Logo
|
Thursday 28th March 2024
Logo

epaper

दूधमा युरिया र नुनसमेत



खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो ।

काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो । नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकार्बाेनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कार्बाेनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ । ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने ।
दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि सोमबार राजधानीका ४ डेरीमा छापा मारिएको थियो ।
कृषिमन्त्री चक्रपाणि खनालले दूध उत्पादनमा उपभोक्ताको स्वास्थ्यको ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए । ‘सबै मापदण्ड ठीक भएका कुनै पनि दूध देखिएनन्,’ उनले भने, ‘म नयाँ मापदण्ड बनाउँदै छु । के–के गर्नुपर्ने हो, निर्देशन दिइसकेको छु । अब त्यसै छाडिँदैन ।’ उनले उद्योग मन्त्रालयसँग मिलेर नयाँ मापदण्ड बनाइरहेको र अब अनुमतिपत्र रद्द गरेरै कारबाही गरिने बताए । दूधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनले बताए । ‘यस्तो पनि राज्य हुन्छ, देशै होइनजस्तो भएको छ मलाई,’ मन्त्री खनालले भने ।
राजधानीको एक ठूलो डेरी उद्योगको प्रयोगशाला प्राविधिकका अनुसार दूध संकलन हुने चिस्यान केन्द्र, सहकारीका संकलक, ठेकदार र प्रशोधन उद्योगहरूले दूधको अम्लीयपन घटाउन अल्कलाइन रसायनका रूपमा यी तत्त्व प्रयोग गर्दै आएका छन् । ‘सहकारीका व्यवस्थापकले टाढा–टाढाबाट दूध संकलन गर्छन् । एकैपटक ढुवानी गर्न नसकिने भएकाले दूध फाट्नबाट जोगाउन कास्टिक सोडाका रूपमा रासायनिक तत्त्व मिसाउने गरेको पाइन्छ,’ ती प्राविधिकले भने ।
उनका अनुसार काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरिया पनि मिसावट भएको देखिन्छ । पशुले खाने दानामार्फत युरिया दूधमा देखिने गरेको छ । रसायनबाहेक दूधबाट सर्ने रोग क्षयरोगका जीवाणु, कोलिफर्म, इकोलाई आदि पनि भेटिने गरेको उनले बताए । खाद्य प्रविधि विभागको फुड स्ट्यान्डर्ड निर्देशिकाले दूधमा पानी पनि मिसाउन रोक लगाएको छ ।
उपभोक्ता संरक्षण ऐनले मिसावट भएको कमसल उपभोग्य वस्तुबाट मानव स्वास्थ्यलाई नै खतरा पुग्ने देखिएमा १४ वर्षसम्म कैद र ५ लाख जरिवाना तोकेको छ । कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्