Logo
|
Thursday 28th March 2024
Logo

epaper

अझै पालमा स्वास्थ्य चौकी



भूकम्प गएको तीन वर्ष बित्दा समेत यहाँको कतिपय स्वास्थ्य संस्थाहरू पालमै सञ्चालन भइरहेका छन् ।

लिखु गाउँपालिकास्थित साविकको टारकेराबारी, खिजिदेम्बा गाउँपालिकास्थित साविकको खिजिचण्डेश्वरी र रगनी गाविसको स्वास्थ्य चौकी, चम्पादेवी गाउँपालिकास्थित साविकको फूलवारी गाविसको स्वास्थ्य चौकी पालमै सञ्चालन हुँदै आएका छन् ।

त्यसैगरी सुनकोसी गाउँपालिकास्थित साविकको सिस्नेरी गाविसको स्वास्थ्य चौकी र सिद्धिचरण नगरपालिकास्थित साविकको विगुटार गाविसको स्वास्थ्य चौकी पालमै सञ्चालन भएका हुन् । भूकम्पले भवन भत्किएपछि पालमा पुगेका स्वास्थ्य संस्थाको नयाँ भवनहरू अझै निर्माण सकेका छैनन् ।

पालमा सञ्चालित स्वास्थ्य चौकीमा जाडो र गर्मीका बेला उपचारका लागि आउने बिरामी थप बिरामी भएर फर्किने गरेका छन् । घामपानी र हुरीबतासको बेला स्वास्थ्य चौकी चलाउने गाह्रो हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

युनिसेफ, डब्लूएचओ लगायतले तत्कालीन समयमा उपलब्ध गराएका पाल मक्किन थालिसकेको छ । स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधिलाई पालभित्र निश्चित तापक्रम मिलाएर राख्न समस्या हुने गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत भवन बन्ने प्रक्रिया सुरु नहुँदा स्वास्थ्य संस्थाका समस्या दिनहुँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख मोहन सुवेदीले बताए ।

‘पालमा रहेका स्वास्थ्य संस्थाहरूले सधैँ समस्याका कुरा सुनाइरहन्छन्,’ उनले भने, ‘हामीले केन्द्रमा ताकेता गरिरहँदा समेत भवन निर्माणको प्रक्रिया सुरु भएको छैन ।’ सुवेदीका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्वास्थ्य मन्त्रालयबीच कसले स्वास्थ्य संस्थाको पुनर्निर्माणको काम गर्ने भन्ने विषय टुंगो नलाग्दा भवन निर्माणको प्रक्रिया झनै लम्बिएको हो ।कान्तिपुर

प्रतिक्रिया दिनुहोस्