Logo
|
Friday 19th April 2024
Logo

epaper

कसरी जोगाउने बच्चाको मिर्गौला ?



 

सामान्यतया पाको उमेरका मानिसमा मिर्गौलाको समस्या देखिने गथ्र्यो । तर, पछिल्लो समय बालबालिकामा पनि मिर्गौलासम्बन्धी विभिन्न समस्या देखिन थालेका छन् । अभिभावक बालबालिकाको मिर्गौलाबारे सचेत नरहँदा कैयौँले ज्यान गुमाएका उदाहरण पनि थुप्रै छन् । अभिभावकको सामान्य लापर्बाहीले समेत बालबालिकाको मिर्गौला नै फेल हुन सक्छ । त्यसैले बालबालिकाको पनि नियमित रगत र पिसाब जाँच गर्न आवश्यक हुन्छ ।

आमाको गर्भमै आयु
आमाको गर्भमै रहँदा मानिसको मिर्गौलाको क्षमता निर्धारण हुने गर्छ । मिर्गौला कति स्वस्थ छ भन्ने कुरा पनि गर्भबाटै निर्धारण भएर आएको हुन्छ । आमाले सेवन गर्ने खानेकुरा र गर्भावस्थामा गरिने गतिविधिले मिर्गौलाको भविष्य निर्धारण गर्छ ।

त्यसैले गर्भावस्थामा आमाले धूम्रपान तथा मद्यपान सेवन गर्नुहुँदैन । आमामा भएको उच्च रक्तचाप र मधुमेहले पनि हुर्कंदै गरेको शिशुको मिर्गौलालाई असर पु-याउने भएकाले त्यसलाई सन्तुलनमा राख्नुपर्छ । र, कहिल्यै पनि चिकित्सकको परामर्शविना जथाभावी औषधि सेवन गर्नुहुँदैन ।

जन्मजात एउटै मिर्गौला
कुनै शिशु एउटा मात्र मिर्गौला लिएर जन्मने गर्छन् । यस्तो समस्या भएमा त्यति धेरै आत्तिनुपर्ने कारणचाहिँ छैन । दुईवटा मिर्गौला भएकालेजसरी नै त्यो बच्चाले काम गर्न सक्छ । तर, त्यस्ता बच्चाको विशेष ख्याल भने राख्नुपर्छ । उसले गर्ने र नगर्ने कामबारे राम्रोसँग परामर्श दिनुपर्छ । नत्र, मिर्गौला बिग्रनुका साथै पछि गएर मानसिक समस्यासमेत हुन सक्छ ।

पिसाबमा संक्रमण भएमा
बच्चाको मिर्गौला बिगार्ने एउटा प्रमुख कारण पिसाब पनि हो । पिसाब बन्द भइराख्ने वा पिसाब फेर्ने समय देखिने समस्याले मिर्गौलासम्बन्धी गम्भीर समस्या निम्त्याउन पनि सक्छ । कतिपय आमाबाबुले अफ्ना सन्तानको पिसाबसम्बन्धी समस्यालाई समान्य रूपमा लिएको पाइन्छ । तर, यसबारे कत्ति पनि
हेलचेक्र्याइँ गर्नुहुँदैन ।

पिसाबमा रगत देखिएमा
बच्चाको पिसाबमा रगत देखिएमा पनि सचेत हुन आवश्यक हुन्छ । कहिलेकाहीँ सामान्य संक्रमणका कारण पनि यस्तो हुन्छ । त्यसैले पिसाबमा यस्तो समस्या देखिनासाथ पिसाब र रगत परीक्षण गरिहाल्न जरुरी छ । यस्तो अवस्थामा बायोप्सी गरी मिर्गौलाको मासु निकालेर जाँच गर्नुपर्ने पनि हुन सक्छ ।

पिसाबबाट प्रोटिन गएमा
बच्चामा देखिने अर्को समस्या भनेको पिसाबबाट प्रोटिन जाने हो । वंशानुगत कारणले धेरैमा यस्तो समस्या हुन्छ । यसरी प्रोटिन गइरह्यो भने बिस्तारै मिर्गौला खराब हुँदै जान्छ । सरसफाइमा ध्यान नपु-याउँदा बच्चाको सरसफाइमा ध्यान नपु-याउँदा मूत्र र गुद्वारमा संक्रमण हुने बढी खतरा हुन्छ । लामो समय संक्रमण भएमा बच्चाको मिर्गौलामा समेत असर पर्न जान्छ ।

खानपानमा ध्यान दिने
बच्चाको मिर्गौला जोगाउन स्वस्थ खाना तथा पोषिलो खानेकुरा खुवाउने बानी बसाल्नुपर्छ । यसले बच्चाको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । घरमै आमाले बनाएकोे खाना खाने बानी बसाल्नुपर्छ । बजारमा पाइने लिची जुस, रेडबुल तथा अन्य पेयपदार्थ खान दिनुहुँदैन । प्रशस्त रूपमा पानी पिउने बानी बसाल्नुपर्छ । पानी पिउँदा उमालेर दिनुपर्छ । लामो समयसम्म पिसाब रोकेर राख्नुहुँदैन ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्