Logo
|
Saturday 20th April 2024
Logo

epaper

सत्र हजार घरपरिवार बीमामा आबद्ध



 पाल्पामा स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दैगएको छ ।

थोरै रकममा धेरै सेवा सुविधा पाउने भएपछि अधिकांश व्यक्ति स्वास्थ्य बीमातर्फ आकर्षित भएका हुन् । विसं २०७३ पुस ११ देखि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा १७ हजार घरपरिवारले बीमा गराएका छन् ।

स्वास्थ्य बीमामार्फत रु दुई हजार ५०० मा परिवारका पाँचजना सदस्यसम्मका लागि रु ५० हजारबराबरको स्वास्थ्य सेवा दिने व्यवस्था गरिएको छ । जिल्लामा १५ महिनाको अवधिमा ७५ हजारले स्वास्थ्य बीमा गराएका छन् भने ६५ हजार व्यक्तिले स्वास्थ्य बीमामार्फत उपचार सेवा लिएका छन् ।

रु दुई हजार ५०० मा स्वाथ्य बीमा गराउनुभएका रैनादेवी छहरा गाउँपालिका– ३ का मेघनाथ पाण्डेले रु ५० हजारको औषधि उपचार पाउनुभयो । गतवर्ष स्वास्थ्य बीमा गरेका पाण्डेले पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट रु १० हजारको उपचार सेवा पाए पनि थप उपचारका लागि वीर अस्पताल काठमाडौँ सिफारिस गरी जानुप¥यो । त्यहाँ पनि पाण्डेले रु ४० हजारबराबरको औषधि उपचार सेवा पाएको बताउनुभयो ।

जिल्लामा सरकारी अस्पतालसँगै निजी अस्पतालले समेत स्वास्थ्य बीमा उपचार गर्दै आएका छन् । स्वास्थ्य बीमा गरेका व्यक्तिले रोजेको अस्पतालमा उपचार गर्ने व्यवस्था रहेकाले पनि बीमा गर्नेको आकर्षण बढ्दै गएको हो । बीमा गरेका व्यक्तिका लागि सरकारी अस्पतालअन्तर्गत लुम्बिनी अञ्चल अस्पताल, बुटवल, जिल्ला अस्पताल, रामपुर अस्पताल, ताहु प्राथमिक केन्द्र, खस्यौली प्राथमिक केन्द्र र निजीअन्तर्गत लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल र लायन्स लाकौल आँखा अस्पतालमा उपचारको व्यवस्था गरिएको छ ।

पछिल्लो समय बीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एमआरआइ, सिटिस्क्यान, भिडियो एक्सरे, शल्यक्रियाका साथै एक हजार ११८ प्रकारका औषधिको सुविधा वृद्धि गरिएको स्वास्थ्य बीमा बोर्ड प्रदेश नं ५ का संयोजक मनोज पौडेलले बताउनुभयो । जिल्लामा बीमाको संख्या र उपचार गर्नेको संख्यामा वृद्धि हुँदैगएको छ ।

स्वास्थ्य बीमामार्फत रु चार करोड संकलन भएको र उपचारमा रु तीन करोड ५० लाख खर्च भएको छ । स्वास्थ्य बीमामार्फत गरेको उपचारको सम्पूर्ण विवरण केन्द्रमा खटिएका चिकित्सबाट नियमित जाँच हुँदै आएकाले सरकारी संस्थाबाट दिँदै आएको सेवामा सुधार आएको, निःशुल्क औषधिका लागि राज्यबाट करोडौँ रकम बचत भएको तथा उपचार सेवामा प्रतिष्पर्धा बढाइ गुणस्तरीय उपचार बढ्दै गएको संयोजक पौडेलले बताउनुभयो ।

रत्तचाप, पेटको समस्या, मधुमेह, मुटु, क्यान्सरलगायत रोगका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । सबैभन्दा बढी लुम्बिनी मेडिकल कलेज प्रभाषमा स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गराएका छन् । विसं २०७५ चैतसम्म ३५ देखि ४० हजार घरपरिवारका एक लाख ५० हजार व्यक्तिको स्वास्थ्य बीमा गराउने योजनाका साथ बीमा स्वयंसेवक कार्यस्थलमा खटिएको संयोजक पौडेलले बताउनुभयो ।

स्वास्थ बीमा बोर्डले गरेको सर्वेक्षणअनुसार बीमा गराउने उत्कृष्ट १० स्वयंसेवीमध्ये पाल्पाबाट उत्कृष्ट आठ स्वयंसेवी परेका छन् । देशभरिबाट जिल्लाबाट सावित्रा अधिकारी, दुर्गा राना, विद्या बस्याल, कमला ढकाल, भुनादेवी बस्याल, कल्पना रावल, रीता भट्टराई र शोभा अर्याल उत्कृष्ट बीमा स्वयंसेवीमा पर्नुभएको छ । जिल्लामा ८३ बीमा स्वयंसेवी गाउँ गाउँमा खटिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्