Logo
|
Friday 29th March 2024
Logo

epaper

अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा



 

 चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ ।

असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया (सिएमएल)का बिरामीलाई खुवाइन्छ । म्याक्स फाउण्डेसन, अमेरिकाले ब्लड क्यान्सर रोग लागेका बिरामीलाई भनेर सहयोग गर्दै आएको करीब ३०÷४० प्याकेट औषधिमा धमिरा लागेको पाइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले धमिरा लागेको स्वीकार गर्दै औषधि नै बिग्रने गरी भने धमिराले नखाएको दाबी गर्नुभयो । “काठ भएको ठाउँमा धमिरा छ, मेन कभरलाई धमिराले खान शुरु गरेको छ, औषधिमा धमिरा छैन, हामीले निकालिसकेका छौँ ।” डा आचार्यले भन्नुभयो ।

धमिरा लागेको कतिपय औषधि काम नलाग्ने अवस्थाको जस्तो देखिन्छ । ग्लिभेक १०० एमजीको उक्त यहाँ स्टकमा ६२ प्याकेट रहेको औषधि शाखा हेर्दै आउनुभएकी स्टाफ नर्स लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो । एउटा प्याकेटमा १०० वटा ट्याबलेट हुन्छ । केही प्याकेटमा धमिरा लागे पनि औषधिमा नलागेको दाबी उहाँको छ ।

महँगो औषधि भएकाले विदेशीले सहयोगमा दिँदै आएका छन् । बिरामी प्रमाणित भएको कागजात पठाएपछि सोही कागजातको आधारमा विदेशबाट उक्त औषधि क्यान्सर अस्पताललाई आउँछ । “कार्टुनमा अलिकति धमिरा लागेको पाइयो, ट्याब्लेट नै चाँहि खाएको छैन,” न्यौपानेले भन्नुभयो, “१०÷१५ प्याकेटमा बाहिरपट्टि धमिरा लागेको छ, तत्कालै नबाँडौँ भनेर मात्रै छुट्याएका छौँ ।”

न्यौपानेले यो औषधि सम्बन्धी बिरामी अस्पतालमा करीब ९०० जना भएको बताउनुभयो । कतिपयले अहिले पनि औषधि खाँदै आएका छन् । यति महत्वपूर्ण औषधिलाई लापर्बाहीपूर्वक राख्दा धमिरा लागेको हो । अस्पताल प्रशासनका अनुसार बाहिरबाट आएको कार्टुनमा नै राखिएको तर होसियारी नअपनाउँदा बिरामी बचाउने औषधिमा धमिरा पसेको हो ।

क्यान्सर अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले क्यान्सर अस्पतालमा धमिरा अलि बढी नै भएको जानकारी दिँदै बाक्लो कार्टुन भएकाले त्यसको तल्लो भागमा धमिरा लागेपनि औषधिमा असर नपरेको दाबी गर्नुभयो । सो विषयमा म्याक्स फाउण्डेसनले पनि प्रश्न उठाएको अस्पताल स्रोतले बताएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्