१३ वर्षमै आमा

जनकराज सापकोटा ,काठमाडौ || प्रकाशित मिति :2018-05-25 05:05:14

 

 सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको जनरल वार्ड, बेड नम्बर ४ । तेह्र वर्षीया ममता मरिक एकमहिने शिशुलाई जेनतेन सम्हालिरहेकी छन् । आफैंलाई सम्हाल्न नसकिरहेकी किशोरीका काखमा दूधे बालक ! उनको यो दयनीय अवस्था देख्ने सबैका आँखा रसाउँछन् ।

ममताको मातृत्वबारे जान्न उनकी आमा २९ वर्षीया भुटी मरिकको कथा सुन्नुपर्ने हुन्छ । घाँटीमा कालो र मैलो कपडाको धजोमा झुन्डिएका दुई बुटी । एउटा, भूत, प्रेत र डाइन लाग्दैन भनेर पचास रुपैयाँमा गाउँकै धामीले भिडाएको, अर्को दशाग्रहकट्छ भनेर पण्डितले । महिनाअघि हजुरआमा बनेकी भुटीको परिचय यत्तिमै सकिँदैन । १५ वर्षमा बिहे, चार सन्तानकी आमा उनका अतिरिक्त परिचय हुन् । रक्सीका अम्मली श्रीमान् गुजाई मरिकको रातदिनको टोकसो र हिंस्रक व्यवहार पचाइरहेकी भुटीले सुनाएको छोरी ममताको बिहे र त्यसपछिका घटनाक्रमको कथा आङ नै सिरिंग पार्ने खालको छ ।
२०७४ जेठ । सुनसरीको गढी गाउँपालिका ९, सतरझोडास्थित घरबाट १२ वर्षीया ममता उदयपुर, आमवासीस्थित फुपू ललिता मरिकको घर पुगिन् । फुपूले अभिभावकलाई थाहै नदिई फकाएर सिरहा, गोलबजारछेउको मुसरिया टोलका ३१ वर्षीय प्रकाश मरिकसँग उनको बिहे गरिदिइन् ।
केही दिनपछि मात्रै भुटीले छोरीको बिहे भएको थाहा पाइन् । उनी श्रीमान्लाई लिएर ललिताको घर पुगिन् । तर ललिताले राम्रो र माया गर्ने केटो भएकाले बिहे गरिदिएको, दाइजो जोगाइदिएको बताइन् । ललिताले प्रकाशसँग पटक–पटक गरेर ५० हजारभन्दा धेरै रकम र एउटा सुँगुर लिएको भुटीले गाउँलेबाट थाहा पाइन् । उदयपुरस्थित कान्तिपुरकर्मीसँग कुरा गर्दैललिताले आफूले केटा पक्षबाट ६० हजार रुपैयाँ र झन्डै १६ किलोको सुँगुर लिएको स्विकारिन् । उनले भनिन्, ‘लिएको पैसा बिहेमा खर्चिएँ । त्यही सुँगुर काटेर जन्तीलाई भोज खुवाएँ ।’

निरक्षर मरिक दम्पती छोरीले घरमा नभनी बिहे गरेको भन्दैमुर्मुरिएर गाउँ फक्र्यो । दिन, साता र महिना बिते । नौ महिनापछि भुटीले खबर पाइन्, ममता सुत्केरी भई । नातिनी जन्मेको छैटौं दिन अर्थात् छठिहारका दिन बाबु गुजाई संस्कारअनुसार ५ केजी चामल, आधा लिटर तेल, सुतीको सारी, पेटिकोट, चोलो, बच्चाको कपडा र अरूको नजर नलागोस् भनेर बच्चाका हातमा बाँध्ने कालो धागो लिएर छोरी भेट्न सिरहा पुगे ।

त्यहाँ पुगेपछि उनले चाल पाए, ज्वाइँ प्रकाशले यसअघि नै अर्को बिहे गरिसकेका रहेछन् । उनकी पहिली श्रीमतीबाटै दुई छोरी भइसकेका रहेछन् । सौताको अवहेलना र छोरी जन्माएको भन्दै श्रीमान्को निरन्तर कुटपिटले ममता थिलथिलो भइसकेकी रहिछन् । आफैंलाई सम्हाल्न नसक्ने उनी जेनतेन छोरी स्याहारिरहेकी थिइन् । क्षयरोग लागेका ज्वाइँले आफैं बिरामी भएको भन्दै छोरी लिएर जान दबाब दिएपछि भुटीका श्रीमान् छोरी र नातिनी लिएर घर फर्के ।

कान्तिपुरको सम्पर्कमा आएका लहानका एक दलित अभियन्ताले प्रकाशले दोस्रो बिहे गरेको, दोस्रीबाट पनि छोरी नै जन्मेपछि कुटपिट गरेको खबर गाउँलेबाट थाहा पाएको बताए । ती अभियन्ताले भने, ‘यो कुराबारे मुसरियाका धेरै जानकार छन् तर उनीहरू खुलेर यसबारे बोल्न चाहँदैनन् ।’

कलिली ममता काखमा छोरी च्यापेर घर छिरेपछि भुटीले आफूलाई थाम्न सकिनन् । छोरीको दु:खको फेहरिस्त सुनेपछि उनको मन झनै कुँडियो । उनले मधुरो स्वरमा भनिन्, ‘छोरीको कुराले मन बहकियो अनि म धरधरी रोएँ ।’ भुटीले त्यही दिन नजिकैको हटिया पुगेर तीन सय रुपैयाँमा एक जोर परेवा किनेर ल्याइन् । दोस्रो दिनदेखि ममताको मुखबाट रगत बग्न थाल्यो । त्यसपछि भुटी छोरी र नातिनी च्यापेर जिल्ला अस्पताल इनरुवा पुगिन् । सामान्य परीक्षणपछि डाक्टरले औषधि दिए । तर, एक सातासम्म बेथा नघटेपछि उनीहरू फेरि अस्पताल पुगे ।

पाँच दिनको उपचारपछि चिकित्सकले भने, ‘नाबालकलाई कुपोषण छ । आमाको स्वास्थ्यमा पनि जटिल समस्या छ ।’ चिकित्सकका अनुसार शिशुको तौल दुई किलो एक सय ग्राम मात्रै थियो भने एक सातादेखि शिशुले पर्याप्त दूध र अन्य आहार पाएको थिएन । ममताको शरीरमा पनि रगतको मात्रा एकदमै कम थियो र पोषणको कमीले स्वास्थ्य कमजोर बनेको थियो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार नवजात शिशुको औसत तौल तीन किलो एक सय ग्राम हुनुपर्छ । डाक्टर गौतमका अनुसार दुई किलो पाँच सय ग्रामभन्दा थोरै तौलको शिशुको स्वास्थ्य कमजोर हुने, सुगरको कमी हुने र संक्रमण जोखिम हुने सम्भावना बढी हुन्छ । ‘बीस वर्ष पुगेपछि मात्रै छोरीहरू बच्चा जन्माउन शारीरिक रूपमा परिपक्व हुन्छन्,’ उनले भने, ‘कम उमेरमा आमा बनेकाको स्वास्थ्य सधैं जोखिममा हुन्छ ।’ खेल्ने, रमाउने र आफैं हुर्की, बढ्ने उमेरमा आमा बन्नेहरूको उमेरजन्य विकासक्रममै असर पर्ने डाक्टर गौतम बताउँछन् ।

इनरुवा अस्पतालमै रहँदा स्थानीय रमेश अधिकारीले उनीहरूको हालतबारे पत्रकारलाई जानकारी दिए । खबर फैलिँदै ‘इनरुवा सुनसरी’ नामक फेसबुक पेज चलाउनेहरूसम्म पुग्यो । उक्त पेजका सदस्य राकेश निरौलाले ममता र उनकी छोरीलाई थप उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल पुर्‍याए ।

ममताको श्वासप्रश्वासमा समस्या भएको र सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने तर आईसीयू खाली नभएको बताइएपछि उनले दुवै बिरामीलाई नोबेल अस्पताल पुर्‍याए । नोबेलले थप उपचारका निम्ति काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र रिफर गरिदियो ।

जेठ २ गते भुटी छोरी र नातिनी लिएर गंगालाल अस्पताल आएकी थिइन् । उनीहरूलाई साथै लिएर आएका राकेशले उपचारको व्यवस्थापन गरिदिए । भुटीको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले विपन्न परिवारको आपत् देखेर आकस्मिक बोर्ड बैठकबाट एक लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गराएको जानकारी दिए । कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष यादवले एक लाखमध्ये ६० हजार रुपैयाँ दिइसकिएको र अरू छिट्टै दिइने बताए । उनले भने, ‘डोमहरूको अवस्था नाजुक छ, सरकारले पनि मुसहरलाई मात्रै दलितकारूपमा हेर्छ ।’

बिहीबार अस्पतालबाट डिस्चार्ज हुँदा ममताको अनुहारमा खुसीको घुर्मैलो रेखा थियो । तर उनको पूरै उपचार अझै सकिएको छैन । डाक्टर रामेश कोइरालाका अनुसार ममताको मुटुका दुवै भल्भमा समस्या देखिएको छ । ‘भल्भ नै फेर्नुपर्ने देखिन्छ,’ उनले भने । डाक्टर कोइरालाका अनुसार कमजोर मुटुकी ममता गर्भवती भएपछि गर्भमा रहेको सन्तानका निम्ति समेत रक्तसञ्चार गर्नुपर्ने भएकाले अतिरिक्त भार खेप्नुपर्‍यो । त्यसले उनको मुटु झनै कमजोर बनेको देखिन्छ । ‘भल्भ फेरेपछि पनि अनेक समस्या आइरहन्छन्, उपचार र औषधि सेवन गरिराख्नुपर्छ,’ उनले भने, ‘भल्भ फेर्नुअघि केही समय उपचार र बलियो अभिभावकत्वको खाँचो छ ।’

युनिसेफसँग मिलेर नेपालले सन् २०१६ मा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति जारी गरेको थियो । संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्यलाई पछ्याइरहेको नेपालले सन् २०३० सम्म बालविवाह पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । ममताको बालविवाह र त्यसपछिको कथाले सरकारी प्रतिबद्धतालाई गिज्याइरहेझैं लाग्छ ।

युनिसेफले सन् २०१७ मा प्रकाशित गरेको ‘इन्डिङ अ चाइल्ड म्यारिज इन नेपाल’ शीर्षकको प्रतिवेदनमा भनिएको छ, ‘बालविवाह भएका तीनमध्ये एक बालिका आफ्नै श्रीमान्बाट यौन शोषणमा पर्ने गरेका छन् भने शारीरिक हिंसा भोग्ने ६ मध्ये एक जनाको बालविवाह भएको छ ।’ युनिसेफको प्रतिवेदनअनुसार एसियाली देशमध्ये नेपाल सबभन्दा धेरै बालविवाह हुने देश हो । ममताको कथाले युनिसेफको प्रतिवेदनलाई थप पुष्टि गर्छ ।

बालक र बालिका दुवै बालविवाहको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । ‘२० देखि २४ वर्ष उमेर समूहका एक तिहाइ महिला १८ वर्षको उमेरमा विवाह भएको बताउँछन् भने प्रत्येक दसमा एक जनाले १५ वर्षमै विवाह गरेको देखिन्छ,’ प्रतिवेदनमा जनाइएको छ । अमेरिकाको न्युयोर्कमा मुख्यालय रहेको ह्युमन राइट्स वाचले पनि सन् २०१६ मा नेपालले बालविवाह रोक्न पर्याप्त कदम नचालेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । वाचले नेपालका झन्डै ३७ प्रतिशत किशोरीले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो ध्यानाकर्षण गराएको थियो ।

जनगणना २०६८ मा आधारित भएर प्रकाशित गरिएको ‘सिचुएसन अफ भायोलेन्ट अगेन्ट्स चिल्ड्रेन इन नेपाल’ नामक अध्ययनका अनुसार नेपालमा ३ लाख ४२ हजार ७ सय ६४ जना १८ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिएका छन् । तथ्यांकले १८ वर्ष नपुग्दै कतिपयले बहुविवाह, पुन: विवाह, विधवा वा विधुर विवाह, सम्बन्धविच्छेदजस्ता समस्या खेपेको देखाएको छ । जनगणनाले १० देखि १८ वर्ष उमेरभित्र विवाह गर्ने बालबालिकामध्ये सबैभन्दा ठूलो संख्या मधेसी दलित समुदायमा रहेको देखाउँछ । कान्तिपुर

    Comment Here!