रगत र विषालु पदार्थ छान्छ र त्यसलाई अन्त्यमा पिसाबबाट फालिन्छ । शरीरको लागि क्रिएटिनिन र युरिया दुईवटा यस्तो हानिकारक पदार्थ हुन् र तिनलाई रगतमा सजिलै परीक्षण गर्न सकिन्छ । रक्त परीक्षणबाट प्राप्त हुने तिनको मात्राले मिर्गौलाको कार्य क्षमता र यसमा भएको असर केही हद सम्म दर्शाउछ । दुईवटै मिर्गाैलाले कम काम गर्न थाल्यो वा काम गर्न छोड्यो भने रक्त परीक्षणमा क्रिएटिनिन र युरियाको मात्रा बढ्न थाल्छ ।

शरीरमा बढी भएको तरल पदार्थ फाल्ने
मिर्गाैलाको दोस्रो महत्वपूर्ण काम भनेको बाँच्नका लागि चाहिने आवश्यक पानी शरीरमा राखी बढी भएको पानीलाई पिसाबका रुपमा बाहिर फाली तरल पदार्थको सन्तुलनलाई नियमित बनाउने हो । मिर्गाैलाले काम गर्न छोड्दा त्यसले शरीरमा बढी भएको पानी बाहिर फाल्ने आफ्नो क्षमता गुमाउँदै जान्छ । शरीरमा बढी भएको पानीबाट शरीर सुन्निन थाल्छ ।

खनिज र रसायनको सन्तुलन
मिर्गाैलाले खनिज र सोडियम, पोटासियम, हाइड्रोजन, क्याल्सियम, फोसफोरस, म्याग्नेसियम र बाइकार्बोनेट जस्ता रसायनहरूलाई नियमित बनाउने र शरीरको तरलको सामान्य संरचनालाई कायम गर्ने अर्को महत्वपूर्ण भूमिका निर्वाह गर्छ । सोडियमको मात्रामा आउने परिवर्तनले व्यक्तिको मानसिक अवस्थामा प्रभाव ल्याउँछ भने पोटासियमको मात्रामा आउने परिवर्तनले मुटुको सामान्य सञ्चालनका साथै मांसपेशीको कार्यमा गम्भीर नकारात्मक परिवर्तन ल्याउँछ । क्याल्सियम र फोसफोरसको सामान्य स्तरमा कायम राख्नु स्वस्थ हड्डी र दाँतका लागि अत्यावश्यक छ ।

रक्तचापको नियन्त्रण
मिर्गाैलाले विभिन्न प्रकारका हर्मोनहरू उत्पादन गर्छ जसले रक्तचापलाई सही रुपमा नियन्त्रण राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मिर्गाैलाले काम नगर्ने समस्या भएका बिरामीहरूमा हर्मोन उत्पादन तथा नुन र पानीको नियमनमा आउने बाधा अड्चनले उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ ।

रातो रक्तकोषको उत्पादन
एरिथ्रोपोएटिन मिर्गाैलामा उत्पादन हुने अर्को हर्मोन हो जसले रातो रक्तकोषको उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मिर्गाैलाले काम गर्न बन्द या कम हुँदा एरिथ्रोपोएटिनको उत्पादन घट्छ र यसले रातो रक्तकोषको उत्पादनमा पनि कमी ल्याई रक्तअल्पताको समस्या उत्पन्न हुन्छ । यही कारणले गर्दा फलाम र भिटामिन तयार पार्ने कुराहरू खान दिँदा पनि मिर्गाैलाले काम गर्न छोडेका या काम कम गरेको अवस्थामा बिरामीको हेमोग्लोबिनको(रगत) मात्रामा कमी आँउछ ।

स्वस्थ हाड कायम राख्न
मिर्गाैलाले भिटामिन डी लाई यसको सक्रिय स्वरुपमा परिवर्तन गर्छ जुन कुरा खाद्यान्नबाट क्याल्सियम सोस्न, हाड र दाँतको वृद्धि गर्न तथा हाडलाई बलियो र स्वस्थ राख्न अत्यावश्यक हुन्छ । मिर्गाैलाले काम गर्न छोड्दा या कम काम गर्दा सक्रिय भिटामिन डी को कमीले हाडको वृद्धिमा कमी हुन्छ र हाड कमजोर पनि हुन्छ । बालबालिकाको नबढ्ने वा कम बढ्ने समस्या तिनको मिर्गाैलाले काम नगरेको संकेत पनि हुनसक्छ ।

शरीरमा अम्लपनको मात्रा सन्तुलन
शरीरमा अम्लपनको मात्रा सन्तुलन गर्न मिर्गाैलाको अत्यन्त महत्वपूर्ण भुमिका हुन्छ । हाम्रो शरीरमा अम्लपनको मात्रा बढी भएमा शरीरका महत्वपूर्ण अङ्ग जस्तै मुटु, मस्तिष्कमा नराम्रो असर पर्छ ।

रगत कसरी सफा हुन्छ र पिसाब बन्छ ?

  •  रगत शुद्धिकरणको प्रक्रियामा मिर्गाैलाले सबै आवश्यक पदार्थलाई राख्छ र छानेर बढी भएको तरल पदार्थ, इलेक्ट्रोलाइट तथा शरीरलाई हानिगर्ने पदार्थ फाल्छ ।
  •  मिर्गाैला एक अदभुत किसिमको अङ्ग हो जसले प्रत्येक मिनेट १२०० मिलिलिटर रगत शुद्धिकरण (सफा) गर्छ । यो मात्रा मुटुले फाल्ने कुल रगतको २० प्रतिशत हो । यसरी, हाम्रो शरीरमा एक दिनमा १७०० लिटर रगत सफा हुन्छ ।
  • शुद्धिकरणको यो प्रक्रिया नेफ्रोन भनिने सानो छान्ने एकाइभित्र हुन्छ ।
  •  प्रत्येक मिर्गाैलामा करिब दश लाखवटा नेफ्रोन हुन्छन् र प्रत्येक नेफ्रोन ग्लोमेरुलस र ट्युबुल्सले बनेको हुन्छ ।
  •  ग्लोमेरुलसहरू आवश्यक र अनावश्यक कुराहरू छान्न सक्ने गुण भएका अत्यन्त साना प्वालयुक्त फिल्टर हुन् । पानी र साना आकारका पदार्थहरू तिनमा सजिलै छानिन्छन् । तर ठूला आकारका रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट, प्रोटिन, आदि यी प्वालबाट छिर्न सक्दैनन् । त्यसैले स्वस्थ मानिसको पिसाबमा यस्ता कोषहरू सामान्यतया देखिँदैन ।
  •  पहिलो चरणमा पिसाब ग्लोमेरुलसमा बन्छ, जहाँ प्रति मिनेट १२५ मिलिलिटर पिसाब छानिन्छ । २४ घण्टामा १८० लिटर पिसाब बन्नु अत्यन्त उदेक लाग्दो छ । यसमा विषालु पदार्थ, इलेक्ट्रोलाइट र विषालु पदार्थ मात्र होइन ग्लुकोज र अन्य उपयोगी पदार्थ पनि हुन्छन् ।
  •  प्रत्येक मिर्गाैलाले अत्यन्त सटिक रुपबाट विभिन्न पदार्थहरूलाई सोस्ने काम गर्छ । ट्युबुलमा प्रवेश गर्ने १८० लिटर तरल पदार्थ मध्ये ९९ प्रतिशत छनोट गरेर सोसिन्छ र बाँकी १ प्रतिशत तरल पदार्थ मात्र पिसाबको रुपमा बाहिर पठाइन्छ ।
  •  यो अत्यन्त जटिल तर सटिक प्रक्रियाबाट सबै अत्यावश्यक पदार्थ र १७८ लिटर तरल पदार्थलाई ट्युबुलमा सोसिन्छ भने १–२ लिटर तरल पदार्थ र अन्य हानिकारक पदार्थहरूलाई पिसाबको माध्यमबाट निस्कासन गरिन्छ ।
  •  मिर्गाैलाबाट बनेको पिसाब मुत्रवहिनी नली (युरेटरर्स) तर्फ बग्छ र मुत्रथैली हुँदै अन्ततः मुत्रद्वारबाट बाहिरिन्छ

स्वस्थ मिर्गाैला भएको कुनै व्यक्तिको पिसाबको मात्रामा भिन्नता हुन सक्छ कि सक्दैन ?
हामीले पिएको पानीको मात्रा, अन्य खानेकुरामा भएको झोलको मात्रा र वातावरणको तापक्रम महत्वपूर्ण पक्ष हुन् जसले कुनै पनि सामान्य मान्छेको पिसाबको मात्रा निर्धारण गर्छन् । शरीरमा पानीको मात्रा कम भयो भने पिसाब बाक्लो हुन्छ र त्यसको परिमाण कम (१ लिटर भन्दा कम) हुन्छ, त्यसैगरी धेरै मात्रामा पानी खाइयो भने पिसाब पनि बढी बन्छ
गर्मी महिनामा उच्च तापक्रमले गर्दा छालाबाट पसिनाको रुपमा निस्किने तथा छालाबाट पनि बाफ बनेर पानी उड्ने भएको हुनाले पिसाबको मात्रा कम हुन्छ । हिउँदो महिनामा त्यसको ठीक उल्टो प्रक्रिया हुन्छ । त्यसैले जाडोमा बढी पिसाब आउँछ । सामान्य पानी पिउने मान्छेमा २४ घण्टाको पिसाबको मात्रा ५०० मिलिलिटर भन्दा कम छ भने वा ३००० मिलिलिटर भन्दा बढी छ भने निजको मिर्गाैलाको केही खराबी हुनसक्छ । तसर्थ यसको परीक्षण गर्नु पर्ने हुन्छ ।

    Comment Here!