Logo
|
Thursday 25th April 2024
Logo

epaper

गुणस्तरहिन स्वास्थ्य चौकिको निर्माण कार्य रोक्न सरकारको निर्देशन



कमसल निर्माणका कारण विवादमा तानिएको बाबरे स्वास्थ्य चौकी भवन जगदेखिनै गुणस्तरहिन र अनियमित भएको भन्दै सरकारले रोक्न निर्देशन दिएको तथ्य खुलेको छ । सामान्य हावाहुरीले गत साताको बुधबार राती स्वास्थ्य भवनको भित्रि छाना फलसेलिङ उडाएपछि विवादमा तानिएको उक्त भवनको गुणस्तरीयताबारे पुनर्निर्माण प्राधिकरणले जग राखेलगत्तै गुणस्तरहिन र भवनसंहिता विपरित भएको भनी रोक्न निर्देशन दिएको तथ्य खुलेको हो ।

प्लान नेपालको आर्थिक सहयोगमा दोलखाको एक स्थानीय संस्था हुराडेक नेपालले दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेमा २०७३ माघ महिना बाट प्रिफ्याब स्वास्थ्य निर्माण सुरु गरि २०७४ मंसिरमा सम्पन्न गरेको थियो । निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको ४ महिना नबित्दै उक्त भवनको भित्रि छाना गत साताको बुधबार रातिको सामान्य हावाहुरीले उडाएर अस्तव्यस्त बनाएको छ ।एक वर्षअघि पुनर्निर्माण प्राधिकरणका तत्कालिन कार्यकारी अधिकृत डा.गोविन्द पोख्रेल सहित जिल्लाका प्राविधिकहरुको टोली पुनर्निर्माण बारे अनुगमन गर्न बाबरे पुगेका बेला बाबरे स्वास्थ्यचौकीको प्रिफ्याब गुणस्तरहिन र भवनसंहिता विपरित भएको भन्दै तत्काल भत्काउन निर्देशन दिएको थियो । तर प्राधिकरणका कार्यकारी अधिकृत सहित प्राविधिकको निर्देशनलाई व्यवास्ता गर्दै पँहुचको भरमा जबरजस्त बनाइएको थियो ।
आवश्यक छानविन गर्छौ प्रमुख जिल्ला अधिकारी
स्वास्थ्य चौकीको प्रिफ्याब भवन बारे चौतर्फी आलोचना भएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले उक्त भवन निर्माण बारे आवश्यक छानविन गर्ने बताएका छन् । उनले उक्त भवनमा प्रयोग गरिएका सामाग्रीको गुणस्तर र लागत सहित अध्ययन गरिने जानकारी दिएका छन् । उनले स्वास्थ्य जस्तो क्षेत्रमा मनोमानी गरेको खुल्न आए आवश्यक कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन् । भवनबारे आफुले पनि अध्ययन गर्ने तयारी गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

भ्रामक प्रचार
स्वास्थ्यचौकीको भित्री छाना हावाले उडाएर अस्तव्यस्त हुँदा पनि हावाले नउडाएको भन्दै हुराडेकले भ्रामक प्रचार गरेको छ ।  उक्त संस्थाले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कम गुणस्तरको सामाग्री प्रयोग गरी कमजोर भवन बारे गल्ति सच्याउनुको सट्टा उल्टै शुसासन र पारदर्शिता शब्दको अपब्याख्या हुनेगरि विज्ञप्ति प्रकाशन गरेको छ । विज्ञप्तीमा सबै अनियमितता ढाक छोप गर्ने विषय उल्लेख छ । हुराडेकले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने अन्तराष्ट्रिय संस्था प्लान नेपालको समेत बदनाम हुने गरि भवन निर्माणको काम गरेको सरोकारवालाहरुले बताएका छन् ।

कारबाहीको माग
कमसल भवन निर्माण गरि जनताको स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा एक गैरसरकारी संंस्थाले अनियमितता गरेको भन्दै स्थानीयहरुले हुराडेक र निर्माण व्यवसायीलाई कारबाहीको माग गरेका छन । बाबरेका वडाअध्यक्ष नानी पाण्डेले जिल्ला स्थित सरोकारवाला निकायहरुमा जानकारी गरिसकेको बताउदै लिखित उजुरी हाल्ने तयारी भइरहेको बताए । अध्यक्ष पाण्डेले ठेकेदार र साझेदारी संस्थाको लापरबाहिकै कारण कमसल भवन बनेको बताएका छन् । उनले उक्त भवन निर्माणको जिम्मा पाएको एबिसि कन्सट्रक्सनले गाउँमा पेटी ठेक्का दिएका साना निर्माण व्यवसायी सँगै स्थानीयलाई काम गरेको रकम अझै भुक्तानी नदिएको बताए । अध्यक्ष पाण्डेले भवनका सबै संरचना कमजोर रहेको भन्दै दोसी उपर कडा कारबाही गर्न माग समेत गरेका छन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्