Logo
|
Saturday 20th April 2024
Logo

epaper

भक्तपुरमा नौ सय जनाको स्वास्थ्य परीक्षण



जिल्लाको सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हेल्दी हार्ट क्लिनिक एण्ड मल्टिस्पेशालिटी, गठ्ठाघरको प्राविधिक सहयोगमा भएको शिविरमा ५१३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मुटु, प्रसूति र आँखा रोगको उपचारमा भएको शिविरमा ७ वर्षीया बालिका साकिरा सुनुवारको मुटुमा प्वाल परेको पाइएको छ ।

शहीद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ एवं हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउतको नेतृत्वमा भएको शिविरमा मुटुरोगको परीक्षण गराएका मध्ये धेरैको उच्च रक्तचाप, मुटुको भल्भ साँघुरो भएको, मुटु सुन्निएका बिरामी पाइएको छ । मुटुको इसिजी, इकोसमेत निःशुल्क गरिएको शिविरमा चिनीरोग, आँखा, जनरल फिजिसियन, प्रसूति रोगको परीक्षण गर्नाका साथै निःशुल्क औषधि पनि वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिनुभयो ।

प्रसूति रोग विशेषज्ञ डा जमुना किरण पौडेलका अनुसार प्रसूति समस्या लिएर शिविरमा आएका मध्ये आङ खस्ने समस्या, फिस्टुला र अधिकांश महिलाको पाठेघरमा संक्रमण पाइएको छ ।
शिविरमा मुटुमा प्वाल परेको बालिका सुनुवारको गंगालाल हृदयरोग केन्द्रले निःशुल्क उपचार एवं शल्यक्रिया गर्ने केन्द्रका प्रशासकीय प्रमुख राम आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, शनिबार नै सूनपा–१ सिरुटारमा उपयोगी महिला आयआर्जन समूहले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३५५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । शिविरमा ३६ जनामा मोतियाबिन्दु भएको र उनीहरुको तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको समूहकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक मुना राउतले जानकारी दिनुभयो ।

तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । सोही कार्यक्रममा ग्रिन तारा नेपालले सञ्चालन गरेको निःशुल्क परिवार नियोजनसम्बन्धी परामर्श सेवामा समेत ३०० महिलाले परिवार नियोजनका बारेमा जानकारी पाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्