Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजबीच सहकार्य



स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धान लगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने भएका छन् ।


नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडियाले एक समारोहबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो ।


नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज बीचको सहकार्यले पश्चिम नेपालमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवाबाट विरामीहरुले लाभ पाउने नेपाल मेडिसिटी अस्पतालका भाइस प्रेसिडेन्ट अनिल ओडुविलले बताउनुभयो ।


विशेषगरी हेली इमरजेन्सी सेवा, मुटु रोग, क्रिटिकल केयर सेवामा दुवै संस्थाले सहकार्य गर्ने उहाँले जानकारी दिनुभयो ।
नेपालगञ्जलाई केन्द्रविन्दु बनाएर त्यस क्षेत्रका अस्पतालहरुलाई समेट्दै रेफरल प्रणालीको विकास गरी विरामीहरुलाई छिटोछरितो सेवा दिन आफूहरु लागिपरिरहेको नेपाल मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले बताउनुभयो ।


सो अवसरमा नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडियाले नेपालको सबैभन्दा ठूलो नीजि क्षेत्रको मेडिकल कलेज २० वर्ष अगाडि पश्चिम नेपालमा ठूलो चुनौतिका साथ आफूहरुले शुरु गरेको बताउँदै आज आफूले गुणस्तरीय स्वास्थ्यकर्मी तथा सुलभ स्वास्थ्य सेवा पश्चिम नेपालमा पुर्याईरहेको बताउनुभयो । चिकित्सा सेवामा दक्ष जनशक्ति र त्यही अनुसारको प्रविधिहरुको समायोजन गरी उच्चस्तरको सेवा पुर्याउन नेपालमा अझ पनि चुनौति रहेको र त्यसका लागि आफूहरुले नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गरेको डा. कनौडियाले बताउनुभयो ।


नेपालको भौगोलिक अवस्थाका कारण स्वास्थ्य सेवालाई सबै जनताहरुको बीचमा सहजताका साथ लैजान विभिन्न अवरोधहरु भए पनि यस प्रकारको सहकार्यले बिरामीहरुलाई राहत पुग्ने नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।
नेपालबाट बर्षेनी २ लाखको हाराहारीमा नेपालीहरु उपचारका लागि भारत लगायतका देशहरु गइरहेको अवस्थामा अब नेपालीहरुलाई उपचारका लागि विदेश जानु पर्दैन भन्ने उद्देश्यका साथ नेपाल मेडिसिटी अस्पतालले सेवा प्रदान गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्