Logo
|
Friday 19th April 2024
Logo

epaper

महिनावारीमा प्याडको विकल्प कप



काठमाडौं – महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

महिनावारी प्याडको विकल्पमा महिनावारी कप उचित भएको विज्ञहरु बताउँछन्। सेन्टरले विगत डेढ दशकदेखि महिला प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ। प्याड प्रयोग गर्दा महिलाको स्वास्थ्यमा जोखिम हुने र नष्ट गर्दा वातवरणमा असर गर्ने भएकाले महिनावारी कप उचित भएको मेरी स्टोप्स सेन्टर नेपालकी मुन प्रधानले बताइन्। ‘प्याड जलाउँदा कार्बन बन्ने तथा त्यत्तिकै फाल्दा गलेर जाँदैन। विश्वका धेरै महिलाले प्याड प्रयोग गरिहेका हुँदा वातवरणमा असर पुगेको हुन्छ। प्याड फाइवरले बनेको हुँदा यो त्यसै नष्ट हुँदैन,’ प्रधानले भनिन्।

प्याड प्रत्येक चार घण्टामा फेर्नुपर्ने हुन्छ । नत्र संक्रमण हुन्छ। नेपालमा महिलामैत्री शौचालय नहुँदा र कामकाजी महिलाको लागि प्याड त्यति सहज छैन।

प्याडलाई पाँच÷छ घण्टा बढी समय प्रयोग गरियो भने अक्सिन र रगत मिलेर प्याडमा किटाणु बन्छ र जसले संक्रमण निमत्याउँछ । प्याड फेरेपछि फाल्ने ठाउँ नहुँदा पनि प्याड दिनभर राख्न बाध्य हुन्छन्।

विकल्पकै रुपमा प्रयोग गर्दै आएको प्यापपन (योनीभित्र राख्ने साधन) स्वास्थ्यको लागि हानिकारक भएकाले कपलाई उचित विकल्प छानिएको हो। ‘प्यापनपन भित्र छिरेपछि व्याक्टेरिया छिर्छ, त्यो छिरेपछि चिलाउने, गन्हाउने हुन्छ,’ निर्देशक प्रधानले भनिन्।

सेन्टरका अनुसार यी साधनहरुको तुलनामा कप आर्थिक, वातवरण र स्वास्थ्यको लागि उचित भएको सेन्टरले औंल्याएको छ। महिनावारी कप एक पटक किनेपछि दश वर्षसम्म प्रयोग गर्न सकिन्छ। प्याड वर्षेनी हजारौं रुपैयाँको किन्नुपर्दा खर्चिलो भएको कप दुई हजारमा किनेर दश वर्षसम्म किन्नु पर्दैन। यो आकार र तौलको हिसाबले सानो भएकाले महिलाले जहाँ पनि सँगै लान सक्छन्।

कप मेडिकल सिल्कनले बनेको हुँदा यो स्वास्थ्यको लागि हानिकारक छैन।

कसरी प्रयोग गर्ने ?
कपलाई योनीभित्र राख्न सकिन्छ। पहिलो पटक राख्दा केही अप्ठेरो हुन सक्छ। तर त्यसलाई सामान्य रुपमा लिनुपछ । यी कप एक पटकमा ८ देखि १२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। बढी रक्तश्राव भएका बेलामा भने एक पटकमा चार÷पाँच घण्टामै निकाल्न सकिन्छ। निकालेर विषेश प्रकारको साबुनले पखालेर पुनः प्रयोग गर्नुपर्छ। कपको प्रयोग गर्दा पिसाब फेर्न समस्या हुँदैन। प्याडको प्रयोगमा भने यो सम्भव हुँदैन।

युरोपमा पहिलो पटक उत्पादन भएको यो कपको प्रयोग अमेरिका र युरोपमा बढी प्रयोग हुन्छ। नेपालमा ती देशहरुमा पुगेका सीमित महिलाहरुले मात्र प्रयोग गर्दै आएका छन्। सेन्टरले गत बिहीबार महिनावारी कपका बारे महिलाहरुबीच छलफल कार्यक्रम सम्पन्न गरेको छ।

विश्व महिनावारी सफाइ दिवस र विश्व वातवरण दिवस दुवैलाई लक्षित गरी ‘बाइ–बाइ प्याड’ अभियान नै सुरु गरेको सेन्टरले जनाएको छ। कार्यक्रममा यस अघि नै ‘महिनावारी कप’ प्रयोग गरेका महिलाहरुले अनुभव बाँडेका थिए। सोही क्रममा मेरी स्टोप्स् सेन्टर इन्टरनेसनलकी नेपाल निर्देशक सोफी होडरले आफूले दश वर्षदेखि महिनावारी कप प्रयोग गरिरहेको जानकारी दिइन्। पूर्व मिस नेपाल माल्भिका सुब्बा, पत्रकार शैली बस्नेत र फिटनेस प्रशिक्षक गृष्मा बिष्टले प्याड प्रयोग गर्दाको अनुभव बाँडे। ‘कप जहाँ जाँदा पनि बोकेर लान सकिन्छ। यो भयो भने प्याड किन्न हिँडिरहनुु परेन,’ पत्रकार बस्नेतले भनिन्। महिनावारी कप काठमाडौंमा केही मेरी स्टोप्स् सेन्टरमा उपलब्ध छन् भने उपत्यकाबाहिर पोखरा, इटहरी, विराटननगर, नारायणघाटका सेन्टरमा उपलब्ध छन्।नागरिक न्युज

प्रतिक्रिया दिनुहोस्